सिरियामा हवाई हमला सुरु

२०७५ बैशाख १ गते, शनिबार

काठमाडौं, १ बैशाख । अमेरिका, फ्रान्स र बेलायतले सिरियामा हवाई हमला सुरु गरेका छन् । सिरियाको पूर्वी गुटामा गत हप्ता गरिएको भनिएको रासायनिक हमलाको प्रतिक्रिया स्वरूप अमेरिका, फ्रान्स र बेलायतले हवाई हमला सुरु गरेका हुन् दमास्कस र आसपासका क्षेत्रमा विस्फोटका ठूला आवाजहरू सुनिएका छन् । आकाशमा धुवाँको मुस्लो देखिएको छ ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हमला गर्न लागिएको घोषणा गर्दै एउटा वक्तव्य जारी गरेका छन् । उनले सिरियाली सरकारले रासायनिक अस्त्रको प्रयोग नरोकेसम्म अमेरिका र उसका साझेदार मुलुकहरूले कारबाही जारी राख्न तयार रहेको बताएका छन् । ट्रम्पले रासायनिक हमलाका लागि रुस प्रत्यक्ष रूपमा जिम्मेवार रहेको आरोप लगाउँदै सिरियाली रासायनिक अस्त्रहरू निर्मूल पार्ने सन् २०१३ को वाचा पूरा गर्न रुस विफल भएको समेत बताए ।
यसअघि अमेरिकाले सिरियाको पूर्वी गुटामा गरिएको शंकास्पद रासायनिक हमलामा सिरियाली सरकारको हात रहेको र त्यसलाई रोक्न रुसले केही पनि नगरेको आफूसँग प्रमाण रहेको जनाएको थियो । अमेरिकी विदेश मन्त्रालयकी एकजना प्रवक्ताले सिरियासँग सही खालको अस्त्र र त्यसलाई प्रयोग गर्ने साधन रहेको बताएका थिए । सिरियामा महत्वपूर्ण रूपमा सैन्य उपस्थिति भएको रुसले हमलालाई बेलायतले उक्साउनका लागि प्रयोग गरिरहेको आरोप लगाएको छ । तर त्यो आरोपलाई बेलायत सरकारले अस्वीकार गरेको छ ।-एजेन्सी

प्रतिक्रियाहरु