सरकारी वेवसाइट ह्याकरको कब्जामा

२०७० श्रावण २ गते, बुधबार

काठमाडौं, २ साउन । विभिन्न देशका ह्याकरहरुको समूहले नेपाल सरकारका विभिन्न वेवसाइट मंगलबार राती ह्याक गरेको छ । नेपाल सरकार उद्योग मन्त्रालयको वेवसाईट www.moi.gov.np ह्याक गरेर साउदी अरेबियाका ह्याकरहरुले नेपाललाई गाली गरेका छन् ।उनीहरुले साइबर सुरक्षामा चुनौती दिँदै धार्मिक प्रचार समेत गरेका छन । त्यस्तै स्वास्थ्य मन्त्रालय अन्तरगत इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, उद्योग विभाग, भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रलगायतका वेवसाइट ह्याक भएको छ ।ह्याकरहरुले डडेलधुरा, दैलेख, इलाम, दाङ, कास्की, रसुवा, सप्तरी, तनहुँ, म्याग्दीलगायतका जिल्लाका जिल्ला विकास समितिका वेवसाइट समेत ह्याक गरेका छन । उद्योग मन्त्रालयका सह प्रवक्ता छविन्द्र पराजुलीले ह्याक बारेमा आफूलाई कुनै जानकारी नभएको बताउनुभयो । उहाँले कार्यालय समयपछि मात्रै आफूले यसबारेमा बुझ्ने बताउनुभयो । अवैधानिक रुपमा गोप्य सूचना, जानकारी वा त्यहाँ भएका महत्वपूर्ण तथ्याङ्कहरु चोरी गर्न अहिले ह्याकरले नेपाल सरकारका वेवसाइटलाई निसाना बनाएका छन् । ह्याकरले चालु अवस्थामा रहेका वेवसाइट वा इमेलको सुरक्षा प्रणालीमा भएको कमजोरी पत्ता लगाएर यस्ता काम गर्छन् ।नेपालमा पछिल्लो समय नागरिकताको विवरण, कृषि, स्वास्थ्य, वातावरण, शिक्षा र अर्थलगायतका क्षेत्रको आधिकारीक तथ्याङ्क चोरी हुदा समेत सरकारले यस तर्फ कुनै चासो दिएको छैन । ह्याकरहरुले नेपाली वेवसाइटलाई यसअघि पनि पटक पटक निशाना बनाउँदै आएका थिए ।

प्रतिक्रियाहरु