सुन काण्ड झन् रहस्यमय बन्दै

२०७५ जेष्ठ १२ गते, शनिबार

काठमाडौं, १२ जेठ । चुडामणि उप्रेती ‘गोरे’ पक्राउ परेपछि सुनकाण्ड झन् रहस्यमय बन्दै गएको छ । हराएको साढे ३३ केजी सुन तस्करी काण्डका नाइके र सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चुडामणि उपे्रतीको मोरङ जिल्ला अदालतमा भइरहेको बयान अझै पनि सकिएको छैन । जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको इजलाश नम्बर ६ मा बुधवारदेखि गोरेको बयान शुरु भएको थियो । उनको बयान सिध्याउन शुक्रवार अदालतको समय ३ बजेसम्म भए पनि १ घण्टा थप गरी बयान लिइएको थियो तर पनि उनको बयान सकिएको छैन । उनी माथि लगाइएको अभियोगको प्रमाणका रुपमा प्रस्तुत गरिएको भिडियो देखाउने कार्य आइतवार गरिने मोरङ जिल्ला अदालतले जनाएको छ । आइतवार बयान सकाएर त्यसैदिन थुनछेक बहस पनि गर्ने तयारी गरिएको मोरङ जिल्ला अदालतको भनाई छ । अहिलेसम्मको वयानमा उनले सनम शाक्यको हत्यामा आफ्नो संग्लनता अस्वीकार गर्दै आएका छन् भने सुन तस्करीमा आपूm भरिया भए जस्तो गरी प्रस्तुत भइरहेका छन् । उनले शाक्यलाई दिएको यातनाको भिडियोसहित अन्य प्रमाण जुटाएर अदालतले उनीसँग वयान लिने जनाएको छ ।
यसैबीच, चुडामणी उप्रेती गोरेले भित्र्याएर गायव भएको साढे ३३ किलो सुन काण्डमा विमानस्थलमा वरिष्ठ प्रहरी उपरिक्षक एसएसपी श्याम खत्रीको प्रत्यक्ष संलग्नता देखिएको छ । उनले यसअघि २०७३ सालमा भएको सुन तस्करीमा पनि सहयोग गरेको भेटिएपछि उनलाई कारवाही गरिएको थियो । यतिसम्म कि प्रहरीकै स्कटिङमा सुन खत्रीको कार्यकक्षसम्म पुग्ने गरेको बयानको क्रममा खुलेको छ । तर, उनी अहिलेसम्म कहाँ छन् के गर्दै छन भन्ने चाहिँ कसैलाई थाहा छैन । पछिल्लो पटक साढे ३३ किलो सुनका भरिया सनम शाक्यको हत्या भएपछि सुन काण्ड सतहमा आएसँगै खत्री फरार भएका छन् । खत्रीको सुन तस्करीमा संलग्नता यो पहिलो होइन । यसभन्दा अगाडि पनि विमानस्थलबाट पक्राउ गरिएको साढे ३३ किलो सुन तस्करीमा पनि उनको संलग्नता रहेको पाइएको थियो । तत्कालीन सिआईवीका डिआइजी नवराज सिलवालको नेतृत्वमा समातिएका खत्रीले कानुनको कमजोर पाटो समात्दै जागिरमा पुनर्वहाली गरेका थिए । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दिपेन्द्र अधिकारीको ईजलासले खत्रीलाई दुई लाख धरौटीमा छाड्ने आदेश दिएको थियो । तर, उनलाई यो आदेश चिन्त बुझेन र उनी उच्च अदालत पाटन पुगे । पाटन उच्च अदालतमा १७ नम्बरको निवेदन लिएर पुगेका खत्रीको मुद्दामा पाटन उच्च अदालतका न्यायाधीश भीम ओझा र बलभद्र वास्तोलाको इजलाशले खत्रीलाई साधारण तारिकमा छाड्न आदेश दिएको थियो । जिल्ला अदालतले गरेको थुनछेक वहसलाई उल्टाउँदै पाटन उच्च अदालतका न्यायाधीशले साधारण तारेकमा छाडे पनि खत्री प्रहरीको कमजोर नियमावलीलाई समात्दै प्रहरी हेटक्वाटर पुगे । तत्कालीन प्रहरी महानिरीक्षक प्रकाश अर्यालको सहयोगमा उनले प्रहरी नियमावलीमा साधारण तारेकमा छुटेपछि जागिर पुनर्वहाली हुन सक्ने नियमलाई पच्छ्एर उनी जागिरमा पुर्नवाहली मात्रै भएनन् कि महानिरीक्षक अर्यालको निगाहामा पुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नै गएर सुन तस्करी गर्न थाले । न्यायालयदेखि विभिन्न ठाउँमा सुन तस्करहरुकै पैसामा कानुनको कमजोर पाटोलाई समातेर उनले तस्करीलाई सहयोग गरेका हुन् ।
यसैबीच, साढे ३३ किलो सुन काण्डमा संलग्नता रहेका विमानस्थलका एसएसपी श्याम खत्री बिरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन ईन्टरपोलमा रेड कर्नर नोटिस जारी गर्ने तयारी गरिएको छ । खत्री सहित सुनका लगानीकर्ता भनिएका मोहनकुमार अग्रवाल, त्यस्तै प्रतिवादी रहेका सुनील अग्रवाल, गोरेका भाई रमेश उप्रेती, बाजेको सेकुवा सञ्चालक चेतन भन्ने चेतनाथ भण्डारी, हरिशरण खड्का र छिरिङ बाङ्गेल गुरुङ गरी ७ जना बिरुद्ध रेड कर्नर नोटिस जारी गर्ने तयारी गरिएको हो । २०७३ सालमा भएको सुन काण्डमा पनि यीमध्ये केही मुछिएका थिए । त्यसबेलाका सुन काण्डका नाइके हरिशरण खड्का भएको प्रहरी अनुसन्धानले देखाए पनि उनी दुवईमा बसेर अहिले पनि सुन तस्करी गरिरहेका छन् । साढे ३३ किलो सुन काण्डका मुख्य लगानीकर्ता र राजनीतिक संरक्षणहरु अझै पर्दा पछाडि नै छन् । पहिले गोरे नै मुख्य अभियुक्त भनिए पनि उनको पक्राउसँगै उनले केही अन्य व्यक्तिहरुको समेत नाम पोलेपछि यो काण्ड झन् रहस्यमय भएको हो । मंगलबार सुनको मुख्य योजनाकार भनिएका गोरे पक्राउ परेपछि एउटा रहस्य खुले पनि सुन कहाँ छ भन्ने रहस्य भने अझै रहस्यमय नै छ । गोरेलाई गृहमन्त्रालयका सहसचिव ईश्वर पोखरेल नेतृत्वको छानविन टोलीले पक्राउ गरेपछि जिल्ला अदालत मोरङ जिल्ला अदालतमा पेश गरिएको छ । चुडामणि उप्रेती गोरेले बारम्बार बयान दिइसकेका छन् तर उनले दिएको वयान आफैमा परस्पर बाझिएको छ भने फरार रहेका एसएसपी श्याम खत्रीलाई पक्राउ गरेपछि रहस्य खुल्ने बताउँछन् । सुन तस्करीका मुख्य अभियुक्त भनिएका गोरे पक्राउ परिसक्दा पनि सुनको रहस्य भने अझै खुल्न सकेको छैन भने उनले फरक फरक कुरा बताएपछि झन् पछि झ्न यो घटना रहस्यमय बन्दै गइरहेको छ ।
मङ्गलबार बिहान गोरेलाई काठमाडौँको गौरीघाटबाट पक्राउ गरी दिउँसो साढे १२ वजे गृहमन्त्रालयमा सार्वजनिक गरियो । त्यसपछि उनलाई लगत्तै मोरङको जिल्ला अदालत पु¥याइएको थियो । गोरेलाई काठमाडौँबाट बिराटनगर लैजाँदासम्म जिल्ला अदालत मोरङमा निकै भिड जम्मा भैसकेको थियो । अहिलेसम्म ३८ सय क्विन्टल सुन तस्करी गरिसकेका र लामो समयसम्म रहस्यमय बनेका गोरेलाई हेर्नकै लागि भए पनि धेरै मानिस त्यहाँ जम्मा भएका थिए । अदालतमा जम्मा भएका मानिसहरुमा कसैमा गोरेलाई हेर्ने कौतुहलता थियो भने कोही निकै आक्रोशित मुद्रामा गोरेको पर्खाइमा थिए । त्यहीबीचमा गोरेलाई लिएर प्रहरीको गाडी अदालत पुगेपछि उनलाई सुरक्षा दिन प्रहरीलाई हम्मेहम्मे परेको थियो । भिड पन्छ्याउँदै गोरेलाई लिएर प्रहरी अदालत परिसरबाट भित्र छिरेपछि त्यही बीचमा गोरेलाई आक्रोशित मुद्रामा पर्खिरहेका एकजना मानिस आफ्नो आक्रोश पोखेका थिए । गोरेलाई जिल्ला अदालत मोरङमा हाजिर गराउँदा यसरी आक्रोश व्यक्त गर्ने व्यक्ति सुन प्रकरणमा हत्या गरिएका सनम शाक्यका आफन्त हुन् । आफन्तको हत्या भएपछि उनी गोरेमाथि त्यसरी खनिएका थिए । केही दिन अघि मात्र गोरेले सनम शाक्यलगायत तीन जनालाई करेन्ट लगाएको भिडियो सार्वजनिक भएको थियो । सो भिडियो पछि गोरेले नै सनमको हत्या गरेको आशंका धेरैले गरेका छन । तर, गोरेले भने सनमको हत्या आपूmले नगरेको र उक्त सार्वजनिक भएको भिडियो सनमको मृत्यु हुनुभन्दा अघिल्लो दिनको भएको भन्दै आपूmलाई बचाउने प्रयास गर्दै आएका छन ।
करिब ३८ सय क्विन्टल सुन तस्करीको अभियोगमा पक्राउ परेका गोरे भनिने चुडामणि उप्रेतीको अहिले जिल्ला अदालतमा वयान लिनेक्रम जारी छ । मंगलबार पक्राउ परेका गोरेमाथि अनुसन्धान भइरहेको भए पनि अहिलेसम्म कुनै खास खुलासा भएको छैन । मुख्य नाइके भनेर गोरेलाई भनिँदै आए पनि पक्राउ गरेको अनुसन्धान टोलीले गोरे भरियाका नाइके रहेको जस्तो देखिन्छ र अरु संग्लनहरुमाथि अनुसन्धान शुरु भएको छ । गोरेले प्रारम्भिक बयानमा विमानस्थलका तत्कालिन एसएसपी श्याम खत्रीलाई पोलेका छन् । एसएसपी खत्रीलाई पक्राउ गरे सुन तस्करीको माथिल्लो नेक्सस खुल्ने उनले बताएका छन् । गोरेले सुन तस्करीमा सघाउने प्रहरीलाई बुझाएको रकमको लिस्टमा खत्रीको पनि नाम छ । उनले पटक–पटक गरेर १ करोड १२ लाख रकम लिएको भेटिएको थियो भने तस्करीमा संलग्न अन्य अभियुक्तले पनि उनको नाम लिएका छन् । खत्री तिनै प्रहरी अधिकारी हुन्, जो यसअघि दुबईबाट आएको साढे ३३ किलो सुन काण्डमा पक्राउ परेका थिए । तर, उनलाई पछि अदालतले सफाई दिएको थियो । पूर्व डीआईजी गोविन्द निरौलासँगै एसपी हुँदा खत्री र विकासराज खनाल ०७२ । ०७३ मा विमानस्थल प्रहरीमा थिए । त्यसवेला नै गोरेले तस्करीको सेटिङ मिलाएका थिए । र गतबर्षको साढे ३३ किलो सुनकाण्डमा पनि गोरेको नाम एसएसपी खत्रीसँग जोडिएको थियो । तर, त्योे सुनकाण्डको विस्तृत अनुसन्धान भएन । त्यसबेला सुनकाण्डमा मुछिएका भन्सार विभागका एक्स्रेमेसिन टेक्निसियन राज ढकाल र सुन तस्करका भरिया दिलबन्धु थापाबीच फेसबुकमा भएको कुराकानीमा गोरे र कालेको काम अहिले कुन गु्रपबाट हुँदैछ भनेका थिए । त्यसबेला नै उनीहरु पनि भरिया भएको र छुट्टै ग्रुपबाट सुन तस्करी गरिरहेको प्रष्ट भएको थियो । तर, त्यसबेलाको अनुसन्धान सुक्ष्म रुपमा अगाडि बढ्न सकेन । हाल त्यही गोरे समातिए । तर, उनको ग्रुप अर्थात मालिक को हो त्यो खुल्न आएको छैन । तर गोरे भरियाका नाइकेचाहिँ भएको प्रष्टै छ । प्रारम्भिक बयानमा गोरेले सुन आफ्नो समेत नभएको बताएका छन् । सुनको व्यवस्थापन गर्ने काम आपूmले नै गर्ने गरेको उनले स्वीकार गर्नुले सुनका डन अरु नै भएको र डन भनिएको गोरे भरिया मात्र भएको बुझिन्छ । प्रहरी हिरासतमै राखेर अदालत लैजादै गर्दा पनि गोरेले सुरक्षाको माग गर्नुको पछाडि सुन तस्करीमा ठूलै समूहको हात रहेको देखिन्छ तर ती को–को हुन् अझै खुलेको र खुलाइएको छैन । प्रहरीका उच्च अधिकारीदेखि राजनैतिक र कर्मचारीतन्त्रको माथिल्लो ओहोदाका मानिसहरु समेत समातिन सक्ने स्थिति भए पनि समितिले भने गहन अनुसन्धान गरेको मात्रै बताइरहेको छ । त्यसैले अनुसन्धान सुक्ष्म रुपमा होस् जसले सुनका सबै पर्दा पछाडिका नाइके र मालिकहरुलाई सार्वजनिक गरिनु पर्ने आवाज चर्को रुपमा उठ्न थालेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु