‘सार्कलाई प्रभावकारी र परिणाममुखी तुल्याऔँ’

२०७४ मंसिर २६ गते, मंगलवार

काठमाडौँ, २६ मंसिर। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को अध्यक्षका नाताले नेपालले उक्त क्षेत्रीय संगठनलाई प्रभावकारी एवं परिणाममुखी तुल्याउनुपर्नेमा जोड दिएको छ । सार्कको संस्थापक मुलुक नेपालले भर्खरै ३३ वर्षमा प्रवेश गरेको सार्कलाई दक्षिण एशियाका जनताका विकासका चाहना पूरा गर्न र उनीहरुको जीवनस्तर उठाउन संगठनलाई अझ सुदृढ र गतिशील तुल्याउनुपर्ने बताएको छ ।
सार्क सचिवालयमा आजदेखि प्रारम्भ भएको कार्यक्रम समितिको ५४ औँ बैठकलाई सम्बोधन गर्दै कार्यक्रम समितिका अध्यक्ष एवं परराष्ट्र मन्त्रालयका क्षेत्रीय संगठन महाशाखा प्रमुख मणिप्रसाद भट्टराईले संगठन र त्यसअन्तर्गतका निकायका निर्णय समयमा नै कार्यान्वयन गर्नु अपरिहार्य भएको बताए ।
उनले सार्कका गतिविधि सदस्य मुलुकका नागरिकले महसुस गर्ने किसिमका हुनुपर्छ भन्दै सार्क संयन्त्रका बैठक एवं अन्य गतिविधि प्रभावित हुन नहुने बताए । दक्षिण एशियाको समृद्धिका लागि सबै मुलुकबीच सहकार्य र समन्वय आवश्यक भएको उनको कथन थियो ।
सार्कका महासचिव अमजद हुसेन बी सियालले सार्क प्रक्रियालाई गति दिन अथक प्रयास भइरहेको र त्यस क्रममा सातौँ आन्तरिक मामिला गृहमन्त्रीस्तरीय र छैटौँ स्वास्थ्यमन्त्रीस्तरीय बैठक सम्पन्न भएको जानकारी दिए ।

प्रतिक्रियाहरु