सिन्धुली जाने यात्रुसँग लुट्दै यातायात ब्यवसायी

२०७५ आश्विन २९ गते, सोमबार

काठमाडौं , २९ असोज । दशैंमा घर फर्कने यात्रुसँग यातायात ब्यवसायीले मनपरी भाडा उठाएर ब्रम्हलुट मच्चाएका छन् । काठमाडौंबाट सिन्धुलीहुँदै घर फर्कने यात्रुसँग ब्यवसायीले मनपरी भाडा असुलेका हुन् । सिन्डिकेट हटाएको भन्दै आत्मरतीमा रमाएको झण्डै दुई तिहाइ बहुमतको सरकार ब्यवसायीले मनपरी भाडा उठाउँदा मुक दर्शक बनेको छ ।
सिन्धुली जाने यात्रुसँग ब्यवसायीले १ हजार रुपैयाँ भाडा लिँदै आएका छन् । अरु बेला यस रुटमा चल्ने सवारी साधनले ६ सय रुपैयाँ लिने गरेका थिए । ब्यवसायीले अग्रिम टिकट बुकिङसमेत गरेका छैनन् । उनीहरुले सवारी साधन आएपछि भेडाबाख्रा खाँदेजस्तै खाँदेर गाडीमै पैसा असुल्ने गरेका छन् । यात्रुलाई टिकट पनि उपलब्ध गराउँदैनन् ।
काठमाडौं बस्दै आएकी सिन्धुलीकी दुर्गा थापा कोटेश्वरस्थित कमलामाई यातायात काउन्टरमा टिकट काट्न जाँदा यसै गरी ठगिइन् । उनी ३० गते घर फर्कन चाहन्थिन् । ब्यवसायीले १ हजार रुपैयाँ जम्मा गरेर जान भने । उनले टिकट मागिन् । तर ब्यवसायीले टिकट दिन नसक्ने बताए । ‘यो त ब्रम्हलुटै भयो,’ उनले भनिन्, ‘अहिलेसम्म मैले यस्तो मन परी देखेको थिइन । स्थिर सरकार आएका बेला ब्यवसायीले ब्रम्हलुट मच्चाएको टुलुटुलु हेरेर बस्नु परेको छ ।’ उनले सिन्धुलीका जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादव र यातायात ब्यवसायी संघका अध्यक्ष गणेश पाण्डेलाई समेत गुनासो गरेको तर सुनुवाइ नभएको बताइन् ।
तीनकुनेस्थित हिलटप जुनार सहकारीका प्रबन्ध संचालक सुमनबिक्रम थापाले पनि घर फर्कन टिकट पाएनन् । उनलाई पनि चाबहिलस्थित काबेली डिलक्सको काउन्टरका कर्मचारीले १ हजार रुपैयाँ तिरे सिन्धुलीसम्म लगिदिने बताए । ‘यो त सरासर लुट हो,’ उनले भने, ‘सरकारले सिन्डिकेट हटाएको सुन्दा खुशी लागेको थियो । अहिले आफैंले महासिन्डिकेट भोग्नु पर्यो । पहिलो पटक सरकार नभएको अनुभूति भयो ।’
यातायात ब्यवसायीले गरेको मनोमानी सुनेर यो सम्बाददाता चावहिलस्थित काबेली डिलक्सको काउन्टरमा टिकट लिन पुगेको थियो । त्यहाँका कर्मचारीले सोमबारको गाडीमा सिन्धुली जान १ हजार रुपैयाँ जम्मा गर्न भने । टिकट माग्दा उनले दिन नसक्ने बतए । ‘हामीले १ हजार रुपैयाँको टिकट दिए प्रहरीले थुनि हाल्छ नि,’ उनले भने, ‘टिकट नकाटी लैजान्छौं । सबै काउन्टरले त्यसै गरेका छन् ।’ उनले सबै सवारी साधनका धनीले टिकट नकाट्न भनेको बताए ।
ब्यवसायीको मनपरी बारे सिन्धुलीका एसपी रामेश्वर यादवलाई जानकारी गराउँदा उनले काठमाडौबाट फर्कने सवारी साधनले मनपरी गरेकाले काठमाडौंकै प्रहरीलाई गुनासो गर्न भने । ‘सिन्धुलीबाट जाने सवारी साधनले बढी भाडा लिएको भए म काराबाही गर्ने थिएँ,’ उनले भने, काठमाडौंमा त्यहीँको प्रहरीले कारबाही गर्छ ।’
दशैंका मुखमा यात्रु ठग्ने ब्यवसायीलाई दुई तिहाइ बहुमत प्राप्त सरकारले कारबाही गर्न नसकेकोमा यात्रु धेरै आक्रोशित देखिन्थे । सिन्धुलीका लागि टिकट लिन चाबहिल पुगेका एक यात्रुले काउन्टरमा १ हजार रुपैयाँ भाडा मागिएपछि आक्रोशित हुँदै भने, ‘दशैं यात्रु लुट्ने सिजन हो ? अरु बेला ६ सय रुपैयाँ भाडा लाग्ने ठाउँमा १ हजार रुपैयाँ किन तिर्ने ?’ उनले मुलुकमा सरकार के हेरेर बसेको छ भन्दै प्रश्न गरे, ‘सरकारले सिन्डीकेट हटाएको हो कि थपेको हो ?
यात्रुले सबै काउन्टरमा छापा मारेर ब्यवसायीको मनोमानीविरुद्ध ठूलै एक्सन लिनु पर्ने बताएका छन् । ‘सिन्धुली जाने हरेक सवारी साधनमा छापा मारेर यात्रुसँग टिकट माग्नु पर्छ,’ एक यात्रुले आक्रोसित हुँदै भने, ‘टिकट नभेटे तिनीहरुको रुट परमिट खारेज गरेर काराबाही गर्नु पर्छ ।’ -टिलीलानाथ घिमिरे

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

२०८० चैत्र १५ गते, बिहीबार

१५ किलो चरेस बरामद

२०८० चैत्र १४ गते, बुधबार

२३ प्रहरी सम्पर्कविहीन

२०८० चैत्र १३ गते, मंगलवार