सरकारको चौतर्फी आलोचना: पौडेललार्ई नियन्त्रणमा लिएर हत्या गरिएको भन्दै छानबिनको माग

२०७६ असार ७ गते, शनिबार

काठमाडौँ , ७ असार । नेपाल कम्युनिस्ट पार्टीका सर्लाही जिल्ला इन्चार्ज तथा जनकपुर ब्युरो सदस्य कुमार पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर हत्या गरेपछि सत्ताघटक दलका नेता एवं सांसदले दोहोरो भिडन्त नभई प्रहरीले ‘नियतवश हत्या गरेको’ भन्दै आपत्ति जनाएका छन् । प्रहरीले दोहोरो भिडन्त भएको विश्वासिलो प्रमाण पेस गर्न नसकेको र घटनाको प्रकृतिले पनि ‘भिडन्त नभई हत्या’ भएको भन्दै चौतर्फी रुपमा बिरोध भइरहेको छ । स्थानीयसँगै आमनागरिकले पनि पौडेलको मृत्यु दोहोरो भिडन्तमा भएको कुरा पत्याएका छैनन् ।
उक्त घटनामा प्रहरीको नियतमाथि शंका गर्दै सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य मणि थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘केही समययता सुरक्षा निकाय आक्रामक देखिएको छ । जुन राम्रो होइन ।’
त्यस्तै, सत्तारुढ दल नेकपाकी सांसद अञ्जना विसंखेले प्रश्न गरेकी छन्, ‘राजनीतिक नेतालाई भिडन्तको नाममा हत्या गर्नुको पछाडि कसको स्वार्थले काम गर्याे ?’
यस्तै शुक्रबारको प्रतिनिधिसभा बैठकको शून्य तथा विशेष समयमा नेकपा सांसद प्रभु साहले रौतहटमा दिनदहाडै व्यक्ति हत्याका शृंखला बढेको भन्दै सरकारको चर्काे आलोचना गरे । उनले विकास निमार्णका काममा प्रयोग हुने औजारहरु जलाइने गरेको भन्दै ‘सरकार के हेरेर बसेको छ ?’ भनी प्रश्न समेत गरे ।
यस्तै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसद शिवकुमार मण्डल केवटले प्रतिनिधि सभाको े बैठकमा बोल्दै सर्लाहीको लालबन्दीमा विप्लव नेकपाका नेता कुमार पौडेल मारिएको सम्बन्धमा गृहमन्त्रीको जवाफ मागेका छन् । विप्लव नेतृत्वको नेकपा सर्लाहीका इञ्चार्ज समेत रहेका पौडेल बिहीवार लालबन्दीमा मारिएका थिए । उनको दोहोरो भीडन्तका क्रममा मृत्यु भएको जिकिर प्रहरीले गरेको छ । सांसद शिवकुमार मण्डल केवटले भने– ‘निहत्था जनता मार्ने कामले राष्ट्रलाई राम्रो गर्दैन, जनतालाई पनि राम्रो गर्दैन । त्यो घटनाको सत्यतथ्य के हो, गृहमन्त्रालयमार्फत सदनलाई जानकारी होस् ।’ विप्लव राजनीतिक पार्टी भएकाले वार्ता र संवादको माध्यमबाट निकास खोज्नुपर्ने उनको भनाइ छ । ‘निशस्त्र व्यक्तिहरूलाई मार्ने कुराले राज्यप्रतिको प्रश्न अत्यन्त संवेदनशील र गम्भीर बन्दै गएको छ,’ सांसद् मण्डलले भने, ‘विप्लव समूह राजनीतिक समूह भएकाले राजनीतिक रूपमा समस्याको समाधान होस् । संवादबाट समस्याको समाधान खोज्ने पहल गरियोस् ।’
