समाचारले हानेको थप्पड – बलराम तिमल्सिना

२०७६ आश्विन ९ गते, बिहीबार

समाचार यस्तो थियो-
‘डेढ महिनामा पन्ध्र हजार नावालक वेपत्ता !’

यो वेपत्ता
कुनै डाका समुहद्वारा थिएन
एक किसिमले थियो पनि
यो वेपत्ता
कुनै फिरौती समुहबाट थिएन
थियो भन्दा फरक पनि फरक पर्दैन !

यो वेपत्ता आधिकारिक थिएन
तर यथार्थ थियो !

यो समाचारको थप्पडले हानेपछि
रन्किएको गालाको दुखाई
कान हुँदै दिमागसम्मै पुगेको छ
र केही दिनदेखि ज्वरो आइरहेछ
सायद यस्तो ज्वरो अरुलाई पनि आएको छ
जोसँग छ अरुको दुखमा दुख्ने दिल !

ज्वरोले रन्थनिएको बेलामै
म सोचिरहेछु केही कुरा !

अपहरणकारीहरूले सोचे होलान-
आज पो यी नावालक छन
भोलि यी वालिग बन्ने छन्
अझ यी जिहादी बन्ने छन्
यी जिहादी बन्नुअघि नै
यिनीहरूलाई कव्जा गर्नु
भारत माताको भलाईमा छ !

उनीहरूले सोचे होलान-
हिन्दू , हिन्दूत्व र हिन्दूस्तान
यो देशमा ती मात्रै हाँस्नु पर्छ
वाँकि अरु जो छन्
ती कि पाकिस्तान जाऊन
कि वङ्गलादेश
कि वर्मा
कि चीन
कि नेपाल जाऊन !

हरेक हुर्कदो कश्मिरी बालक
उनीहरूलाई लाग्यो होला-
सैन्य प्रशिक्षण लिइरहेको रिक्रुट
कश्मिरको हावा पानी र माटोको गन्ध
उनीहरूलाई लाग्यो होला पाकिस्तान
जसरी हाम्रो देशको शासकलाई
मधेशको हावा पानी र माटोमा
ठुस्स भारत गन्हाउँछ
उनीहरूलाई त्यस्तै भयो होला !

सव चिज कव्जा गर
सव चिज नष्ट गर
सव चिज भोग गर
वालक, युवा, वृध्द
सवैमाथि हमला गर
महिलाहरूमाथि
छेडखान र हमला गर
सायद राम राजको यही आदेश थियो !

बिजयी देशको सेनाले
पराजित देशका नागरिकमाथि
जुन खाले दूर्व्यवहार र उत्पीडन गर्छ
ठीक त्यही दूर्व्यवहारको मारमा
निस्सासिरहेछ कश्मिर !

समाचारको थप्पडले दुखेको चोट
अझै निको भएको छैन
बरु झन भित्र भित्र दुख्दै छ
सायद अरुलाई पनि दुखिरहेको होला
जोसँग छ अरुको लागि दुख्ने दिल !

प्रतिक्रियाहरु