सरकारकाे चालु खाता र शोधनान्तर स्थिति दुवै घाटामा

२०७५ जेष्ठ ४ गते, शुक्रबार

काठमाडौँ, ४ जेठ । सरकारकाे चालु खाता र मुलुककाे शोधनान्तर स्थिति दुवै घाटामा गएको छ । अघिल्लाे अार्थिक वर्षदेखि घाटामा रहेकाे चालु खाता यस अावमा अाइपुग्दा डरलाग्दाे घाटातर्फ उन्मुख देखिन्छ । नेपाल राष्ट्र बैंकले चालु खाताकाे घाटा बढ्दै जाँदा बाह्य क्षेत्र सन्तुलनमा समेत चुनौती थपिएको बताएकाे छ । सरकारको चालु खाता गत चैतसम्ममा १ खर्ब ७१ अर्ब ६४ करोड रुपैयाँले घाटामा गएकाे राष्ट्र बैंकद्वारा जारी प्रतिवेदनमा उल्लेख छ । बिहीबार राष्ट्र बैंकले सार्वजनिक गरेकाे चालु आवको नौमहिने समष्टिगत आर्थिक प्रतिवेदनले साे तथ्य अाैंल्याएकाे हाे । अघिल्लो वर्षकाे साेही अवधिमा सरकारकाे चालु खाता १० अर्ब ३४ करोड रुपैयाँले मात्रै घाटामा थियो । चालु खातामा घाटा चुलिँदै जानु अर्थतन्त्रका लागस ‘जोखिमपूर्ण’ हुने अर्थविद्हरू बताउँछन् ।
साेधान्तर घाटा बढ्नाले चालुखाता पनि घाटामा गएकाे राष्ट्र बैंककाे ठहर छ । वस्तु तथा सेवा व्यापारको सन्तुलन मापक चालु खाता घाटामा गएसँगै समग्र शोधनान्तर रू. १४ अर्ब ६० करोडले घाटामा रहेकाे समेत बैंकले जनाएकाे छ । गत आवको यसै अवधिमा यस्तो शोधनान्तर रू. ५० अर्ब ६० करोडले बचतमा थियो । आयात अधिक भएको र त्यस अनुपातमा निर्यात वृद्धि हुन नसक्दा चालु खाता दबाबमा परेकाे हाे । समग्रमा मुलुक भित्रिने भन्दा बाहिरिने रकम बढी भएकाले शोधनान्तरमा चाप परेको राष्ट्र बैंककाे उक्त प्रतिवेदनले अाैंल्याएकाे छ । त्यस्तै, चालु आवको चैत महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५ दशमलव ३ प्रतिशत छ । गतवर्षको साेही अवधिमा उक्त मुद्रास्फीति ३ दशमलव ८ प्रतिशत मात्रै थियो । मुद्रास्फीति बढ्दा महंगी समेत बढ्दै गएकाे छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु