सिद्धार्थ राजमार्ग अवरुद्ध

२०७५ बैशाख ३१ गते, सोमबार

काठमाडौं, ३१ बैशाख । सडकमा पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अरुद्ध बनेको छ । अविरल वर्षासँगै खसेको पहिरोले आज बिहान २ बजेदेखि सडक अवरुद्ध बनेको छ । सडक अवरुद्ध भएपछि सिद्धार्थ राजमार्ग हुँदै जाने सवारी साधन बीचबाटोमै रोकिँदा यात्रु अलपत्र बनेका छन् । गएरातिदेखि परेको अविरल वर्षासँगै तिनाउ गाउँपालिका–३ हेडबक्स नजिकै माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय पाल्पाका प्रमुख प्रविन आचार्यले जानकारी दिए ।
पहिरोसँगै ठूला ठूला चट्टान सडकको बीचभागमा खसेका कारण सडक अवरुद्ध बनेको उनले बताए । बिहानैदेखि सडक खुलाउने प्रयास गरिए पनि अहिलेसम्म सडक सञ्चालन हुन सकेको छैन ।
यसैगरी, पर्वतमा गएराति वर्षासँगै परेको चट्याङ लागेर पर्वतको बिहादी गाउँपालिका–१ बाच्छामा आठ वटा घरमा क्षति पुगेको छ । चट्याङकै कारण स्थानीय छ महिने बालक घाइते भएका छन् । राति परेको चट्याङले साविकको बाच्छा गाविस–२ उकाला भन्ने ठाउँका घरमा क्षति पुगेको हो । चट्याङको छिर्काले लागेर स्थानीय चोला नेपालीका ६ महिने छोरा चित्रबहादुर नेपाली घाइते भएको प्रहरीले जनाएको छ । उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । चट्याङ लागेर स्थानीय डम्बर विकको गोठ भत्किएको छ भने गोठमा रहेको एउटा भैँसी मरेको छ । त्यस्तै तेजबहादुर नेपाली, कुमारी नेपाली, ईश्वरी नेपाली, तुलबहादुर विक, सुनबहादुर विक, पूर्णबहादुर दर्जी, तुलबहादुर क्षेत्री र डम्बर विकको घरमा चट्याङ लागेर क्षति भएको स्थानीय उत्तम परियारले जानकारी दिए । बाच्छा प्रहरी चौकीका प्रमुख वैजनाथ हरिजनले वर्षासँगै बिहान ३ः३० बजेतिर चट्याङ परेको जानकारी दिए । चट्याङ लागेका घरमध्ये अधिकांश चर्किएर बस्न नमिल्ने भएका छन् । दलित समुदायको बस्तीमा परेको प्राकृतिक विपत्तिले स्थानीय समस्यामा परेको उनले बताए । घटनालगत्तै पुगेको प्रहरीले क्षतिको विवरण संकलन गरिरहेको छ । पर्वतलगायत आसपासका क्षेत्रमा गएरातिदेखिनै वर्षा भइरहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार