‘समानान्तर होइन, अव वैकल्पिक सत्ता’

२०७३ फाल्गुन ७ गते, शनिबार

काठमाडौं, ७ फागुन । नेकपका (माओवादी)को रोल्पाको थबाङमा जारी महाधिबेशनको बन्दसत्रमा विधान र महासचिव विप्लबद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि छलफल जारी छ । बन्दसत्रमा देशभरका प्रतिनिधि र पर्यवेक्षक सहभागी छन । बन्दसत्रको सुरुमा सुभेच्छुक विदेशी भाइचारा संगठनका प्रतिनिधि र अतिथिले शुभकामना दिएका थिए। त्यसपछि पार्टी कार्यसमिति, संगठनको ढाँचा कस्तो वनाउने भन्नेबारे पनि बन्दसत्रमा छलफल भइरहेको बताइएको छ। बन्दसत्रमा विधान र महासचिवको राजनीतिक प्रतिवेदन प्रस्तुत भएपछि प्रतिनिधि पर्यवेक्षकमा अनौपचारिक छलफलसमेत तीव्र वनेको छ ।
माओवादीका प्रवक्ता प्रकाण्डका अनुसार अहिले समूहको निष्कर्ष र सुझाव समूह नेताबाट प्रस्तुत हुने कार्य भैरहेको छ । बन्दसत्रमा प्रस्तुत महासचिवको राजनीतिक प्रतिवेदनमा केन्द्रीय जनपरिषदले जनताको सेवामा काम गर्ने उल्लेख छ। ‘अहिलेको नेपालको सत्ताले जनताको सेवा गरेको छैन र गर्दैन पनि। तसर्थ, जनसत्ताको अभ्यास हुँदै आएको छ । अझ घनिभूत रुपमा जनसत्ता सञ्चालन गर्छौं’, प्रवक्ता प्रकाण्डले भने-‘अव समानान्तर सत्ता होइन, जनताको वैकल्पिक ‘जनसत्ता’ संचालन हुन्छ।’
नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख राजनीतिक दलहरुका नेताले संविधान कार्यन्वयनका लागि चुनाव गर्ने चर्चा चलाइरहेका वेला जारी बन्द सत्रबाट पार्टीले चुनावको सशक्त प्रतिवाद गर्ने बाटो रोज्ने देखिएको छ । प्रवक्ता प्रकाण्ड भन्छन्- ‘दलालहरुको डिजाइनमा हुने चुनावको अर्थ छैन । यसको हामी सशक्त मात्र होइन, चुनावको त हामी आक्रामक प्रतिरोधमा उत्रन्छौं।’ चुनावको वहानामा विदेशी सुपरपावरवाला दलालहरुको चलखेलले देश नै विखण्डनतर्फ लैजाने खतरा बढेकोबारे पनि बन्दसत्रमा छलफल जारी छ। राष्ट्रियता गम्भीर खतरामा परेको महासचिवले प्रतिवेदनमा उल्लेख छ । दलालहरुको हस्तक्षेपविरुद्ध सार्थक प्रतिरोध नगरे देश नै ध्वस्त हुने खतरा रहेको प्रतिवेदनमा उल्लेख छ । जनताको वलमा क्रान्ति हुने भनिएको छ । प्रचण्ड, किरण र बाबुरामले क्रान्तिको निर्णायक शक्तिका रुपमा वाह्य दलालहरुलाई ठानेको निष्कर्ष छ । नेपालको सन्दर्भमा उत्पीडित वर्ग, श्रमिक, मध्यम र राष्ट्रवादी नै निर्णायक शक्ति शक्ति भएको ठहर विप्लवले पेश गरेको प्रतिवेदनमा उल्लेख छ।
एकीकृत जनक्रान्तिको कार्यदिशाले गाउँ र शहरका जनतालाई एकीकृत नेतृत्व गर्ने भनेकाले फागुन १ गते काठमाडौं खुलामञ्चमा महाधिवेशनको उद्घाटन गरेर थबाङ गाउँमा बन्दसत्र गर्न खोजिएको पार्टीका नेता कार्याकर्ताले बताएका छन् । ‘थबाङ ‘जनयुद्ध’ को आधार क्षेत्र होे र प्रचण्ड बाबुरामले थबाङ (गाउँ) को रक्षा गर्न सकेनन् । त्यसैले थबाङको रक्षा गर्न यहाँ बन्दसत्र आयोजना गरिएको हो’, प्रवक्ता प्रकाण्डले भने, ‘रियाक्सनरीहरुको अखडा काठमाडौंलाई झड्का दिन उद्घाटन उता गरिएको हो, क्रान्तिको डिभेन्सका लागि थबाङ (गाउँ) मा बन्दसत्र गरिएको हो।’ बन्दुक वोकेर गइहाल्छन् भन्ने अपवाह माओवादी केन्द्रले फैलाउने गरेको भन्दै अपवाहको कुनै तुक नभएको दाबी प्रतिवेदनमा गरिएको छ । बन्दुक वोक्ने या नवोक्ने परिस्थिति सत्ताधारीको व्यवहारमा निर्भर हुने पनि उल्लेख छ । क्रान्ति गर्ने कम्युनिष्ट पार्टी सेनाविहीन नहुने भने प्रवक्ता प्रकाण्डले दावी गरे ।
बन्दसत्रमा पार्टीको नाम कम्युनिष्ट पार्टी राख्नेबारे पनि छलफल भइरहेको छ। सैद्धान्तिक र व्यवहारिक दुवै दृष्टिकोणले कम्युनिष्ट पार्टीको नाम अगाडि र पछाडि उपमा झुण्ड्याउन आवश्यक नभएकाले प्रस्ताव ल्याइएको जनाइएको छ। ‘नेपाल कम्यूनिष्ट पार्टी या कम्युनिष्ट पार्टी नेपाल’ बनाउनेबारे बन्दसत्रले टुंगो लगाउने भएको छ ।
जनयुद्धको जगमा उभिएको पार्टी विप्लव नेतृत्वको पार्टीलाई योजनावद्ध तरिकाले ‘विप्लव समूह’ भनिएकोमा आपत्ति समेत जनाएका छन् । बन्दसत्र प्रायोजनका लागि दुई महिना अघि नै करिव १ हजार अटाउने भवन वनाइएको छ । शहिद स्मृति भवन नामांकरण गरिएको उक्त हलमा बन्दसत्र जारी छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु