सर्वोच्च अदालतद्वारा मुद्धाको सुनुवाइ स्थगन

२०७६ चैत्र ७ गते, शुक्रबार

काठमाडौं , ७ चैत । सर्वोच्च अदालतले कोरोनाको सम्भावित संक्रमणबाट बच्न पूर्ण बैठक बस्ने तय गर्दै आज मुद्दाको सुनुवाइ स्थगन गरेको छ । सर्वोच्च अदालतका अनुसार कोरोनाको सम्भावित संक्रमणलाई न्यूनीकरण गर्ने उपायका बारेमा प्रधानन्यायाधीशसहित सम्पूर्ण न्यायाधीशको पूर्ण बैठक बस्ने तय भएको हुनाले आजको सुनुवाइ स्थगन गरेको हो बैठकले अदालत बन्द गर्ने वा अति आवश्यक बाहेक अरु बन्द गर्ने भन्ने विषयमा निर्णय गर्नेछ । यही चैत ४ मा नेपाल बार एशोसिएसनले विश्वभरी नै कोरोना फैलिरहेको अवस्थामा अत्यावश्यक कामबाहेक अन्य सेवा प्रवाह नगर्ने निर्णय गर्न सर्वोच्च अदालत समक्ष अपिल गरेको थियो । बारले विज्ञप्तिमा मानव स्वास्थ्य जस्तो संवेदनशील विषयमा गम्भीर भई कम्तीमा एक महिना सेवा प्रवाहमा कटौती गर्न अपिल गरेको थियो ।
अदालतले नियमित परीक्षण गरेर मात्र सेवा प्रवाह गर्न सुरु गर्ने व्यवस्था मिलाउनुपर्ने वा उक्त व्यवस्था गर्न नसकिएमा बन्दी प्रत्यक्षीकरणको अत्यावश्यक बाहेकको सेवा प्रवाह नगर्ने निर्णय गर्न बारले अपिल गरेको हो । अदालतसँग धेरै सेवाग्राहीको भीडभाड हुने र भीडभाडमा कोरोनाको संक्रमणको सम्भावना हुने हुँदा संक्रमणको सम्भावनालाई न्यूनीकरण गर्न माग गरिएको थियो । सर्वोच्च अदालत बार एशोसिएसनले यही चैत ४ गते नै आकस्मिक बैठक बसी कोरोना भाइरसको जोखिमलाई ध्यानमा राखी कम्तीमा तीन साताका लागि अदालत बन्द गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु