सामाजिक मनोदशाले निम्त्याएको बन्धन

२०७३ कार्तिक ९ गते, मंगलवार

“एउटा प्रयोग गरौं । मानौँ, कुनै मान्छे एक फुटको उचाईमा पचास सेन्टीमिटर मोटाई भएको दण्डीमा हिँड्न लगायो भने उ सजिलै हिँड्न सक्छ तर त्यहि दण्डीलाई सय मिटर उचाईमा राखेर हिँड्न लगायो भने हिँड्न सक्दैन । किन ? डण्डी एउटै हो । फरक के मा छ ? हामी त्यो फरक पत्ता लगाउनु पर्छ । कारण मान्छे भित्रको मनोवल हो । मान्छे एक फुटमा सजिलै हिँड्न सक्छ । एक फुटको उचाईवाट तल खसे पनि उसलाई केही हुँदैन भन्ने कुरा पक्का छ । टेक्ने धातल नजिकै हुन्छ । तर त्यही डण्डालाई सय मिटरको उचाईमा राखियो भने पक्का हो त्यहाँवाट उ खसे पछि उसलाई चोट लाग्छ । त्यसैले उ डरैले डण्डामा हिँड्नै सक्दैन । उसलाई थाहा छ, त्यहाँवाट खसे पछि उसको टेक्ने धरातल निकै टाडा छ । दुरीको उचाईले त्यो मान्छे भित्र फरक–फरक मनोदशा उत्पन्न गरिदिन्छ । महिला र पुरुषको विचमा ठिक यहि फरक–फरक मनोदशा छ । पुरुष एक फुटको उचाईको मनोदशामा छ । महिला सय मिटर उचाईको मनोदशामा छ । पुरुषको मनोदशा छ, उ त्यहाँवाट खस्यो भने केहि हुने छैन । महिलाको मनोदशा छ, यदि उ त्यहाँवाट खस्यो भने समाप्त हुने छ । समाजले पुरुषलाई नजिक एक फुटको उचाईमा राखेको छ भने महिलालाई सय मिटर टाडाको उचाईमा राखेको छ । त्यसैले महिलाहरु मनमा डर लिएरै हिँड्नु परिरहेको छ तर पुरुषलाई बिन्दास छ । त्यसैले पुरुष गल्ती गर्छ र उ जति पनि डण्डावाट खस्ने गल्ती गरे पनि उसलाई केही हुँदैन । समाजवाट खस्दैन । समाजले उसलाई खसाल्दैन । उसको खुट्टा मुनी सामाजीक धरातल छ । समाजले हात थापिदिन्छ । उसलाई खस्नै दिँदैन । वचाउँछ । तर महिलाले जब केही सानो गडबडी गर्यो भने उ समाजवाट सयौँ मिटर तल खस्छ । सामाजीक धरातल उसको पक्षमा छैन । त्यसैले उसलाई जीउँदै मारिन्छ । सामान्यतया: यसरी फरक छुट्याइन्छ, पुरुषलाई समय सिमा टोकिएको हुँदैन । महिलाको लागि सिमा टोकिएको हुन्छ । छोरीले राती अवेर वाहिर वस्नु असुरक्षित मानिन्छ । तर छोरा जतिसुकै अबेरै बाहिर बसेको भए पनि उसलाई स्वातन्त्र छ । महिलाको लागि हाँस्ने जस्तो कुरामा पनि प्रतिवन्ध छ । छोरी मान्छे भएर खिल्खिलाएर हाँस्नु हुँदैन भन्छ समाजले । यो त्यस्तै स्थिति हो, रिङ्ग भित्र दुई खेलाडीहरु जो एउटाको हातमा साङ्गलोले कसिएको छ भने एउटालाई स्वातन्त्र छोडिएको छ । अव मुक्कावाजमा कस्ले वाजी मार्छ ? यो त मुर्खले पनि वताउन सक्छ । नारीलाई सवैवाट यस्तै साङ्लोले वाधिएको छ । त्यसैले मैले भनेको नारी मुक्त हुनु पर्छ । रिङ्गमा दुवैलाई स्वातन्त्र छोडिनु पर्छ । तव वास्तविक प्रतिस्पर्धा शुरु हुने छ । यही समाज जो तिमीले भर्खरै पनि भन्यौ कि पुरुष जो धेरै स्त्रिहरुसँग शारीरि सम्वन्ध राख्छ । उसलाई स्वातन्त्र छ । तर एउटा स्त्रि जो सुहागरातमा योनीवाट रक्त श्राव भएन भने उसको चरित्र माथि प्रश्न खडा गरिन्छ । त्यसैले यो सामाजीक प्रणाली न्यायीक छैन । यो पितृ सत्तामा महिला माथिको हिँसा भयो । यदि पितृ सत्ताको ठाउँमा मातृ सत्ता भईदिएको भए ठिक उल्टो पुरुषहरुले हिँसा व्यहोर्नु पर्छ । त्यसैले न मातृ सत्तालाई न्यायीक मान्न सकिन्छ, न त पितृ सत्तालाई नै न्यायीक मान्न सकिन्छ । न्यायीक त्यो हुन्छ जहाँ महिला र पुरुषको अधिकार वरावर हुन्छ । कोटा उपलव्ध गराएर मात्रै महिलाको अधिकार सुनिस्चित गर्न सकिँदैन । सामाजीक वन्धनहरुवाट पनि खुल्ला छोडिदिनु पर्छ । मुक्त पारिनु पर्छ । तव वास्तविक प्रतिस्पर्धा शुरु हुन्छ ।”
– पृथीछक बुढा मगरको प्रकासोन्मुख उपन्यास ‘बुलबुल’वाट

प्रतिक्रियाहरु