सहमतीय सरकार गठनको समयसीमा सकिँदै

२०७२ आश्विन २१ गते, बिहीबार

काठमाडौं, २१ असोज । राष्ट्रपति डा. रामवरण यादवले सहमतीय सरकार गठनको लागि दिएको समयसीमा आज सकिँदैछ । तर सहमतीय सरकार गठनको सम्भावना नभएपछि दलहरु बहुमतीय प्रक्रियामार्फत धेरै भन्दा धेरै दलको समर्थनमा सरकार गठनको कसरतमा जुटेका छन् । सहमतीय सरकार गठनको लागि व्यवस्थापिका संसदमा रहेका सबै दलको सहमति र समर्थन चाहिन्छ । तर मधेस केन्द्रित दलहरु आन्दोलनमा रहेका कारण सबै दलको सहमति जुट्ने अवस्था छैन । त्यसैले बहुमतीय प्रक्रियाबाट अधिकतम सहमति खोज्ने प्रयासमा दलहरु जुटेका हुन् ।
सरकारको नेतृत्वबारे दलहरुबीच मतभेद छ । एमालेले पहिले भएको अनौपचारिक सहमति अनुसार आफूले नेतृत्व पाउनुपर्ने बताउँदै आएको छ भने कांग्रेसले यस्तो सहमति नभएको दाबी गर्दै आएको छ ।
एकीकृत माओवादी भने सहमति अनुसार एमालेले नेतृत्व पाउनुपर्ने पक्षमा छ । नयाँ सरकार गठनको लागि शुक्रबारदेखि बहुमतीय प्रक्रिया सुरु हुनेछ । शुक्रबार नै व्यवस्थापिका संसदको बैठक पनि बोलाइएको छ ।

प्रतिक्रियाहरु