सरिता गिरी पदमुक्त !

२०७७ असार २५ गते, बिहीबार


काठमाडौं, २५ असार । संघीय संसद सचिवालयले समाजवादी पार्टीकी सांसद सरिता गिरीको सांसद पद रिक्त भएको जनाएको छ । संसदका महासचिव भरतराज गौतमले सांसद गिरीलाई पार्टीले पार्टीबाट निष्कासन गरेको जानकारी संसद सचिवालयलाई जानकारी गराएको र उक्त जानकारी नियमअनुसार नै पाइएकाले उनको सांसद पद रिक्त भएको सूचना जारी गरेका हुन् ।
पार्टीको निर्देशन विपरीत लिम्पियाधुरासहितको भूभाग समेट्ने गरी भएको संविधान संशोधन प्रस्तावलाई सच्याउनु पर्ने भन्दै संशोधन दर्ता गरेको र राष्ट्रहित विपरीत अभिव्यक्ति दिएको भन्दै उनलाई समाजवादीले सांसद र पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो । समाजवादी पार्टीकी नेतृ गिरी खस आर्यको कोटाबाट समानुपातिक तर्फकी सांसद थिइन् ।
सचिवालयले समाजवादीको समानुपातिक तर्फ एक सिट खाली भएको जानकारी गराएपछि निर्वाचन आयोगले समाजवादीको बन्दसूचीबाट सो पदमा नयाँ सांसद निर्वाचित भएको घोषणा गर्नेछ । समाजवादीका नेताहरुका अनुसार खसआर्यको कोटाबाट अव झापाकी लिला सिटौला प्रसाईं समानुपातिक सांसद निर्वाचित हुनेछिन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु