सयौँ बालबालिका खुला आकाशमुनि पढ्न बाध्य

२०७४ जेष्ठ ६ गते, शनिबार

काठमाडौं, ६ जेठ । महोत्तरी जिल्लाको मधवा गाउँका सयौँ बालबालिका प्रचण्ड गर्मी र हावाहुरीको सामना गर्दै खुला आकाशमुनि पढ्न बाध्य छन् । साबिकको बथनाहा गाविस–६ मा अवस्थित हनुमान जनता सरकारी प्राथमिक विद्यालयमा तीन सयभन्दा बढी स्थानीय दलित मुसहर र केही मुसलमान बालबालिका अध्ययन गर्छन् । विसं २०१० मा अस्तित्वमा आई हजाराँै स्थानीयवासीको उज्ज्वल भविष्य निर्माण गर्न सफलसो विद्यालय सम्बन्धित निकायको उदासीनताका कारण अहिले अस्तित्व समाप्त हुने स्थितिमा पुगेको प्रअ तीर्थनाथ झाले बताउनुभयो ।
भौगोलिक दृष्टिकोणले जिल्लाको विकट र भारतीय सीमा क्षेत्र नजिकै पर्ने सो विद्यालयमा मर्मतसम्भार समेत हुन सकेको छैन । त्यही विद्यालयबाट अध्ययन गरेर बथनाहा गाविसमा दर्जनाँै व्यक्ति विद्वान् भएका तथा सरकारका उच्च ओहदामा पुगेका छन् । आफ्नै गाउँका बालबालिका खुला आकाशमुनि बस्दा उनीहरुका दृष्टि त्यहाँ पुग्न नसकेको प्रअ झाले गुनासो गर्नुभयो ।
अहिले त्यस गाउँका हुनेखानेहरु नजिकैको भारतका सहर तथा नेपालका ठूलठूला सहरस्थित सुविधासम्पन्न विद्यालयमा आफ्ना बालबालिका पढाउँछन् । “सरकारले समेत तल्लो जातका बालबालिका पढ्ने गरेको भनेर हेला गरेको छ” झाले थप्नुभयो ।
कक्षा कोठाको अभावमा त्यस विद्यालयका कक्षा ३, ४ र ५ का विद्यार्थी एकै ठाउँमा बसेर पढ्ने गरेका छन् । चार शिक्षक दरबन्दी रहेको सो विद्यालयमा दुई जना काजमा अन्यत्रै खटेको, दुई जना दरबन्दीका र एक बाल विकासबाट गरी तीन शिक्षकले अध्यापन गर्दै आएका छन् । प्रअ झाका अनुसार दलित र मुसहर बस्तीमा बालबालिकालाई विद्यालय पठाउन रहर गर्दैनन् ।
विद्यालयका एक ब्लकमा पर्खाल छ भने छाप्रो र ढोका छैन भने अर्कामा छाप्रो छ तर पर्खाल छैन । बाल विकासको एउटा कोठामा कार्यालय सञ्चालन छ भने अर्को कोठा भण्डार बनाइएको छ । डेस्क, बेन्च २० बालबालिकालाई बस्न पुग्दैन । ह्यान्ड पम्प बिग्रेको छ तथा शौचालय पुरानो र जीर्ण छ ।- रासस

प्रतिक्रियाहरु