त्यस्तै, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस कि नेतृ तथा सांसद मिना पाण्डेले विप्लव नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज कुमार पौड्याललाई प्रहरीले नियन्त्रणमा लियर हत्या गरेको बताएकी छन् । शुक्रबारको संसद् बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसकी सांसद मिना पाण्डेले त पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर मारेको तर्क नै गरेकि छन् । सांसद पाण्डेले भनिन्, ‘सर्लाहीको बागमती नगरपालिका–२ निवासी पौडेलको प्रहरीले समातेर हत्या गरेको भन्ने कुरा आएको छ । उनले (कुमार पौडल) के गरे र कुन पार्टीमा संलग्न थियो भन्ने कुरामा राज्यको चासो हुनु स्वाभाविक नै होला तर स्थानीयवासीले समातेर गोली हानी हत्या गरेको ठहर गरेका छन् ।’ सरकारले पौडलमाथि ‘फेक इन्काउन्टर’ गरेर गम्भीर मानव अधिकार उल्लङ्घन गरेको उनको आरोप छ । सर्लाही गृहजिल्ला भएकी सांसद पाण्डेले भनिन्, ‘कसैलाई पहिले नियन्त्रण लिइसकेपछि फेक इन्काउन्टर गरेर हत्या गर्नु भनेको गम्भीर मानव अधिकारको उल्लङ्घन हो ।’ केही समय पहिले सागरनाथ वन परियोजनामा सुकुम्बासीका घरटहरा भत्काउन लगाइयो भन्दै बागमती नगरपालिकाका मेयर भरत थापाविरुद्ध मृतक पौडलले कारबाहीको चेतावनी दिएका थिए । सोही विवादपछि फेक इन्काउन्टर भएको आशङ्का गर्दै सांसद पाण्डेले भनिन्, ‘निज गरिखाने केटो थियो । तत्कालीन एमालेमा प्रवेश गराएको र सुकुम्बासीका लागि ‘राजनीति’ खेती गरेको, माओवादीमा प्रवेश गर्दा पनि त्यही खेतीलाई निरन्तरता राखेको । अहिले त्यही खेती अन्तर्गत कस्तो अपराध र गल्ती गर्यो, त्यो राज्यको चासो हो, त्योे खोजीनीति र तलासी होस् । नियन्त्रणमा लिएर मार्नु, प्रहरीले गोली ठोकेर मारेर ल्याएर जङ्गलमा राखेर इन्काउन्टरमा मर्यो भन्नु गलत हो । यो कुरामा सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’ सरकारको यस्तो रवैयाले मानवअधिकार उल्लङ्घनका घटना बढ्ने सांसद पाण्डेले चिन्ता व्यक्त गरिन् । ‘यसले मानव अधिकार उल्लङ्घनका घटना बढाउँछ । सर्लाही जिल्ला द्वन्द्वबाट बल्ल–बल्ल बाहिर आएको छ । तर फेरि द्वन्द्वको खतरा बढेको छ ।’ सांसद पाण्डले इन्काउन्टरको प्रमाणसहित संसदलाई जानकारी गराउन माग पनि गरिन् । ‘फेक इन्काउन्टर होइन भने गृहमन्त्रीज्यूले प्रमाणसहित भन्नुपर्छ । होइन भने यसको निष्पक्ष छानविन होस्,’ उनले भनिन्, ‘होइन भने यो मन नपरेको मानिसलाई मार्ने तरिका पनि हुनसक्छ ।’ ‘उनी कुन पार्टीमा थिए मेरो चासोको विषय होइन । नियन्त्रणमा लिएर मार्दा मानव अधिकारको खिल्ली उडाइएको छ । दुईतिहाइ बहुमत भएको लोकतन्त्रमा विश्वास गर्ने सरकारले यो के गर्न खोजेको ?’ उनको प्र्रश्न छ ।
यता, समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नै दम्भका कारण दुईतिहाइ मतप्राप्त कम्युनिस्ट सरकार पतनको दिशामा गइरहेको बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराइले शुक्रबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै मिडिया काउन्सिल, मानवअधिकार आयोगलगायतका विधेयकमा पनि पुनःविचार गर्न सरकारलाइ सुझाव दिए । उनले गुठी विधेयक फिर्तालेमात्र समस्या समाधान नहुने भन्दै विवादित सबै विधेयकमाथि पुनर्वीचार गर्नुपर्ने बताए । उनले सरकारमा रहेका व्यक्तिहरुमा आलोकाँचो प्रवृत्ति देखिँदा एकपछि अर्को समस्या बल्झिएको टिप्पणी गरे ।
यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारले सर्वसत्तावादका प्रारम्भिक संकेतहरु देखाएको निष्कर्ष निकालेको छ । सरकारलाई खबरदारी गर्ने प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस निस्प्रभावि हुँदा लोकतन्त्रको भविष्यमाथि पुनः प्रश्नचिन्ह खडा हुन थालेको राप्रपाले जनाएको छ । शुक्रबारबाट सुुरु भएको पार्टीको केन्द्रीय कार्यसमितिको विस्तारित बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष कमल थापाले देश डरलाग्दो संकटको चक्रव्युहमा परेको विश्लेषण गरेका हुन् ।अध्यक्ष कमल थापाले सरकारले सत्ता, शक्ति र राज्य स्रोतलाई कब्जामा लिएर जनमतको अपमान गरिरहेको बताए । सरकारले मिडिया, मानव अधिकार आयोग, न्यायालय सबैमाथि हस्तक्षेप गरिरहेको अध्यक्ष थापाको प्रतिवेदनमा उल्लेख गरिएको छ । उनले सरकारसामु निरिहता प्रकट गरेको भन्दै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको पनि चर्को आलोचना गरे । अध्यक्ष थापाले सरकार र प्रमुख प्रतिपक्ष कांग्रेसको सहमतिमै मुलुकमा लुटतन्त्र मच्चाउने काम भइरहेको दाबी पनि गरे । उनले सरकारलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई सरकारले प्रतिबन्ध लगाएर हिंसात्मक शृंखला निम्त्याएको बताए । उनले ने.क.पा.लाई वार्तामा ल्याएर समस्या समाधान गर्न पनि आग्रह गरे । नेकपालाई प्रतिबन्ध लगाएर सरकारले मुलुकलाई दुष्चक्रमा फसाउन खोजेको अध्यक्ष थापाको निष्कर्ष छ । उनले कांग्रेस र कम्युनिष्ट दुवै शक्ति मुलुकलाई अघि बढाउन असफल भएको दाबी गर्दै आफ्नो पार्टीलाई वैकल्पिक शक्तिको रुपमा स्थापित गराउने पनि बताए ।
यसैगरी, अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङले घटनालगत्तै फेसबुकमा स्टाटस लेखे– ‘सर्लाहीमा भिडन्त भएको हो कि होइन सरकार ?’ उनले स्टाटसमा सर्लाही घटनाको न्यायिक छानविन गर्न माग गर्दै अझ कडा शब्दमा लेखे– यो संघीय गणतन्त्र नेपालको नेकपा सरकार हो । यो बेला कही–कोही भिडन्तका नाममा हत्या गरिनु हुदैन ।’ उनले फेसबुकमा लेखेको स्टाटस यस्तो छ– ‘सर्लाहीमा भिडन्त भएको होकि होईन ? सरकार †† यो संघीय गणतन्त्र नेपालको नेकपा सरकार हो, यो बेला कहि कोही भिडन्तका नाममा हत्या गरिनु हुँदैन । कानुन हातमा लिएका,गलत बाटो हिडेका सबैलाई सरकारले सहि बाटोमा ल्याउने प्रयास गर्नु पर्छ । सर्लाही घटनाको न्यायिक छानबिन गरिनु पर्छ ।’’

यसैगरी , तत्कालीन एकीकृत नेकपा माओवादीका हरिवन नगर इन्चार्ज एवं हाल नेकपाका नेतासमेत रहेका इन्द्र पाठकले पौडेलको गैरकानुनी हत्या भएको दाबी गरेका छन्। उनले बिहीबार राति पौने नौ बजे आफ्नो फेसबुकमा कुमार पौडेलको फोटो अनि हसिँया–हतौडा अंकित लोगोसहित लेखेका छन्, ‘गैरकानुनी हत्या ! रगतको होली बन्द गरी तुरुन्त वार्ताको वातावरण बनाई परिस्थितिलाई सामान्य बनाऊ, होइन भने ज्ञानेन्द्रको हबिगत नहोला भन्न सकिन्न।’
त्यस्तै, नेकपाका केन्द्रीय सदस्य केशव ढुंगानाले आफ्नो फेसबुकमा लेखेका छन्, ‘आज कुमार पौडेल राज्यको तर्फबाट मारिएको खबर सुन्दा दुःख लागेको छ। दोहोरो भिडन्त नभई यो गैरन्यायिक हत्या हो भने कदापि राम्रो भएन।’ उनले थपेका छन्, ‘अतः मेरो पार्टीका सिनियरहरूलाई सुझाव दिन चाहन्छु कि विद्रोहविरुद्ध राज्यको तागत प्रयोग नगरौं, अधिकतम प्रयास गरी वार्ताद्वारा नै समस्याको समाधान खोजौं।’
त्यस्तै ,तत्कालीन नेकपा एमालेसम्बद्ध अनेरास्ववियुका नेता श्रीकृष्ण उप्रेतीले पौडेलमाथि दोहोरो भिडन्तको नाममा बर्बर आततायी रूपमा हत्या गरिएको दाबी गरेका छन्। बिहीबार राति पौने १० बजे फेसबुकमा उनले लेखेका छन्, ‘चुरे–भावरको आन्दोलनताकादेखि नै प्रत्यक्ष चिनेको मैले उहाँलाई, त्यसपछि पनि सुकुम्बासीहरूको हक र हितका लागि कयौं पटक जेलनेल भोगेकै देखेको, पछिल्लो समय पनि एक कम्युनिस्ट पार्टीको निकट रहेर सर्लाहीका सुकुम्बासीलगायत तमाम शोषित–पीडितहरूको मुक्तिकै खातिर लडिरहेकै अवस्थामा उहाँमाथि बर्बर र आततायी रूपमा दोहोरो भिडन्तका नाममा हत्यासमेत गरियो, यो अमानवीय र आपराधिक कदमको जति विरोध गरे पनि कम हुन्छ।’
त्यसैगरी,अनेरास्ववियुकै अर्का नेता आरती लामाले दोहोरो भिडन्तको नाममा कुमार पौडेलको हत्या भएको बताएको छ । सर्लाही नै घर भएका नेता लामाले फेसबुक स्टाटस लेखेका छन्– अपराधी होइन, दोहोरो भिडन्तको नाममा एकजना राजनैतिक ब्यक्तिको हत्या भएको छ । राजनैतिक समस्यालाई राजनितीक ढंगबाट समाधान गर सरकार । हार्दिक श्रद्धाञ्जली कुमार अन्कल ।
सामाजिक सञ्जाल फेसबुकमै पूर्वमाओवादी कमान्डर सरल सहयात्रीले लेखेका छन्, ‘सरकार ! कुण्ठा नपाल । रगतले शान्ति होइन, रक्तबिजकै काम गर्छ । हिजोकै भाषामा सुनिन थाल्यो । आज ‘फलानो ठाउँको दोहोरो भिडन्तमा फलानाको मृत्यु, मृतकको साथबाट एक थान कुटुवा पेस्तोल र गोलीलगायतका सामग्री बरामद् ।’
त्यस्तै, अनेरास्ववियुका अर्का नेता दीपेश पुनले दोहोरो भिडन्तको नाममा एकजना राजनीतिक व्यक्तिको हत्या भएको बताएका छन् । उनले स्टाटसमा लेखेका छन्– ‘दोहोरो भिडन्तको नाममा एकजना राजनैतिक ब्यक्तिको हत्या भएको छ । राजनैतिक समस्यालाई राजनितीक ढंगबाट समाधान गर सरकार ।’
त्यसैगरी, अनुरास्ववियुका अर्का नेता सुरेन्द्र बस्नेतले सरकार र विप्लव दुर्वलाई सुझावसहित राजनीतिक समाधान खोज्न आग्रह गरेका छन् । संघीय गणतन्त्र नेपालको संविधानका कुनै पनि धारा अपरिवर्तनीय नरहेको भन्दै नेता बस्नेतले भनेका छन्, ‘आउनुस् परिवर्तन यहीवाट खोजौं।’ सरकारलाई सुझाव दिँदै उनले ‘राजनीतिक समस्याको समाधान दमनबाट हैन, राजनीतिक रुपमै खोजौं’ भनेका छन् ।
त्यसैगरी, पुर्व बिधार्थी नेता जागृत रायमाझीले विप्लवका सर्लाही इन्चार्ज कुमार पौड्यालको प्रहरीले हत्या गरेको भन्दै आक्रोस ब्यक्त गरेका छन्। सामाजिक सन्जाल फेसबुकमा स्टाटस लेख्दै गृहमन्त्री राम बहादुर थापा बादल खुम बहादुर खड्का भन्दा गिरेको समेत आरोप लगाएका छन् । यस्तो छ उनको स्टाटस स्क्लाउडजी ! आज फेरि दोहोरी भिडन्तको नाममा सर्लाही बिप्लब नेकपाका इन्चार्ज कुमार पौडेलको प्रहरीले गोली हानेर हत्या गरेछ ! खुमबहादुरहरु भन्दा तपाईं एकथोपा रगतले पनि फरक हुन सक्नुभएन हगी ??!
यसैबीच, नेकपाका जिल्ला इन्चार्ज कुमार पौडेलको हत्या गरेको विषयमा छानबिन गर्न राष्ट्रिय मानवअधिकार आयोगको टोली सर्लाही पुगेको छ । राष्ट्रिय मानवअधिकार आयोगका सदस्य जीवन न्यौपानेको नेतृत्वमा एउटा टोली शुक्रबार बिहानै घटनास्थलतर्फ गएको थियो । राष्ट्रिय मानवअधिकार आयोगका सदस्य प्रकाश अवस्थीले दिएको जानकारीअनुसार मानवअधिकार आयोगको टोलीले दुई दिनभित्र घटनाको छानबिन गर्नेछ । कुमार पौडेलको हत्याको विषयलाई लिएर निष्पक्ष छानबिन हुनुपर्ने चौतर्फी आवाज उठिरहेको बेला मानवअधिकार आयोगको टोली घटनास्थल पुगेको हो ।
प्रहरीले सर्लाहीको लालबन्दी नगरपालिकास्थित लखन्तीखोलामा नेकपाका नेता पौडेलको हत्या गरेको थियो । स्थानीय बासिन्दा र नेकपा स्रोतका अनुसार पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर गोली प्रहार गरी हत्या गरेको हो । प्रहरीले भने पौडेल दोहोरो मुठभेडमा मारिएको दाबी गरेको छ । प्रहरीले दोहोरो मुठभेड भनेको उक्त घटनाबारे आयोगले आफ्नो ध्यानाकर्षण भएको भन्दै छानबिन गर्ने जनाएको थियो । आयोगका सचिव÷प्रवक्ता वेद भट्टराईद्वारा ६ गते जारी विज्ञप्तिमा भनिएको छ, ‘दोहोरो भिडन्तका क्रममा प्रहरीको गोलीबाट यही असार ५ गते नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) का जिल्ला इन्चार्ज कुमार पौडेलको मृत्यु भएको भनिएको घटनाप्रति आयोगको गम्भीर ध्यानकर्षण भएको छ ।’
नेकपाले आफ्नो पार्टीका जिल्ला नेताको हत्या भएको भन्दै यही असार १० गते नेपाल बन्दलगायत सङ्घर्ष घोषणा गरिसकेको छ ।
आयोगले घटनाको सत्यतथ्य अनुसन्धान तथा अनुगमन गर्न आयोगको केन्द्रीय कार्यालय एवम् प्रदेश नं. २ कार्यालयबाट टोली खटिएको पनि जनाएको थियो । आयोगको विज्ञप्तिमा भनिएको छ, ‘आयोगको उक्त टोलीले घटनाको अनुसन्धान तथा अनुगमन गरी तत्कालै आयोगमा प्रतिवेदन पेस गर्नेछ । आयोगको उक्त टोलीलाई आवश्यक सहयोग पु¥याइदिनुहुन आयोग सम्बन्धित सबै पक्ष तथा सरोकारवालालाई आग्रह गर्दछ ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु