सर्पदंशको औषधि अप्रयाप्त

२०७२ असार २१ गते, सोमबार

काठमाडौँ, २१ असार । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले वर्षा र गर्मीसँगै तराईका जिल्लामा सर्पदंशका बिरामी बढ्दै गएको बताएको छ । हरेक दिनजसो सर्पदंशका बिरामी कुनै न कुनै अस्पताल पुग्ने गरेका महाशाखाले जनाएको छ । तर सर्पदंशका बिरामी बढ्दै गए पनि यस विरुद्धको औषधि भने आवश्यकता अनुसार सरकारसँग छैन । झण्डै अबको एक महिनालाई पुग्ने औषधि भएपनि त्यसपछि भने अभाव देखिने महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीले बताए ।
सर्पदंशको औषधिका लागि भारतकै भर पर्नुपर्ने बाध्यता छ । तर त्यहाँको सर्वोच्च अदालतले विदेश निर्यात गर्ने गरी उत्पादन गर्न गराउन रोक लगाएपछि अहिले औषधि ल्याउने टेण्डर प्रक्रिया पनि रोकिएको छ । त्यहाँका पशु अधिकारकर्मीले हालेको रिटमा सर्वोच्चले सुनुवाई गर्दै स्वदेशमा मात्रै पुग्ने औषधि उत्पादन गर्न आदेश दिँदा नेपालमा आयात हुन नसकेको मरासिनीले बताए ।
उनका अनुसार सर्पदंश विरुद्धको औषधि घोडामा लगाएर परीक्षण गरिन्छ । यो औषधिले घोडामा असर पर्ने भन्दै भारतका पशु अधिकारकर्मीले सर्वोच्चमा रिट हालेका थिए । गर्मीमा जमीन तातेसँगै सर्प बाहिर निस्कने र वर्षाको सिजनमा खेतबारीमा काम पनि धेरै गर्नुपर्ने भएकाले सावधानी अपनाउन डाक्टरहरुको सुझाव छ ।
तराईका २६ जिल्लाका बासिन्दा सर्पको जोखिममा छन् । हरेक वर्ष २० हजार जनालाई सर्पले डस्ने गरेको र त्यसमध्ये १ हजारको ज्यान जाने गरेको सरकारी तथ्यांक छ ।

प्रतिक्रियाहरु