सार्वभौम जनता – झपेन्द्रराज बैद्य

२०७७ बैशाख २९ गते, सोमबार

बाटो त खाली छ तर
हिँड्न पाइँदैन
समय त खाली छ तर
काम पाइँदैन ।
पसल भित्र त सामान छ तर
किन्न पाइँदैन
जन्मेको देश त छ तर
घरमा आउन पाइँदैन ।
महिनौं दिन खुल्ला आकाशमा बास छ
सरकार कहाँ छ ? केही खबर पाइँदैन ।
बाटो घाटो सुनसान छ तर
घर भित्र भोकाहरूको रूवाबास छ ।
एकातिर कोरोनाको संत्रास छ तर
सरकारमा कुर्सीको चलखेल छ ।
एक ब्यक्ति एक पदको बिधान छ तर
एउटालाई धेरै पदको अहंकार छ ।
कोरना बिरूद्धको लडाइँ देखावटी छ तर
वास्तविक लडाइँ त सत्ता जोगाउनुमा छ ।
बेमौशमको बाजा !
साहित्यकारलाई जेल–नेल छ ।
साँढेको जुधाइ बाच्छाको मिचाइ छ ।
बुद्धको शान्ति देश छ तर
थुनछेक र यातना छ गोली छ ।
लोकतन्त्र कहाँ छ ? आफ्नै पार्टीले भन्छ
यहाँ त हुकुमी शासन छ ।
भ्रष्टाचारको चाँग छ
मूल नै धमीलो छ ।
पार्टीको दुई धारकों लडाइँ
बिचार र सिद्धान्त बिनाको लडाईँ छ ।
हिसाब–किताब मिले यो त गौण छ
त्यसैले यो त भुसको आगो समान छ ।
फेरि–फेरि बोल्छ फेरि निभ्छ
कस्लाई के दोष !
ब्यबस्थाको चरित्र नै यस्तै छ ।
जुन जोगी आए नि कानै चिरेका
जनता वाक्क छ निराश छ ।
दुःख सहेको छ रिस खाँदेको छ
थाहा छैन कहिले बिष्फोट हुन्छ ?
निर्बिकल्प के छ र !
राणा गयो, पन्चायत गयो
जनता ठूलो हो, जनता जागे के–के हुँदैन !
सधैँ धोका सहिदको सपनामा धोका
संबिधानमा धोका, राष्ट्रियतामा धोका
देश दुःखिरहेको बेला यता
लम्पसार पर्छन् नेता उता !
एमसीसी पास गर्ने दाउ छ
त्यसैले त लेण्डुपेको चलखेल छ ।
सत्ताको हानथाप छ मोलतोल छ
दण्डहीनता अस्तब्यस्थ हाहाकार छ ।
जनताको बिजोग छ
के हिमाली बस्तीमा कोरोना छ ?
जहाँ छैन त्यहाँ कहर छ
जहाँ छ त्यहाँ ओसार पसार छ ।
त्यसैले त केही ठाउँ संबेदनशील छ
आरडीटी छ पीसी आर छैन
त्यसैले त संक्रमणको जोखिम छ ।
जहाँ शुन्य छ
त्यहाँ जनतालाई सास्ती किन ?
अड्डा अदालत बन्द गरेर
राजश्व गुमाउने अनि जनताबाट उठाउने ?
लाखौँ युवक बेरोजगार गराउने
न त राशन साँझ बिहान चलाउने
कोरनामा भ्रष्टाचार कुहेको चामल बिकाउने
पाँच किलो चामल छ महिना गुजार्ने ।
दूध सडकमा, तरकारी सडकमा अण्डा सडकमा
के भो यस्तो छैन कि सरकार खबरमा ?
सरकार चूप ! हनुमानहरू चूप !
सरकार ! केही मानवीयता बाँकी छ भने
सीमापारका जनता ल्याऊ
बिदेशमा अलपत्र जनता उठाऊ
भोक भोकै मर्ने दिन आए
वार न पारका जनता !
तिमीलाई मत दिने जनता
सार्वभौम जनता ।

प्रतिक्रियाहरु