सरस्वती क्लबका पूर्वकप्तान चोरीको आरोपमा पक्राउ

२०७५ बैशाख ६ गते, बिहीबार

काठमाडौं , ६ वैशाख । सरस्वती युथ क्लबका पूर्व कप्तान दिपेश श्रेष्ठ चोरीको आरोपमा पक्राउ परेका छन् । मोबाइल, ल्यापटप लगायतका सामग्री चोरी गरेर विक्री वितरण गर्ने कारोबारी सक्रिय रहेको सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले श्रेष्ठलाई पक्राउ गरेको हो । काठमाडौं–६, रेम्बोडाँडाबाट बाच्छो भनिने सुवास खड्कालाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा श्रेष्ठले चोरीको सामान आफ्नो कोठामा लुकाएर राख्ने गरेको खुलेको प्रहरीले बताएको छ । त्यसलगत्तै खनतलासीका क्रममा श्रेष्ठको कोठाबाट विभिन्न ब्रान्डका ३३ वटा मोबाइल, दुई वटा आइफोन, ३ वटा पावर बैंक, सोनी कम्पनीको ३२ इन्जको टिभी एक थान, ५ वटा ल्यापटप लगायतका सामग्री बरामद भएको छ ।
हाल प्रहरी हिरासतमा रहेका श्रेष्ठले चोरीमा संलग्न भएको स्वीकार गरेका छन् । सुवाससँग एक वर्षदेखि चिनजान रहेको र साथीकै लहैलहैमा लागेर चोरी गरेको उनले बताएका छन् । चोरीका सामानहरु फेसबुक ग्रुप र अनलाइन किनबेच गर्ने वेवसाइटमार्फत विक्री वितरण गर्दै आएको बयान दिएका छन् ।
पक्राउ परेका दुवै जनामाथि मुलुकी ऐनको चोरीको महल बमोजिम सजाय हुने परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरेलले जानकारी दिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार