सार्ककालागि विश्व सम्पदाहरू सिंगारिने

२०७१ भाद्र २७ गते, शुक्रबार


काठमाडौ ।अठारौं सार्क शिखर सम्मेलनअघि विश्व सम्पदामा सूचीकृत दरबार क्षेत्र, मन्दिर र चैत्यहरू सिंगारिने भएका छन् । त्यसनिम्ति सरकारले १ करोड ६० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।’हामी राजधानीका सातै क्षेत्र, लुम्बिनी र जनकपुरको जानकी मन्दिर शृंगारको तयारीमा छौं,’ पुरातत्त्व विभागका महानिर्देशक भेषनारायण दाहालले भने, ‘स्थलगत निरीक्षण कार्य सुरु भएको छ । दसंैअघि नै कुन सम्पदाको अवस्था के-कस्तो छ । र, कतिसम्म गर्न सकिन्छ भन्नेबारे रिपोर्ट तयार हुनेछ ।’विभागले स्थलगत निरीक्षणका निम्ति सम्बन्धित विषयका विज्ञहरू, प्राविधिकहरूसहित मूल्यांकन टोलीलाई खटाउने तयारी गरेको छ । निरीक्षण टोलीले मूल्यांकन गरेपछि सार्वजनिक खरिद ऐन तथा नियमावलीअनुसार पाँचदिने सूचनाका आधारमा कार्यप्रक्रिया अघि बढाइने दाहालले बताए ।राजधानीमा विश्व सम्पदाअन्तर्गत हनुमानढोका दरबार, पाटन दरबार, भक्तपुर दरबार, पशुपतिनाथ मन्दिर, चाँगुनारायण मन्दिर, स्वयम्भूनाथ र बौद्धनाथ चैत्य छन् । सार्क सम्मेलनमा सहभागी हुने विशिष्ट पाहुनालाई ती स्थानमा स्थलगत अवलोकन गराइनेछ ।पशुपतिनाथ मन्दिरको संरक्षण पशुपति क्षेत्र विकास कोषले गर्दै आएको छ । ‘सार्कको तयारी योजना तथा कार्यक्रमबारे सबैतिर पत्राचार गरिसकेका छौं,’ कोषका सदस्य सचिव डा. गोविन्द टण्डनले भने, ‘नियमित काम हुँदैआएकाले खासै धेरै समय खर्चन पर्ने छैन । हामी तयारीमा छौं ।’
त्यसैगरी बौद्धनाथ क्षेत्र विकास समितिले बौद्धनाथ चैत्यको हेरविचार गर्दैआएको छ । समितिकी कार्यकारी निर्देशक फुर्बु याङ्जी लामाका अनुसार पानी परिरहेकाले तत्कालै बौद्धनाथ स्तूपा रङरोगन गर्न गाह्रो छ । ‘हामी रङरोगन प्रक्रिया वाषिर्क तालिकाअनुसारै गर्छौं,’ सार्क शिखर सम्मेलनका निम्ति आवश्यक निर्देशन आइनसके पनि तयारीमा जुटेको उल्लेख गर्दै उनले भनिन्, ‘ढुंगा बिछ्याउने, बिजुलीको पोल मिलाउने, अनि बत्तीको व्यवस्थापनको तयारीमा छौं ।’
स्वयम्भू व्यवस्थापन महासमितिका अध्यक्ष सर्वज्ञरत्न तुलाधरले त्यस क्षेत्रमा सुधारका धेरै पक्ष रहेको बताए । ‘स्वयम्भू प्रवेशका निम्ति चारवटा बाटा छन्,’ उनले भने, ‘यहाँको बाटो, खुडकिलाहरू, सरसफाइ, बिजुली बत्ती, सरसफाइलगायतका अति आवश्यक कामहरू लिखित रूपमा पुरातत्त्व विभागलगायतका निकायमा बुझाएका छौं । बजेटको व्यवस्था र निर्देशनको पर्खाइमा छौं ।’
त्यसैगरी हनुमानढोका दरबार क्षेत्र काठमाडौं महानगरपालिका, पाटन दरबार क्षेत्र ललितपुर उपमहानगरपालिका र भक्तपुर दरबार क्षेत्र, भक्तपुर नगरपालिकाले व्यवस्थापन गर्दैआएका छन् । भक्तपुरको चाँगुनारायण मन्दिर क्षेत्र विभाग आफैंले हेरचाह गर्दै आएको छ । चाँगुनारायण मन्दिर क्षेत्र भौतिक रूपमा बढी जोखिममा रहेको जनाइएको छ । मन्दिर वरिपरिका पाटी पौवा, सत्तललगायत जीर्ण छन् ।
जनकपुरको जानकी मन्दिरलाई आकर्षक बनाउनका निम्ति भुइँमा टायल बिछ्याइने भएको छ । त्यसैगरी रातको समय विशेष बिजुली बत्तीको व्यवस्था गरिनेछ । त्यसैगरी लुम्बिनी विकास कोषअन्तर्गत भगवान् गौतम बुद्धको जन्मथलोको संरक्षण र संवर्द्धन हुँदै आएको छ । त्यहाँको सुधार कार्य निरन्तर हुँदै आएकाले तत्काल धेरै चिन्ता लिनुनपर्ने जनाइएको छ ।

प्रतिक्रियाहरु