सरकार, रमिता नदेखाउ

२०७३ चैत्र २६ गते, शनिबार

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारको बागडोर सम्हालेको लगभग नौ महिना पूरा हुन लाग्यो । योबीचमा सरकारले कुनै उल्लेख्य काम गर्न सकेको देखिँदैन । प्रधानमन्त्रीले सुशासनका निम्ति दर्जनौँ निर्देशनहरु दिएको सार्वजनिक भयो । तर, ती निर्देशनहरुको कार्यान्वयन र पालना भएको सुन्न र देख्नमा आएको छैन । बरु, सरकारको पछिल्लो चरणको कार्यशैली हेर्दा आमस्वाभिमानी नेपाली जनताले लाजले शिर निहुराउनु पर्ने स्थिति आइरहेको छ । प्रधानमन्त्री प्रचण्डको निर्णय शक्तिको अभावमा नै यस्तो स्थिति आएको आमसचेत नागरिकको ठम्याई छ । प्रधानमन्त्री प्रचण्डले दिएको दर्जनौँ निर्देशनहरुको कार्यान्वयन भएका छैनन् तर उनी मौन छन् । प्रधानमन्त्री प्रचण्ड चीन भ्रमण जाँदा मन्त्रिपरिषद्मा वरियताक्रम मिलाउन नसकेर कार्यवाहकसमेत तोक्न नसकी भ्रमण सकेर फर्किए । यही वरियताको विषयले लगभग महिना दिनदेखि मन्त्रिपरिषद्को बैठक बस्न सकेको छैन । तर, पनि प्रधानमन्त्री मौन र शान्त देखिन्छन् । स्थानीय चुनाव आउन अब लगभग महिना दिन बाँकी छ, कति चरणमा, कसरी निर्वाचन गराउने वा निर्वाचन नै हुने नहुने टुङ्गो लाग्न सकेको देखिँदैन । यी सबै कुरा हेर्दा यो सरकार देश र जनताको हितमा काम गर्न होइन, रमिता देखाउन मात्र तल्लिन रहेको पुष्टि हुन्छ । देश र जनताको पक्षमा काम गर्ने कसम खाएर सरकारमा पुगेकाहरुले यस्तो घृणित काम गर्न तत्काल बन्द गर्नुपर्छ । देश र जनतालाई गुमराहमा राखी आफ्नो दुनो सोझ्याउन पल्केका सत्तासीनहरुलाई अब नेपाली जनताले त्यतिकै छाड्ने छैनन् । तसर्थ, सरकारमा बसेर रमिता देखाउने काम तत्काल बन्द गर, अन्यथा जनता जाग्ने छन् । जनता जागे के हुन्छ, त्यो अहिलेका सत्तासीन दल र नेताहरुलाई सम्झाइरहनु नपर्ला ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु