सांसदहरुबीच कुटाकुट !

२०७५ कार्तिक २९ गते, बिहीबार

काठमाडौँ, २९ कात्तिक । श्रीलंकामा महिन्दा राजापाक्षेका समर्थक र विरोधी सांसदहरुबीच बिहीबार कुटाकुट भएको छ । संसदले बुधबार राष्ट्रपति मैत्रीपाला सिरिसेनाबाट प्रधानमन्त्रीमा नियुक्त गरिएका राजापाक्षेविरुद्ध अविश्वास प्रस्ताव पारित गरेको विरोधमा उनका समर्थक सांसदले नाराबाजी गर्दै सभामुखमाथि आक्रमणको प्रयास गरेका थिए । बिहीबार संसद बैठक सुरु हुनासाथ राजापाक्षेले आफूलाई ध्वनीमतका आधारमा हटाउने अधिकार सभामुखलाई नभएको भन्दै सभामुखको निर्णयको विरोध गरेका थिए ।
राजापाक्षेका समर्थकहरुले अविश्वास प्रस्तावमाथि निर्णय गर्न मतदानमा जानुपर्ने बताएपछि झडप सुरु भएको हो । केही सांसदहरु भने सभामुखविरुद्ध नाराबाजी गर्दै अगाडि बढेका थिए । त्यसक्रममा ३० भन्दा बढी सांसदहरुबीच कुटाकुट भएको बताइएको छ । राजापाक्षेका समर्थक केही सांसदले सभामुखलाई पानीको बोतल, किताब आदि प्रहार गरेपछि सुरक्षाकर्मीले स्थिति सामान्य पारेका थिए । राजापाक्षेका विरोधी सांसदहरुले भने सभामुख कारु जयसूर्यालाई घेरेर सुरक्षा दिएका थिए ।
गत अक्टोबर २६ मा राष्ट्रपति सिरिसेनाले नाटकीयरुपमा रनिल विक्रमासिंघेलाई बर्खास्त गरी पूर्वराष्ट्रपति राजापाक्षेलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । तर, उनको नियुक्तिलाई लिएर व्यापक विरोध भएको थियो । राष्ट्रपति सिरिसेनाले संसद विघटन गर्दै निर्वाचन गर्ने घोषणा गरेका थिए । तर, सर्वोच्च अदालतले त्यसलाई पनि तत्कालका लागि रोक लगाएको छ । यस्तै, राष्ट्रपति सिरिसेनाद्वारा अर्को वर्ष हुनेगरी घोषणा गरिएको आकस्मिक निर्वाचनलाई पनि रोक्न निर्देशन दिएको छ ।-एजेन्सी

प्रतिक्रियाहरु