सरकारको दिनगन्ती सुरु

२०७३ बैशाख १८ गते, शनिबार

काठमाडौं, १८ बैशाख । एकीकृत नेकपा माओवादीको हालै सम्पन्न स्थायी समितिको बैठकले वर्तमान सरकारले प्रभावकारी ढङ्गले काम गर्न नसकेको निचोड निकाल्दै सरकारको विकल्प खोज्नुपर्ने निर्णय गरेको छ । उसले वर्तमान सरकार प्रभावकारी बन्न नसकेको र राष्ट्रिय एकताका लागि गम्भीररुपमा बहस चलाउने निर्णय गरेको बताएको छ । एमाओवादीले आपूmसहितको सरकारले राष्ट्रिय राजनीतिक समस्या हल गर्न चुकेको निष्कर्ष निकाल्दै अब राष्ट्रिय राजनीतिक एकताका लागि एमाले, काँग्रेससहित मधेशवादी दलहरुसँग पनि छलफल अगाडि बढाउने निर्णय लिएको छ । सरकारमा सामेल दल एमाओवादीको स्थायी समितिको बैठकले यस्तो निर्णय लिएपछि सरकार अप्ठ्यारो स्थितिमा पुगेको चर्चा राजनीतिक वृत्तमा चल्न थालेको छ ।
सरकारले अहिलेसम्म कुनै पनि ठोस कार्य गर्न नसकेको, भूकम्पपीडित, नाकाबन्दी, महँगी र कालोबजारीमा समेत मूकदर्शक बनेको विषय अहिले एमाओवदी वृत्तमा व्यापक बहसको विषय बनेको छ । सरकारमा सहभागी दलका नाताले एमाओवादीले पनि यसप्रति जवाफदेहिता देखाउनुपर्ने हो । एमाओवादीबाट सरकारमा सामेल मन्त्रीहरुले समेत सरकारमा रहेर राम्रो काम गर्न नसकेको भन्दै पार्टीभित्र चर्को आलोचना भइरहेको छ । यस्तो स्थितिमा अब एमाओवादी तमाम दोष एमालेमाथि थोपरेर सरकार ढाल्ने खेलमा लागेको राजनीतिक विश्लेषकहरुको ठम्याई छ ।
यता नेपाली काँग्रेसले पनि सरकार असफल भएको भन्दै सरकारविरुद्ध जाने संकेत गरिसकेको छ । काँग्रेसले संसद्को बैठक सुरु भएपछि आफ्ना स्पष्ट विषयहरु सरकारसमक्ष राख्दै संसद् अवरुद्ध पार्ने सोच बनाएको छ भने उता मधेशवादी दलहरु पनि राजधानी केन्द्रित आन्दोलन चर्काउने खेलमा लागेका छन् । यी सबै विषय र परिस्थितिलाई नियाल्दा वर्तमान सरकारको दिनगन्ती सुरु भइसकेको प्रष्ट देखिन्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु