साक्षरता दर ८७ प्रतिशत पु-याइने

२०७३ कार्तिक ९ गते, मंगलवार

काठमाडौँ, ९ कात्तिक । शिक्षा मन्त्रालयले आगामी पाँच वर्षमा नेपालको साक्षरता दर ८७ प्रतिशतमा पु-याउने गरी नयाँ योजना लागू गरेको छ । सन् २०१६ देखि २०२२ सम्मका लागि तयार गरिएको विद्यालय क्षेत्र विकास योजना (एसएसडीपी)लाई सोमबार शिक्षामन्त्री डीआर पौडेलले स्वीकृति प्रदान गरेको छ । लागू गरिएको योजनाले आगामी पाँच वर्षमा छ वर्ष उमेर समूहको साक्षरता प्रतिशत ८७, १५ देखि २४ उमेर समूहको साक्षरता प्रतिशत ९५ र १५ वर्षभन्दामाथिको साक्षरता प्रतिशत ७५ पु¥याउने लक्ष्य लिएको छ । पाँच वर्षअघिको राष्ट्रिय जनगणनाले नेपालको साक्षरता करिब ६७ प्रतिशत रहेको देखाएको छ भने गत सन् २००० मै सरकारले २०१५ सम्ममा सबैलाई साक्षर तुल्याउने प्रतिबद्धता व्यक्त गरेको थियो ।
मन्त्रालयका उपसचिव दीपक शर्माले योजना लागू भएपछि सङ्घीयताका सन्दर्भमा अब शिक्षा क्षेत्रलाई बाटो सहज बनेको बताउँदै भने , “अब नतिजाका आधारमा दातृ निकायले रकम दिनेछ । ”
यसअघि दातृ निकायले उपलब्ध गराएको रकम खर्च गरी नतिजाका लागि कार्य गरिन्थ्यो । शिक्षा क्षेत्रमा आगामी पाँच वर्षका लागि करिब छ खर्ब ९१ अर्ब ३२ करोड रुपियाँ खर्च गरिनेछ । त्यसको ८८.८ प्रतिशत नेपाल सरकारकै लगानी हुनेछ भने दातृ निकायले ६.८ प्रतिशत उपलब्ध गराउनेछ भने अझै ४.४ प्रतिशत स्रोतको खोजी जारी छ ।

प्रतिक्रियाहरु