सर्वोच्चको अबज्ञा, असलको बन्दी प्रत्यक्षीकरण रिटमाथि बहस दशैंपछि

२०७५ आश्विन २५ गते, बिहीबार

काठमाडौं. २४ असोज । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का ‘असल’लाई सर्वोच्च अदालतले लिखित जवाफसहित ३ दिनभित्र उपस्थित गराउन दिएको आदेशलाई सरकारले लत्याएको छ । खड्कालाई बिनाकारण पक्राउ गरी गैरकानूनी थुनामा राखेको भन्दै तत्काल रिहाईको माग गर्दै दुर्गाप्रसाद जैसीले दायर गरेको रिटमाथि बहसपछि सर्वोच्चले लिखित जवाफसहित बन्दीलाई ३ दिनभित्र अदालतमा उपस्थित गराउन सरकार, गृहमन्त्रालय, मकवानपुर जिप्रकालगायत विपक्षीहरुको नाममा यही असोज १५ गते सोमबार आदेश दिएको थियो । खड्कालाई तोकिएको समयमा उपस्थित नगराएर सरकारले आदेशको उल्लंघन गरेको रिट निवेदकले जैसीले बताए । जैसीले रिट निवेदन असोज १४ गते दायर गरेका थिए ।
यसैबीच ‘असल’लाई बन्दी प्रत्यक्षीकरण रिट निवेदनमाथिको बहसमा उपस्थित गराउन बुधबार सर्वोच्च अदालतमा ल्याइपुर्याइएको थियो । तर दशैं बिदा शुरु भइसकेकोले बहसै नगराई फिर्ता पठाइएको छ । बिदा भएकोले बन्दी खडका हाजिरी समेत हुन सकेनन । यसबाट बन्दीलाई सर्वोच्च अदालत ल्याएको भन्ने कुनै रेकर्ड पनि रहने छैन ।
भैरहवा जिल्ला अदालतले असोज ४ गते रिहा गरेलगत्तै पुनः गिरफ्तार गरी खडकालाई मकवानपुरको पालुङमा बसमा आगजनी गरेको अभियोगमा मकवानपुर प्रहरीको जिप्रका हिरासतमा असोज १० गतेदेखि राख्दै आएको छ । उनलाई बिनाकारण गैरकानूनी थुनामा राखेको भन्दै रिहाईको मागसहित दुर्गाप्रसाद जैसीले असोज १४ गते सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट निवेदन दायर गरेका थिए ।
सोही रिटमाथिको बहसपछि भोलिपल्ट १५ गते न्यायाधीश चोलेन्द्र शमसेर बजराको एकल इजलासले बन्दी खडकालाई ३ दिनभित्र अर्थात असोज १८ गते बिहान १० बजे पक्राउ गर्नुको लिखित जवाफसहित अदालतमा उपस्थित गराउन सरकार, गृहमन्त्रालय, मकवानपुर प्रहरी, अदालतलगायत विपक्षीहरुको नाममा आदेश दिएको थियो ।
तर आदेशको उल्लंघन गर्दै १० दिनपछि मात्र बन्दी खडकालाई बुधबार सर्वोच्च ल्याइएको हो । दशैं बिदा शुरु भइसकेको जनाउँदै सर्वोच्चले आगामी कार्तिक ८ गते पेशीका उपस्थित गराउन पत्र जारी गरेपछि मकवानपुरै फिर्ता गराइएको हो । उनलाई ७ जनाको प्रहरी टोलीले ना १ झ ३१११ नम्बरको निलो रंगको महिन्द्र कम्पनीको पिकअप भ्यानमा राखेर फिर्ता लगिएको छ । साथै सर्वोच्च अदालतको आदेश उल्लंघन गरेको भन्दै सरकारको चौतर्फी चर्को आलोचना भएको छ । ईन्चार्ज खडकालाई चितवन, धादिङ हुँदै पृथ्वी राजमार्ग भएर आजै बिहान ९ बजे काठमाडौं ल्याइएको थियो ।
खडकालाई यही असोज ४ रुपन्देही जिल्ला अदालतले धरौटी लिई रिहा गर्न आदेश दिएपनि लगत्तै खड्कालाई प्रहरीले पसनः गिरफ्तार गरी असोज १० गते मकवानपुर पुर्याएको थियो । मकवानपुरमा प्रहरीले खडकालाई साउन २९ गते पालुङमा बसमा आगजनी गरेर ‘संगठित अपराध’ गरेको कसुरमा मुद्दा चलाइएको छ ।
पार्टी कामको सिलसिलामा सार्वजनिक यातायात चढेर काठमाडौं आउँदै गर्दा गत भदौ ५ गते बेलुका धादिङको नौबिसेबाट सादा पोशाकका डेढ दर्जन सीआईबी प्रहरीको टोलीले गिरफ्तार गरेको थियो । त्यसपछि ७ गते बुटवल लगिएको थियो । त्यहाँ ‘बम विष्फोट’को मुद्दा चलाइएको थियो ।
गिरफ्तारपछि झण्डै २४ घण्टा बेपत्ता बनाई चरम शारीरिक र मानसिक यातना दिई भोलिपल्ट ६ गते महानगरीय प्रहरी परिसर टेकुबाट सार्वजनिक गरिएको थियो । त्यसको भोलिपल्ट ७ गते बिहान आन्तरिक उडानबाट बुटवल लगिएको थियो । त्यहाँ उनलाई ‘बम विष्फोट’को अभियोगमा मुद्दा चलाइएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु