साउन ३१ र ३२ गते शैक्षिक हड्ताल

२०७३ श्रावण १२ गते, बुधबार

काठमाडौं, १२ साउन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले साउन ३१ र ३२ गते दुई दिन आम शैक्षिक हड्तालको घोषणा गरेको छ । नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले बुधबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरेर सो घोषणा गरेको हो । संगठनको साउन ९ र ११ गते बसेको केन्द्रीय पदाधिकारी बैठकको निर्णयहरु आम शैक्षिक हडतासहित संघर्षका कार्यक्रम घोषणा गरेको हो ।
पत्रकार सम्मेलनमा अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष पूर्णबहादुर सिंहले शिक्षा मन्त्रालयले सीबीएसईको पाठ्यक्रम संचालन गरिरहेका देशभित्रका शैक्षिक संस्थाहरुलाई सम्बन्धन दिएको भन्दै आपत्ति जनाए । ‘ठूलो रकम घुस खाएर शिक्षामन्त्रीले देशभित्रका भारतीय स्कूलहरुलाई सम्बन्धन दिएर राष्ट्रघात गरेका छन् । उक्त सम्बन्धन तत्काल खारेज गर्नुपर्छ’ सिंहले भने खारेज नगरेसम्म यसविरुद्ध आन्दोलनको आँधीबेहरी ल्याउँछौं ।’
सीटीईभीटीले जानीबुझी हजारौं विद्यार्थीलाई प्राविधिक कोर्स अध्यायन गर्नबाट बन्चित गरिरहेको बताउँदै अध्यक्ष सिंहले सीटीईभीटीलाई चर्को शुल्क उठाउन बन्द गर्न आग्रह गरे । सरकार, सीबीएसई र सीटीइभीटीले जनतामाथि गरिरहेको अन्याय, अत्याचारको क्रान्तिकारीले राम्रोसँग हिसाबकिताब गरिहेको बताए ।
सोही क्रममा क्रान्तिकारीले १८ देखि असोज १५ गतेसम्म तीन महिने ‘समान शैक्षिक अधिकारका लागि एकीकृत राष्ट्रिय विद्यार्थी अभियान’ संचालनको कार्यक्रम पनि सार्वजनिक गरेको छ ।
नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को उपस्थिति सम्पन्न उक्त बैठकले भारतीय शैक्षिक बोर्ड सीबीएसईको पाठ्यक्रम संचालन गरिरहेका देशभित्रका मोर्डन इण्डियन स्कूललगायत दर्जनभन्दा बढी शैक्षिक संस्थालाई शिक्षा मन्त्रायले दिएको स्वीकृति खारेज, मेडिकल कलेजहरुमा भइरहेको दलालीकरणको अन्त्य, विदेशी सम्बन्धन लिएका कलेजहरुको पूँजी र प्रतिभाव पलायन जस्तो राष्ट्रघाती हर्कत रोक्न, सीटीईभीटीले प्राविधिक शिक्षा अध्ययन गर्न विद्यार्थीलाई बन्चित तथा चर्को शुल्क लिने कदमको अन्त्य, निजी कलेज तथा विद्यालयले गरेको चर्को शुल्क वृद्धिको खारेजी, शैक्षिक कन्सल्टेन्सीहरुले गरिरहेको भर्तीकेन्द्र र दलाली तत्काल बन्द गर्नुपर्ने मागसहित सशक्त संघर्ष गर्ने निर्णय लिइएको थियो ।
सोही माग पूरा गराउन साउन १७ गते सरकारलाई असमान शैक्षिक प्रणाली र व्यापारीकरणबारे ज्ञापनपत्र बुझाउने, साउन २८ गते अन्तरक्रिया कार्यक्रम गर्ने, साउन ३० गते शैक्षिक देशव्यापी प्रदर्शन गर्ने, साउन ३१ र ३२ गते दुई दिनसम्म देशभर आम शैक्षिक हडताल गर्ने जानकारी अखिल क्रान्तिकारीका महासचिव दीपेन्द्र चलाउनेले जानकारी दिए ।
त्यस्तै आगामी फागुन १४ गतेको लागि घोषित स्ववियू निर्वाचनमा समानुपातिक, निर्वाचन प्रणाली, स्ववियु नियमावली परिवर्तन र अधिकारसम्पन्न स्ववियू निर्माणको लागि आन्दोलन चलाउने समेत बैठकले निर्णय गरेको महासचिव चलाउने बताए ।
अखिल क्रान्तिकारीले अभियान संचालन गर्न १७ वटा केन्द्रीय टिम पनि गठन गरिएको छ । साथै भदौं मसान्तदेखि सहिद–बेपत्ता अक्षयकोष संचालन गर्ने निर्णय पनि बैठकले गरेको कार्यक्रममा जानकारी दिइयो । देशभर भइरहेको बाढीपहिरोबाट जनधनको क्षति न्यूनीकरण गर्न र पीडितहरुको उद्धार र उनीहरुलाई तुरुन्त राहतको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु