सरकारको दिन गन्ति सुरु

२०७२ माघ ९ गते, शनिबार

काठमाडौँ । केपी शर्मा ओली नेतृत्वको सरकारले काम सुरु गरेको एक सय दिन नाघेको छ । सामान्यतः सरकार गठन भएको सय दिनलाई सरकारको हनिमुन पिरियडका रुपमा लिइने गरिन्छ । यो सरकार गठन भएका बेला मुलुक समस्या नै समस्यामा जेलिएको थियो । जनताले ठूलो अपेक्षा गरिरहेका बेला गठन भएको सरकारले आफ्नो हनिमुन पिरियडमा जनअपेक्षाअनुसार काम भने गर्न सकेन । यो अबधिमा जनताले अनुभुति गर्ने खालको कुनै उल्लेख्य काम हुन सकेन । हो ओली प्रधानमन्त्री हुनु अघिदेखिनै मधेस आन्दोलन र भारतीय नाकाबन्दी सुरु भइसकेको थियो । जे भए पनि देशमा भएका समस्या समाधान गर्ने जिम्मेवारी प्रधानमन्त्रीकै हो तर उनले त्यो पूरा गर्न सकेनन् । बिगतका तुलनामा भारतीय नाकाबन्दी केही खुकुलो हुँदै गएको छ, तर पनि आपूर्ति व्यवस्था सहज हुन सकेको छैन । सर्वसाधारणले सहज तरिकाले चाहे जति इन्धन पाउन सकेका छैनन् । जनताको दैनिकी चौपट बनेको छ, महँगी र कालोबजारी मौलाएको छ ।
प्रधानमन्त्री बनेदेखि नै केपी शर्मा ओलीले धेरै आश्वासन बाँड्दै आएका छन् । दुई वर्षभित्र तुइन विस्थापित गर्ने निर्णय गरेर काम सुरु गरेका प्रधानमन्त्री ओलीले एक वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने र घरघरमा पाइपलाइनबाट ग्यास पु¥याउनेसम्मका महत्वाकांक्षी योजना सार्वजनिक गरेका छन् । यो पुरा गर्न ओली सरकारको लागि फलामकै च्यूरा चपाउनुसरह छ । यी प्रतिबद्धता भाषाणमै सीमित रहने प्रबल सम्भावना देखिन्छ । तर, प्रधानमन्त्री केपी ओली, सरकारले अघि सारेका योजनालाई हावादारी गफ मात्रै भनेर विरोध गर्नु स्याल हुइँया मात्रै भएको बताउँछन् । नेकपा एमाले काठमाडौँ जिल्ला संगठन कमिटीको भक्तपुरमा भएको आवासीय प्रशिक्षणलाई गतबिहीबार सम्बोधन गर्दै ओली यस्तो बताएका हुन् । ओलीले सरकारले सक्ने भएर विभिन्न महत्वाकांक्षी योजना अघि सारेको बताएका हुन् । ‘एक वर्षमा लोडसेडिङ अन्त्य हुने गरी काम भइरहेको छ, हावा र सूर्यबाट बिजुली निकालिसक्यौं । हावाबाट बिजुली निकाल्छु भन्दा हावादारी गफ गर्नुको पनि हद हुन्छ भनेर उडाए । सबैतिरबाट विरोध भयो’, उनले भने, ‘यी सबै स्याल हुइँया हुन् । एउटाले ठाडो घाँटी लगाएर हुइँया भनेपछि सबैले त्यसै गर्छन् । अहिले त्यस्तै भएको हो । यो अस्वाभाविक होइन ।’ ओलीले एक वर्षभित्र देशभरका तुइन हटाइछाड्ने पुनः दोहो¥याए । प्रधानमन्त्री ओलीले विपक्षीहरुलाई आफ्नो नेतृत्वको सरकार लामो समय टिक्ला भन्ने डर बढिरहेको समेत बताए । उनले केपी ओलीले अलि बढी सरकार चलाए उद्युम मच्चाउँछन् भन्ने पीर पर्न थालिसकेको जिकिर गरे । ‘विपक्षीहरुलाई केपी ओलीको सरकारलाई ड्याम्मै ढाल्न पाए हुन्थ्यो भन्ने भइसक्यो’, उनले भने, ‘यो सरकार अलि बढी समयसम्म रह्यो भने उद्युम गर्छ भन्ने पीर पर्न थालिसक्यो । साँच्चै हामी हावादारी गफ गर्न होइन काम गर्न नै सरकारमा गएका हौं । हामीलाई जनताको हितमा काम गर्न नदिने षड्यन्त्र भइरहेको छ ।’ तर, प्रधानमन्त्री ओलीले जत्ति गुड्डी हाँके पनि जनता भने तथ्यगत विश्लेषण विनाका योजनालाई पत्याउन सकिरहेका छैनन् । प्रधानमन्त्रीका रुपमा केपी ओलीले कामभन्दा कुरा धेरै गरेको र प्रशासन संयन्त्र ध्वस्त पार्ने मात्र काम गरेको प्रमुख विपक्षी नेपाली काँग्रेसको आरोप छ भने सरकारमा सहभागी दल नै सरकारले आशातित काम गर्न नसकेको गुनासो गर्न थालिसकेका छन् । ओली नेतृत्वको सरकारले मधेस आन्दोलन र भारतीय नाकाबन्दीको सही निकास निकाल्न नसक्ने भन्दै राष्ट्रिय सरकार गठन हुनु पर्ने माग सत्ता पक्ष र विपक्ष दुबैले उठाउन थालि सकेका छन् । अब ओली सरकार भित्रभित्रै गुम्सिएको सत्ता पक्ष र विपक्षीको असन्तोष कुनै पनि बेला सार्वजनिक हुनसक्ने देखिएको छ । सरकारको प्रमुख साझेदार दल एमाओवादीका अध्यक्ष प्रचण्डले सार्वजनिक रुपमै ओलीको क्रियाकलापप्रति असहमति जनाइसकेका छन् । आफ्नो नेतृत्वमा राष्ट्रिय सरकार गठन हुने स्थिति आएमा प्रचण्ड तत्कालै ओलीलाई बिदा गर्ने सोचमा रहकोे बुझिन्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु