सहिद दिवस र माओवादी आन्दोलन – नरेन्द्रजंग पिटर

२०७१ फाल्गुन १५ गते, शुक्रबार

जनयुद्धकालीन माओवादीले दीलबहादुर रम्तेल (२०५२ फागुन १४, गोर्खा) हत्यादेखि २०२८ का सुखानी झापाकालीन सहादतसम्मको सम्झनामा सहिद सप्ताह मनाउने गर्दथ्यो । सहादत आदर्शको सम्मान र पथारोही हुनु हो श्रद्धा हो, सराद्धे हैन् । मूल्यको पुनःस्मरण र वर्तमानप्रति सचेतता हो । सपनाको निरन्तर स्वीकार पनि हो । हरेक देश, जाति, राजनीति र वर्गका आ–आफ्ना प्रेरक व्यक्तित्व हुन्छन्, त्यही आदर्शले मानवीय मूल्य र आफ्ना प्रतिवद्धता पूरा गर्न दिएका बलिदानले अपूरा सपना पूरा गर्न ललकारिरहेको हुन्छ । सचेत पारिरहन्छ । आजका माओवादी १३ हजार त्यस्तै स्वप्नद्रष्टाहरूको चिहानेढिस्कोमा उभिएर अग्लो भएको शब्द हो । मृत्यु धु्रवसत्य छ भनेर बोध गर्न मानिसले घर अगाडि चिहान राख्ने चलन अझै पनि दुनियाँमा छ । यो लेख मेरा सहयोद्धा ढाकाराम पाठक अनल (२०५४ वैशाख ४ गते बर्दिया धोबिया) दिलाराम ओली आनन्द (२०५८ पुस १३ कुसुम अमुवा) नरेश खटिक वायु (२०६१ पुस ७ वेतहनी नौनागरी) महेन्द्र रोकाय विनोद (२०५८ फागुन ११ ढकेरी उड्यन) मार्फत् १३ हजारभन्दा उम्दा यस धरतीका महान् सन्तानप्रति समर्पण हो । उनीहरूकै कारण देश सङ्घात्मक लोकतान्त्रिक धर्मीनरपेक्ष राज्यसत्ता निमार्णको सङ्घारमा छ । जनयुद्धका सहिदहरूको कम्युनिस्ट व्यवस्थाका लागि सहादत भएको थियो, जेका लागि सहादत भएको थियो, त्यसका निरन्तरता माओवादीले कति दिन सकेको छ ? अहिले बहस विषय बनेको छ । सहिदको हकवाला कति माओवादी बन्न सकेका छन्् र छौँ अहिले प्रश्न हामीसामुन्ने ठिङ्ग उभिन्छ । युद्धकालीन माओवादी र वर्तमान् हकवाला आफैँँ हुनुको औचित्य सावित गर्न मुस्किल परेको बेला सहिद सप्ताह फेरि आइपुग्यो ।
डायरी पाना पल्टाउँदै जाँदा आनन्द र रुमीको प्रसङ्ग फेला प¥यो । जनयुद्धकालले एउटा चरण पार गरेर एउटा कोर्स पूरा गरिसकेको थियो । देशमा पहिलो शान्ति वार्तापछाडि प्रत्यक्ष सैन्य शासन चालु भइसकेको थियो । सत्ता र विद्रोहीका सबै, सोच, चिन्तन र योजनाहरू प्रस्टै देखिइसकेपछि विभिन्न कभरमा रहेका माओवादी पनि भूमिगत भइसकेका थिए । त्यसैमध्येमा म पनि पर्दथँे । पार्टी सम्पर्क टुटेर प्रवासिए पनि पुनः जोडिएपछि कार्यक्षेत्र स्वदेश फकर्ने बेलाको कुरा हो यो ।
हामी भारतको वैशाली उत्तर मुर्कट्टा नाकाबाट नेपाल छिरेर खास कुश्माको अमुवामा सेल्टेर बनाएका छौँ । बिहानै कुसुम नाका छिचोलेर उत्तर लागेपछि मात्र सापेक्षित सुरक्षित हुन् सकिन्छ । आफ्नै रखवाली गर्दै अत्यन्तैै चनाखो बनेर निदाउनुपर्छ । हिजोको सुताई र आज कमरेड आनन्दले ब्युँझाउँदा “या त छिट्टै जाग, यात्रा सुरु गर, नत्र सधैँँका लागि निदाइरहन स्वीकारौँ” भनेका शब्दले अत्यन्तै मलाई अहिले गम्भीर बनाउँदैछ । म भातेनिन्द्रामा मस्त निदाएछु । बिहानीको निन्द्रा अत्यन्तै मिठो लाग्छ । मधेसमा जीवनको लामो काल बिताएकाले ढिलो सुत्ने र ढिलै उठ्ने बानी परिसकेको मान्छे । मधेस आफैँँ ढिलो सुत्छ र अबेर जाग्छ अनि मात्र भूमिकामा उत्रन्छ तर युद्धका आफ्नै नियम हुन्छन् । कमान्डरको बहसहीन आदेश नै जीवन हो । सुरक्षा र आक्रमणको पहल हो । कमान्डरले सबैतिर नियालेको हुन्छ र सबै सूचना उहीसँग हुन्छ । कमरेड आनन्द अर्थात् डिलाराम ओली आजका हाम्रा कमान्डर हुन्् । उनैलाई दुश्मनको घनीभूत क्षेत्रबाट जोगाउँदै लालक्षेत्रमा पु¥याउने जिम्मा छ । कमरेड आनन्द रुकुमबाट बाँके झरेपछि २०४७ मा पार्टी सम्पर्कमा ल्याउन खड्गबहादुर बुढा, टीकाजङ्ग सिंह, कुँवेर ओलीसँगै उनको गाउँ महादेवपुरी, ढकेरीमा पुगेका थियौँ । अशोक रोकायकै घरमा ओलीसँग मेरो पहिलो भेट भएको थियो ।
ओली र अशोक जनयुद्ध प्रारम्भिककालमै भूमिगत भए । ओली कमरेडसँग व्यावहारिक सँगत गरिसकेकाले कर्म र मर्म एउटै राख्ने स्वभावका यी पूर्वमास्टर साहेबको खरोपनादेखि परिचित छु नै । आज उनले नै दुश्मनको घना एरियाबाट कटाएर सुरक्षित ठाउँ पु¥याउनु छ । यो ठाउँबाटै डेढसय वर्ष पहिला भारतीय स्वतन्त्र संङ्ग्रामका गदरले बाटो काटेका थिए हामीजस्तै । यही बाटो हो … नाना राव दुन्दु पन्त र बेगम हजरत महलले छिचोलेको । सदाका लागि निदाउन नचाहेरै त हो जागेको । यात्रामा लम्केको । असल बाउ बन्न नसकेर छोडेका सन्तान, अँगालाभरिकी श्रीमती, वृद्धा बाबा आमा, भर्भराउँदो कारोबार, सहरिया सम्पन्न् उपभोगको जीवन सबै छोडेर सपना देख्दै ‘बौलाएको‘ थिएँ म पनि । कमरेड आनन्दका भनाइमा दार्शनिक सार्वभौम पक्ष छ । जो जाग्न चाहँदैनन्, ती सधैँँ निदाइरहेका हुन्छन् । निदाइरहनुपर्ने हुन्छ । हरेक मान्छेका लागि “जब जागे, तब सबेरा” हुन्छ । धेरै मान्छेहरू जाग्न भनेपछि आत्तिन्छन् । जागेको मान्छेले आँखा खोल्छ, सबै कुरा देख्छ । दृष्टिकोण पलाउँछ, बनाउँछ र जीवनलाई नयाँ बाटोमा हिँडाउँछ । नेतालाई मालिक हैन्, अगुवा साथी सोच्दछ, आफैँँँसहित सामाजिक मुक्ति उसका सपना, सक्रियता बनेर भूमिकामा देखिन्छन् । जो मान्छे जाग्छ, सो निदाउन सक्दैन । जागेका मान्छेका शक्ति अनौठो हुन्छ, दुनियाँलाई आफ्नै एजेन्डामा हिँडाउन । बुद्ध जागेका थिए, ख्रिस्ट ब्युँझेका थिए, महोम्मदले नौलो सन्देश सुनेका थिए । कबिर जागेका थिए, मेरो पछाडि आउनेहरू घर पोलेर मात्र आऊ भन्थे, मरकस बाबा भन्थे गुमाउनका लागि हत्कडी पाउनका लागि संंसार सोच्नेहरू कमनिस बन् भन्थे । दृष्टिकोण सम्पन्न् मान्छेका आफ्नै यात्राका बाटा हुन्छन् । बाटो नभए आफैँँँले बाँझो धरती कुल्चेर डोब छोड्दै लम्कन्छन् । त्यसलाई पछ्याउने पछुवाहरू हुन्छन् नै । आनन्दका भनाइसँगै मेरो निन्द्रा पनि कुलेलम ठोक्यो । जिन्दगी आशा, सपना र आदर्शको पछ्याइ हो, कामले, वासनाले, मोहले, लोभले वाधा दिन्छ, । महासमरका यात्रीहरू त्यही वाधा छिचल्दै अघि बढेका हुन्छन् । हो, आनन्द तिमी पनि घर पोलेर आफ्नै लागि कात्रो र घारो बोक्दै महासमरयात्री बनेका थियौँ ।
नजान्नु जस्तो कुरा केही नहुने रहेछ । हामीले थाहा नपाउँदै हुनुपर्ने र हुन् जाने घटनालाई कुनै असर पर्दाे पनि रहेनछ । जब मान्छेले थाहा पाउँछ तब ऊ झल्याँस्स हुन्छ । कुनै दुर्घटना कर्णाल फुक्दै आउने पनि हैन्, सचेत भइयो भने त्यसलाई टार्न पनि सकिन्छ । हिजो आफ्नै लापरवाही र कमान्डरले संवेदनशील नाका काटिसकेपछि सुनाएको घटनाले त जिउँ सिरिङ्ग पो पा¥यो । मलाई सुत्न सधैँँ अग्लो सिरानी हुनुपर्छ । नपाए जेलाई पनि सिरानी बनाउनुपर्ने । हिजो आफ्नै लजेस्टिक झोलालाई सिरानी बनाएर भातेनिन्द्रामा सुतेको निदाइछु तर त्यसभित्र के छ ? भन्ने भुसुक्कै बिर्सिछु पो ! बिर्सने, हेलचक्र्याइँ गर्ने छुट युद्धमा कसैलाई पनि हुँदैन । झोलामा त ग्रिनेड पो रहेछ । हरेक माओवादी पिएलए हुनुपर्ने । आफ्नो सुरक्षाको हतियार र सजग स्वयम्ले हुनुपर्ने । छिनछिनमै परिस्थिति फेरिइरहने । स्वयम् सिर्जनशील भएन भने रक्षा हुन् नसक्ने । मृत्यु बनेको ग्रिनेड सिरानी राखेर रातभरि सुतिएछ पो । त्यस्तो अवस्थामा ग्रिनेड विस्फोट भएर आन्तरिक दुर्घटना हुन् सक्थ्यो । लापरवाही र अज्ञानताले घट्ने त्यस्ता घटना जनयुद्धमा धेरै घटेका पनि छन्् तर कुन संयोगले केही भएनछ । पछि सबै साथीहरू आतङ्कित भए । अर्काे थियो, दुश्मन नजिकै आउन थाल्दा अर्काे कुनै घटनाका कारण कुसुमबाटै फर्केछ ।
धेरै दिनदेखि बस देख्न पाएको छैन, रुट क्लिएर रहेछ, कुसुमदेखि ठुरियासम्म बसयात्रा । ओहो बस ! बसको यात्रा । सजगता, सूचना र सुरक्षा … । साँच्चै जनयुद्धले सञ्चारपोस्ट हुँदै समरयात्रा गरिरहेको छ । कुसुम नाका सकुशल काटिएर ठुरिया हुँदै अहिले हामी सल्यान घुइँयाबारीमा पुगेका छौँ । डायरीका पानामा लेखिएको सातसय वर्ष पहिलाको फारसी कवि जलाल्लुदिन रुमीको कविता पढ्दैछु । हो कविताले सबैलाई सपना देखाउँदै जीवनका यात्रा तय गर्न हौँस्याउँछ र विचार पक्रन उक्साउँछ पनि । यी इरानी कविका कविताले थकित मेरो शरीरलाई सुत्न दिएको छैन । “म अवश्य उड्छु । मेरो जन्मै सम्भावनासहित भएको थियो । मेरो जन्म असल र भरोसाको सँगै भएको थियो । मेरो जन्म विचार र सपनासँगै भएको थियो । मेरो जन्म महानताको सँगै भएको थियो । मेरो जन्म आत्मविश्वाससँगै भएको थियो । मेरो जन्म पखेँटासँगै भएको थियो । त्यसैले म घस्रनको लागि बनेको हैन । म उड्नेछु र उड्छु ।” हो रुमी, तिमी १३ औँ शदीमा जन्म्यौ र एक्कासौँ शदीका मान्छेलाई सपना देख्न ललर्कायौ मलाई पनि “पागल” बनायौ । तिम्रो अर्काे कविता पढ्छु, चिच्याएर र मेरा सहयात्रीलाई सुनाउँछु । “म माटोजस्तै मरीँ र बिरुवाजस्तै उम्रीँ । बिरुवाजस्तै मरीँ र पशुजस्तै जन्मीँ । पशुजस्तै मरीँ र मान्छेजस्तै जन्मीँ । मर्नदेखि किन डराउने ? म मान्छे जसरी मर्छु र देवदूतजस्तै जन्मन्छु । हरेक मृत्यू नयाँ उचाइ लिएर आउनेछ । जब म देवदूत जसरी मर्नेछु, कसैले पनि कल्पना गर्नेछैन, म फेरि कसरी सामुन्ने आइपुगौँला ।” रुमी सपना देखाउँछन् र अथाह सम्भावनालाई पछ्याउन ललर्काछन् । न आशा, न सम्भावना छोड्नुहुन्छ, न त सपना देख्न । हो पक्कै हो, रुमी जाग्ने मान्छेले सपना देखेरै यात्रा तय गरेको हुन्छ । हामीलाई सकुशल बाटो कटाएका आदर्शपुरुष डिलाराम ओली, आनन्द भने केही समय नबित्दै युगीन स्वप्नद्रष्टाको अन्त गरेर व्यवस्था धान्दछु भन्ने दुष्टको जालोमा त्यही अमुवा २०५८ पुस १३ मा कुसुम बाँकेमा परेछन् ।
केही मान्छेहरू मलाई आनन्दलगायत जनयुद्धका सहिद बिर्सिदे भन्ने फर्मान जारी गर्छन्, सहिदलाई सम्झनु उनीहरूलाई गिज्याउनु हो अरे ! सपना नदेख्ने, स्पार्टाकस, चे गोएभारा, चारु मजुमदार र कमरेड ीितको कथावाचन नगर भन्ने हुकुम दिन्छन्, नत्र तेरो भविष्य छैन् भनेर चुनौती दिन्छन् कमरेड क्लिनहरू । म भने कमरेड क्लिनको भजन हैन रुमीको कविता पढ्छु स्पार्टाकस, चे, चारु र जितहरूको गीत गाइरहनेछु, सपनाका कथावाचन गरिरहनेछु । आज पक्कै हो … अत्यन्तै कोलाहलपूर्ण अँध्यारो छ, जूनकिरीका उज्यालामा बाटो खोज्दै हिँड्नेहरू भोलि उज्यालो हुन्छ र जता उज्यालो हुन्छ, पथराहीको बाटो त्यतै हुइँकिन्छ भन्ने मान्यता राख्छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु