सिन्धुलीगढीको प्रचार–प्रसार गर्न साइकलयात्रा

२०७६ कार्तिक २० गते, बुधबार

काठमाडौं, २० कात्तिक । ऐतिहासिकस्थल सिन्धलीगढीको प्रचार–प्रसारलाई सहयोग पुर्याउने उद्देश्यले साइकलयात्रा गरिने भएको छ । समृद्ध सिन्धुली अभियानले उक्त साइकलयात्रा आगामी मङ्सिर ६, ७ र ८ गर्न लागेको हो । यस वर्ष २५० किलोमिटर साइकलयात्रा हुने बताइएको छ । काठमाडौँको पशुपतिनाथबाट शुरु हुने साइकलयात्राको पहिलो दिन सिन्धुलीकै सुनकोशी गाउँपालिकाअन्तर्गत मुलकोटमा आएर समापन हुने र दोस्रो दिन यहाँको ऐतिहासिकस्थल सिन्धुलीगढीसम्म आउने तथा तेस्रो दिन सिन्धुलीमाढीदेखि जनकपुरसम्मको साइकलयात्रा हुने अभियन्ता सौरभ ढकालले जानकारी दिए।
सिन्धुलीको पहिचानसँगसँगै नाम जोडिएर आउने जुनारको पनि प्रचार–प्रसार गर्न खनियाखर्कमा जुनार सुपरजोनसँग समन्वय गरेर जुनारका कक्ष राखेर प्रदर्शनी तथा महोत्सव गरिने र साइकलयात्री फर्कँदा सिन्धुलीको जुनार कोशेलीका रुपमा लैजानेसमेत उनले बताए । समृद्ध सिन्धुली अभियानले विगत दुई वर्षदेखि सिन्धुलीगढीको प्रचार–प्रसार गर्ने हेतुले साइकलयात्रा, सिन्धुलीगढीमा कला शिविरलगायतका विभिन्न कार्यक्रम गर्दै आएको छ । -रासस

प्रतिक्रियाहरु