‘सार्वजनिक यातायात सञ्चालनको निर्णय भएको छैन’

२०७७ असार २१ गते, आईतवार

काठमाडौँ, २१ असार । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले केही सञ्चारमाध्यमले यही असार २१ गते आजदेखि सार्वजनिक सवारीसाधन सञ्चालन हुने भनी प्रकाशित गरेको सामाचार झुटो भएको भन्दै महासङ्घले यस्तो निर्णय नभएको विज्ञप्तिमार्फत जनाएको छ । नियमित रुपमा यस विषयमा छलफल भइरहे पनि कुनै निर्णय भइनसकेको महासङ्घका महासचिव सरोज सिटौलाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सार्वजनिक यातायात सञ्चालन गर्ने विषयमा सरकार, मजदूर र व्यवसायीबीच छलफल भइरहेको उल्लेख छ । महासङ्घले सार्वजनिक सवारीसाधन सञ्चालन नहुँदा यातायात व्यवसायी, मजदूर र यात्रुलाई परेको मर्काप्रति संवेदनशील हुन सरकारलाई अनुरोधसमेत गरेको छ ।
सरकारले आगामी साउन ७ गतेसम्म बन्दाबन्दी राख्ने निर्णयसँगै सार्वजनिक यातायात सञ्चालनमा अन्योलता देखिएको विज्ञप्तिमा भनिएको छ । महासङ्घ र मजदूर ट्रेड युनियनले बन्दाबन्दीका कारण परेको असरका बारेमा सरकारलाई मौखिक र लिखित रुपमा जानकारी गराउँदै आएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु