सांस्कृतिक कार्यक्रममा प्रहरी हस्तक्षेप !

२०७६ माघ २७ गते, सोमबार

काठमाडाैं, २७ माघ । नेपाल कम्युनिस्ट पार्टी सेती–महाकाली ब्युरोका इन्चार्ज निर्माणले सांस्कृतिक कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेकोमा घोर निन्दा एवम् भत्र्सना गर्दै पार्टीलाई अवैधानिक सङ्घर्षमा उत्रिन बाध्य नबनाउन कडा चेतावनी दिएका छन । नेपाल कम्युनिस्ट पार्टीले अछामको तुर्माखादमा जनताको बीचमा सामना परिवारको भव्य सांस्कृतिक कार्यक्रम भइरहेको बेला प्रहरीले हस्तक्षेप गरेको थियो ।
सेती–महाकाली ब्युरो इन्चार्ज निर्माणले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘देशव्यापी सञ्चालित जागरण अभियानअन्तर्गत जनकलाकार सङ्गठन सामना परिवारको सामना जागरण अभियान अछामको तुर्माखादमा जनताको बीचमा भव्य सांस्कृतिक कार्यक्रम भइरहेको बेला प्रहरी हस्तक्षेप भएको छ । शान्तिपूर्ण ढङ्गले जनकलाकारहरूले सांस्कृतिक कार्यक्रम गरिरहेको बेला भएको केपी वलीको दलाल सामाजिक फासिवादी सरकारले गरेको दमन र हस्तक्षेपको हाम्रो पार्टी घोर निन्दा एवम् भत्र्सना गर्दछ ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘भेरी–कर्णालीको अभियान सकेर सेती–महाकालीको अछाम प्रवेश गरेदेखि नै अछामको प्रहरी प्रशासनले व्यापक दमन र पिछा गर्दै आएको छ । हाम्रो जिल्ला पार्टीले सुरुदेखि नै काठमाडौँ घर भएका सीडीओ भोजराज श्रेष्ठ र ललितपुर घर भएका डीएसपी दीपक भारतीसँग समन्वय गर्न खोज्दा उल्टै अराजनीतिक भाषा प्रयोग गर्दै दमन गर्ने र गोली हान्ने धम्की दिँदै आएका छन् । जनताको रगत–पसिनाबाट तलब खाएर दलाल प्रशासनको चाकरीमा जनदमनमा उत्रने सीडीओ र डीएसपीका कारण अछाममा हाम्रो पार्टी प्रतिरोध गर्न बाध्य हुँदैछ । इमानदार, बौद्धिक र जनप्रिय पञ्चदेवल विनायक नगरपालिका वडा नं. २ का अध्यक्ष पदमबहादुर धामीको हत्यारालाई कारबाही गर्ने विषयमा उदासीन र लाचार साबित भएका सीडीओ र डीएसपीले तल्लो स्तरका प्रहरी अधिकृत र जवानहरूलाई प्रयोग गरेर जबर्जस्ती हाम्रो पार्टीसँग मुठभेड निम्त्याउँदैछन् । त्यसबाट उत्पन्न हुने परिणामको जिम्मेवारी प्रहरी प्रशासनले नै लिनुपर्नेछ ।’
ब्युरो इन्चार्ज निर्माणको विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘यसप्रकारको दमन र धडपकड नरोकिएमा यसको जबाफमा हामी सेती–महाकालीका सबै जिल्लाहरूमा प्रतिरोध सङ्घर्ष गर्न बाध्य हुनेछौँ । जनकलाकारहरूमाथि भएको दमनका विरुद्ध देशका सम्पूर्ण कलाकर्मी तथा साहित्यकारलाई बोल्न हाम्रो पार्टी हार्दिक अपिल गर्दछ । हाम्रो शान्तिपूर्ण राजनीतिक कार्यक्रममा निरन्तर दमन हुँदै गएमा हामी अवैधानिक सङ्घर्षमार्फत यसको जबाफ दिन बाध्य हुनेछौँ ।’

प्रतिक्रियाहरु