सरकारले फासीवादी शासन चलाउन खोजेको ठोकुवा

२०७५ कार्तिक ३० गते, शुक्रबार

काठमाडौं, ३० कार्तिक । अधिकारकर्मी, कानून व्यवसायी तथा संचारकर्मी, व्यवसायीहरुले सरकारले स्वतन्त्र प्रेसलाई खुम्च्याएर फासीवादी शासन चलाउन खोजेको भन्दै विरोध गरेका छन् । मानवअधिकार उल्लंघन र गैरकानूनी घटना सरकारबाटै भइरहेको भन्दै उनीहरुले गहिरो चिन्ता व्यक्त गरेका छन् । क्रान्तिकारी पत्रकार संगठन नेपालले शुक्रबार झापाको दमकमा आयोजना गरेको ‘मानवअधिकार र प्रेस तथा अभिव्यक्ति स्तन्त्रतता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले सरकारले मानवअधिकार र स्वतन्त्र प्रेसको विश्व मान्यतालाई कुल्चेर जनविरोधी र फासीवादी शासन चलाउन उद्यत रहेको बताए ।
संगठनको केन्द्रीय समितिको आयोजना भएको कार्यक्रममा कानूनी व्यवसायी अधिवक्ता राजन ढुंगानाले सरकार कम्युनिस्ट छ भन्न लाज मान्नुपर्ने स्थिति सरकारमा बस्ने मान्छेहरुले निर्माण गरेको टिप्पणी गर्दै भने ‘यस्तै रहने हो भने मुलुकमा छिट्टै एन्टी कम्युनिस्टको दिन आउनेवाला छ ।’
नेपाल पत्रकार महासंघका झापाका पूर्वाअध्यक्ष मोहनकाजीले सरकारले स्वतन्त्र प्रेसको विश्व मान्यतालाई कुल्चेर सभ्य र समृद्धि समाज निर्माणको अवसरलाई गुमाउँदै गएको बताए । त्यस्तै नेपाल कम्युनिस्ट पार्टी झापाका सेक्रेटरी सौगातले वर्तमान सरकार स्वेच्छाचारी र फासीवादी भएको भन्दै देशीविदेशी दलालहरुको कब्जामा सरकार फसेको बताए ।
फासीवादी सरकारकै कारण देशमा व्याप्त मात्रामा भ्रष्टाचार, हत्या, हिंसा, बलात्कार, महंगी राष्ट्रघातले तीव्रता पाइरहेको बताउँदै सेक्रेटरी सौगातले भने ‘त्यसैकारण नेकपाले जनताको आफ्नै सत्ता संचालनको यात्रामा लागिरहेको छ । जनताको सत्ता भनेकै वैज्ञानिक समाजवादी व्यवस्था हो । यसमा सबैले निसंकोच साथ दिनु्पर्छ ।’ दलाल संसदीय व्यवस्थामा नागरिकले सधैं मौलिक अधिकारबाट वन्चित हुनुपर्ने भएकोले यसलाई भत्काउन मिडियाले सशक्त भूमिका खेल्नुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटा, बुद्धिजीवि, संचारकर्मी, अधिकारकर्मी, महिला तथा सुरक्षा निकायका अधिकारीलगायतको सहभागिता रहेको छ । संगठनले हिजो मात्र मोरङको विराटनगरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको थियो । क्रान्तिकारी पत्रकार संगठन, नेपाल नेकपा निकट जनवर्गीय संगठन हो ।
गत असोज ४ गतेयता संगठनले सुदूरपश्चिमको कञ्चनपुरदेखि पूर्वको ताप्लेजुङसम्म करिब डेढ दर्जन स्थानमा अन्तरक्रिया गरिसकेको छ । आउने दिनमा यसलाई अन्यत्र स्थानमा पनि गर्दै जाने जनाइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु