सीमसागको व्यापार

२०७४ फाल्गुन ८ गते, मंगलवार

काठमाडौं, ८ फागुन । पूर्वी मोरङको पथरीशनिश्चरे–८, जिरिखिम्ती सीमसागको राजधानीका रुपमा परिचित हुन थालेको छ । किसान थोरै जमिनबाट घरको गर्जो टार्ने खर्चमात्र हैन, व्यावसायिकरुपमा साग खेती गरेर आर्थिकरुपमा समृद्ध बन्दै गएका छन् । घर नजिकै बग्ने मोरङ्गीखोलाको थोरै भूगोलमा सीमसागको व्यावसायिक खेती गरी उनीहरूले एक सिजनमा रु ६० लाख आम्दानी गर्ने गरेका छन् । कात्तिकमा रोपेको सीमसागले ४५ दिनदेखि आम्दानी दिन थाल्ने किसानको भनाइ छ । राम्रोसँग गोबर मल र निरन्तर एकनासले पानी पाए प्रत्येक ३०÷३० दिनमा चार पटकसम्म उत्पादन लिन मिल्छ । मोरङ्गीखोलाको झण्डै सात किलोमिटर लम्बाइभित्र ७० भन्दा बढी किसानले सागको व्यावसायिक खेती गर्दै आएका छन् ।
जस्तोसुकै खडेरी पर्दा पनि पानी नसुक्ने मोरङ्गीखोलामा विगत ५० वर्षदेखि सीमसागको खेती हुँदै आएको स्थानीय बूढापाका बताउँछन् । तर १० वर्षयता भने पूर्ण व्यावसायिक खेती भइरहेको किसान पवित्रा खड्काले बताइन् । उनका अनुसार खोलामा स्थानीय किसानले १० धुरदेखि तीन कट्ठा जग्गा ओगटेर साग रोपेका छन् । एक कट्ठा जग्गामा एक सिजनमा रु २२ हजारको साग उत्पादन हुने खड्का बताउँछिन् । अर्का किसान सुशीला कार्कीले यो वर्ष दुई कट्टाको साग रु ३० हजारमा ठेक्कामा दिइन् । उनी भन्छिन्, ‘त्यसैभित्रबाट केही साग मुठा बाँधेरसमेत बिक्री गरिन्छ ।’ अझ कला कट्वालको आम्दानी त झनै लोभ लाग्दो छ, दुई कट्ठा क्षेत्रफलमा लगाएको सीमसागबाट कलाले एकमुष्ट रु २७ हजार हात पारिन् । रोप्दा एकपटक मेहनत गरेपछि निरन्तर डुब्ने गरी सिँचाइ गरे पुग्ने सीमसाग खेती आम्दानीको राम्रो स्रोत भएको किसान स्वीकार्छन् । दमककी देवी चौधरीको त एक वर्षको अन्नपानीको जोहो नै सीमसागको व्यापारबाट हुने गरेको छ ।
विगत १४ वर्षदेखि यही पेशामा आश्रित ५२ वर्षीया चौधरी सीमसागको व्यापारबाट एक सिजनमा रु ९२ हजार चोखो हात पार्ने बताउँछिन् । उनले भनिन्, ‘मेरो सबै खेतीपाती नै यही हो ।’ सागको माग काठमाडौँसम्म भएपनि पु¥याउन नसकिएको देवी चौधरीको भनाइ छ । पूर्वी मोरङको मोरङ्गीखोलामा मात्र उत्पादन हुने सीमसागको माग उच्च रहेको छ । तर मागअनुसार उत्पादन नहुँदा सागको मूल्य सिजनैपिच्छे बढ्ने गरेको चौधरीले बताइन् । खेती वर्षमा दुईपटक हुने गरेको छ । पछिल्लो समय व्यावसायिक बन्दै गएको सीमसागको खेती हाल आएर आसपासका डाँस र सीताखोलामा पनि गरिन थालेको छ । -गोपालप्रसाद पोखरेल, रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु