साढे ३३ किलो सुन प्रकरण: बाजेको सेकुवामा सिल

२०७५ जेष्ठ ३० गते, बुधबार

काठमाडौं, ३० जेठ । साढे ३३ किलो सुन तस्करीको अनुसन्धान गरिरहेको गृह मन्त्रालयद्वारा गठित विशेष अनुसन्धान समितिले बुधबार काठमाडौंका विभिन्न ठाउँमा सन्चालित बाजेको सेकुवामा छापा मारेको छ । समितिकाअनुसार अनामनगर, स्रोहखुट्टे, सामाखुसी, बत्तिसपुतली, कमलपोखरी र गैरीधारास्थित बाजेको सेकुवामा छापा मारेर सिलबन्दी गरिएको छ । सो रेस्टुराँकाका मालिक चेतन भण्डारी फरार रहेका छन् । उनलाई फरार प्रतिवादी बनाएर सुन तस्करीमा जिल्ला अदालत मोरङमा मुद्दा दायर गरिएको छ । प्रहरीकाअनुसार बाजेको सेकुवा नामबाट हाल १० ओटा रेस्टुराँ सन्चालनमा रहेका छन् । त्यसमध्ये पाँचओटा भण्डारी र एउटा उनको साला सन्चालक रहेको जनाइएको छ । ती ६ ओटैमा छापा मारेर सिलबन्दी गरिएको समितिले जनाएको छ । सुन तस्करीमा संलग्न भएको आरोपमा भण्डारीको सम्पत्ति र बैंक खाता यसअघि नै रोक्का गरिएको छ ।
अनुसन्धान समितिले यसअघि सुनका मुख्य लगानीकर्ता एमके भनिने मोहनकुमार अग्रवालको डिल्लीबजारस्थित घर र अर्का प्रतिवादी राजेन्द्र शाक्यको काठमाडौंस्थित आरके ज्वेलर्सका तीनओटा शाखामा छापा मारेको थियो । अग्रवालको घरमा छापा मारेर ३० लाख रूपैयाँ नगद, दुई किलो चाँदी र १० तोला सुन बरामद गरेको थियो । त्यस्तै, बा१०च २८२ नम्बरको गाडीसहित सुन राख्ने खाली डिब्बा, सुन बोक्ने ज्याकेट र अरु केही महत्वपूर्ण कागजातहरु बरामद गरिएको थियो ।शाक्यको ज्वेलर्सबाट २८ करोड रूपैयाँ बराबरको सुन, चाँदीलगायतका गरगहना बरामद गरिएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु