सरकारी समिति र संघीय लिम्बूवान राज्य परिषदबीच वार्ता जारी

२०७१ श्रावण १२ गते, सोमबार


काठमाडौ, १२ साउन । संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमातहतको पारम्भिक वार्ता उपसमितिले पूर्वी पहाडमा सशस्त्र गतिविधि सञ्चालन गर्दै आएका भूमिगत समूहसँग आज पनि वार्ता गर्दै छ ।
हिजो पहिलो चरणमा ८ मध्ये ४ समूहसँग वार्ता गरेको उपसमितिले आज ४ समूहसँग वार्ता गर्न लागेको हो । इलाममा हुने वार्तामा आज मञ्च सम्वद्ध संघीय लिम्बूवान राज्य परिषद्, सञ्जुहाङ पालुङवा नेतृत्वको संघीय लिम्बूवान राज्य परिषद्, पल्लो किराँत लिम्बूवान राष्ट्रिय मञ्च र खम्बुवान मुक्ति मोर्चा संयुक्तसँग वार्ता गर्न लागेको हो ।
काँग्रेस सभासद आनन्दप्रसाद ढुंगाना नेतृत्वको उपसमितिले आइतबार किराँत जनवादी वर्कर्स पार्टी (अनन्त समूह), स्टेट फोर्स लिम्बूवान, संयुक्त जातीय मुक्ति मोर्चा (देवराज लामा समूह) र किराँत जनवादी वर्कर्स पार्टी विद्रोही समूहसँग वार्ता गरेको थियो ।
इलाम सदरमुकाममा सुरु वार्तामा ती समूहले सशस्त्र गतिविधि त्यागेर शान्तिपूर्ण राजनीतिमार्फत संविधान निर्माणमा सघाउने प्रतिबद्धता जनाएका थिए ।संविधानसभा बाहिर र भित्र रहेका दलसँग सुझाव संकलन गर्दै संविधान निर्माणमा अधिकतम सहमति जुटाउने प्रयासमा उपसमितिले वार्ता थालेको हो ।
उपसमतिले यसपछि तराईमा सशस्त्र भूमिगत गतिविधि गर्दै आएका विभिन्न समूहसँग जनकपुर र नेपालगञ्जमा वार्ता गर्नेछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु