सिंगो घर गाडीमा राखेर स्थानान्तरण !

२०७४ मंसिर १२ गते, मंगलवार

काठमाडौं, १२ मंसिर । स्वीडेनको किरुना सहरमा अहिले ठूला गाडीमा सिंगो घर राखेर स्थानान्तरण गरिदैं छ । विज्ञहरुको मद्दतमा सिंगो घरलाई सुरक्षित रुपमा निकालेर गाडीमा राख्दै मानिसहरु धमाधम अन्यत्र लगिरहेका छन् । फलाम खानीका कारण किरुना सहरबाट बसोबास हटाउन थालिएको हो । सरकारले उक्त सहरको कतिपय क्षेत्रलाई बसोबासका लागि अयोग्य ठहर गरेको छ । फलाम खानीका कारण जमिनमुनी ठूला सुरुङ खनिएकाले कुनै पनि बेला जमिन भासिएर ठूलो क्षति हुन सक्ने भन्दै सरकारले त्यहाँका बासिन्दालाई स्थानान्तरण गर्न भनेको हो । उक्त सहर नजिकै ‘न्यू किरुना सिटी’ नामले नयाँ सहर बसाइँदैछ ।
देशकै सबैभन्दा ठूलो फलाम खानीमा विगत ४ दशकदेखि फलाम निकालिदैं छ । अझै त्यहाँ फलामको ठूलो भण्डार रहेको बताइन्छ । सरकारले त्यहाँका बासिन्दालाई मुआब्जा दिएर स्थानान्तरण गराइरहेको हो । तर सरकारले त्यहाँ रहेका कुनै पनि घर नभत्काइने जनाएको छ । यद्यपि जमिनमुनीका सुरुङका कारण घरहरु बस्न योग्न नरहेको र पछि ती घर आफैं भत्किने सरकारको भनाइ छ । खासगरी काठले बनेका घरहरु मानिसले सिंगै सार्न थालेका हुन् । घरको संरचना नबिगारी उखेलेर ठूला गाडीमा राख्दै लगिएका दृष्यलाई अन्तर्राष्ट्रिय संचारमाध्यमले प्रशारण गरेका छन् । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु