सिङ्गटी जलविद्युत् आयोजनाको ६० प्रतिशत काम सम्पन्न

२०७५ आश्विन २१ गते, आईतवार

काठमाडौं , २१ असोज । दाेलखाको सिङ्गटी खोलामा निर्माणाधीन २५ मेगावाटको सिङ्गटी जलविद्युत् आयोजनाको सुरुङ शनिबार छेडिएको छ । आयोजनाको सुरुङको यो पहिलो खण्डको हो । यसको लम्बाइ अडिटबाहेक २ हजार ९०० मिटर छ । पहिलो सुरुङ ‘ब्रेक थ्रु’ भएसँगै आयोजनाको प्रगतिमा इँटा थपिएको आयोजना निर्देशक काजी लामाले बताए । पहिलो ब्रेक थ्रु भएसँगै तीन किलोमिटर खण्ड वारपार भएको छ । आयोजनाको हेडबक्स खण्डको माथिल्लो खण्डको सुरुङ खुलेको हो । सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडका अर्का सञ्चालक बटु लामिछानेले सुरुङको पहिलो खण्डको सफलताले लगानीकर्ता, निर्माण व्यवसायी, शेयर होल्डर, मजदुर सबैलाई हर्षित बनाएको प्रतिक्रिया दिए । सिभिल निर्माण शुरु गरेको छोटो समयमै राम्रो प्रगति गर्ने नेपालकै पहिलो जलविद्युत् आयोजना भएको उनले बताए ।
सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडले दुई वर्ष अवधिमा आयोजनाको निर्माण अन्तिम चरणमा पुर्याएको छ । आयोजनाको समग्र प्रगति ८० प्रतिशत भएको छ । आयोजनाको बाँध क्षेत्रको काम अन्तिम चरणमा पुर्याएको छ । शिरिसघारीस्थित कात्तिके गाउँमा निर्माण भइरहेको विद्युत्गृहको ६० प्रतिशत काम सम्पन्न भएको छ । चैतभित्र विद्युत्गृहको निर्माण पूरा हुने कम्पनीले जनाएको छ ।
सरकारले प्रतिस्पर्धा गराएर निजी क्षेत्रलाई निर्माणको अनुमति दिएको आयोजनाबाट २०७६ वैशाख १ गतेदेखि विद्युत् उत्पादन गर्ने तालिका छ । केही ढिला हुँदा पनि जेठ असारदेखि उत्पादन शुरु हुने बताइएको छ ।

प्रतिक्रियाहरु