सरकारी गाडीमाथि प्रतिबन्ध !

२०७६ श्रावण ३ गते, शुक्रबार


काठमाडौं, २ साउन । नेपाल कम्युनिस्ट पार्टीले यहि मंगलबार ( साउन ७ गते )देखि सेतो नम्बर प्लेट (सरकारी गाडी)का सम्पूर्ण गाडीहरु सडकमा गुड्न प्रतिबन्ध लगाउने घोषणा गरेको छ । सो पार्टीका मध्य पश्चिम कमाण्ड इन्चार्ज वीरजंगले बुधबार विज्ञप्ति जारी गर्दै मुक्तिकामी श्रमजीवी जनताको पार्टीलाई प्रतिबन्ध लगाउने, नेता कार्यकर्ता हत्या गर्ने, हिरासतमा राखि यातना दिने तथा शान्तिपूर्ण भेला सम्मेलनहरु गर्न नदिने राज्यको कदमका विरुद्ध सो प्रतिबन्ध लगाउने घोषणा गरेको बताएका छन ।
मध्य पश्चिम कमाण्ड इन्चार्ज वीरजंगले विज्ञप्तिमा भनेका छन्, ‘हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी एकीकृत जनक्रान्तिको वैज्ञानिक कार्यदिशाको सफल कार्यान्वयनका साथ अगाडि बढिरहेको छ । यस प्रक्रियामा प्रतिक्रियावादी सत्ता र जनसत्ता बीचको मोर्चाबन्दी झन् कसिलो बन्दै गइरहेको छ । राजनीतिक लडाइँको मोर्चामा हारेको विरोधी सत्ताले हाम्रा नेता कार्यकर्ताहरुलाई गैरन्यायिक गिरफ्तारी, दमन, यातना तथा हत्यासम्मका घटनाहरु घटाएको छ । यसरी हत्या आतङ्क, गिरफ्तारी, दमन र बलात्कारसम्मले पनि आन्दोलनलाई ठेगान लगाउन नसकेपछि बार्ताको भ्रमपूर्ण बकवास गोयबल्स शैलीमा फैलाएको छ र थप दमनको तयारी गरिरहेको छ ।’
विज्ञप्तिमा वीरजंगले भनेका छन्, ‘यता जनताको गाउँ–गाउँमा सिंहदरवारको नारामा गठित कथित सरकारद्वारा चर्को कर असुल्ने र जनतामाथि नै दमन अभियान संचालन गरेर जनपक्षीय आवाजहरुलाई बन्द गर्ने, उता कथित जनप्रतिनिधिहरु नै ठेक्का पट्टामा सामेल हुने, आफ्नै टिप्पर, ट्रक, ट्याक्टर र स्काभेटर प्रयोग गर्दै राज्यको सम्पत्ति दोहन गरिरहेका छन् । साथै कतिपय कथिन जनप्रतिनिधिहरु नै जनहत्यारा अभियानमा सुराकीको भूमिका खेलिरहेको हुनाले हाम्रो पार्टीले आगामी दिनमा ती सबै हर्कतहरु बन्द गर्ने निर्णय गरेको छ । मुक्तिकामी श्रमजीवी जनताको पार्टीलाई प्रतिबन्ध लगाउने, नेता कार्यकर्ता हत्या गर्ने, हिरासतमा राखि यातना दिने तथा शान्तिपूर्ण भेला सम्मेलनहरु गर्न नदिने राज्यको कदमका विरुद्ध आगामी २०७६ साउन ७ गतेदेखि सेतो नम्बर प्लेटका सम्पूर्ण गाडीहरु सडकमा गुड्न प्रतिबन्ध गरिएको छ । उक्त निर्णयका विरुद्ध जनविरोधी कार्य गरे र गराएमा जनताले नियन्त्रणमा लिई कारवाही चलाउने कुरा जानकारी गराउँदै पार्टीका सम्पूर्ण नेता कार्यकर्ताहरु सोही निर्णय अनुसार अगाडी बढ्नसमेत यो वक्तव्य मार्फत् जानकारी गराउँदछौं ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु