सपना र हिरासतको पारदर्शी भित्ता – पदम राई

२०७५ मंसिर ९ गते, आईतवार

चार पर्खालले छेकिएको ठूलो हल । करिब–करिब ३०० जति मानिसहरू कुर्सीमा पंक्तिबद्ध । अगाडि मञ्चबाट विशेष अतिथिको हैसियतमा म बक्तव्य दिइरहेको थिएँ ।मञ्चको पछाडिपट्टि भित्तामा कार्यक्रमको ठूलो रातो ब्यानर टाँगिएको थियो । मञ्चमा कार्यक्रमको सभाध्यक्ष, प्रमख अतिथि र अन्य अतिथिहरू थिए लहरै बसेका । म थिएँ कार्यक्रमको विशेष अतिथि वक्ता । मैले आफ्नो वक्तव्य यात्रालाई पल्लो छेउ प¥याउन लाग्दै थिएँ । त्यसैवेला उद्घोषकले बाहिर चारैतिरबाट पुलिसले घेरा हालेको खबर गरे । अरु नै कामका लागि आएका होलान् भन्ठानेर मैले आफ्नो भनाइलाई चालु राखेँ ।
ढोकाबाट हतियार बोकेका पुलिसहरू ह्वारह्वार्ती भित्र पसेर हाम्रो कार्यक्रममाथि हस्तक्षप गर्न थाले । मैले विषयको कुनै भेउ पाइन, ट्वाल्ल परेर हेरिरहेँ । डीएस्पीको नेतृत्वमा आएका रहेछन् । म मञ्चबाट अलि अगाडि बढेर हातको इशाराले डी.एस्.पी.लाई आपूmतिर बोलाएँ, उ आयो । के गर्न खोजेको ? किन हो ? केका लगि र कुन कारण हो ? मैले जिज्ञासा राखेँ । डी.एस्.पी. कुनै उत्तेजनामा नआई विनम्रतापूर्वक बतायो । माथिको आदेश । मैले एस्.एस्.पी. को नम्वर मागेँ र डायल गरेँ । फोन उठ्यो । मैले आफ्नो परिचय र कार्यक्रमको विषयमा जानकारी गराउँदै कार्यक्रम नबिथोल्न आग्रह गरेँ । उताबाट जवाफ आउँदै थियो तर सुन्नै नपाई पुलिसको ठूलो भीडले मलाई घच्याट्दै बाहिर पु¥यायो, कार्यक्रम बिथोलियो । सबैजना सडकमा निस्किए । कार्यक्रममा सहभागीहरू, रमिता हेर्नेहरू र पुलिसको भीड सडकभरि असरल्ल भयो । आक्रोश, आश्चर्य र बिडम्बना पूर्ण स्थितिले वातावरण तनावपूर्ण बन्यो ।
यो कुनै नाटक वा फिल्मको कथावस्तु होइन र थिएन पनि । यो २०७५ असार १६ गते काठमाडौँको तारकेश्वर नपा. नेपालटारस्थित एउटा क्याम्पसको हलमा घटेको वास्तविक घटना हो । जहाँ नेकपा सम्बद्घ जनगणतान्त्रिक सम्पर्क मञ्चद्वारा आयोजित पार्टी प्रवेश तथा धु्रवीकरण अभियान कार्यक्रम थियो । ठूलो भीडको बीचबाट प्रहरीले मलाई बोकेर उनीहरूको ट्रकमा हाले । त्यसपछि क्रमशः अरुहरूलाई पनि भकाभक कोच्न थाले । बाहिर घेरामा अर्कोजना पनि डी.एस्.पी रहेछ । हामीलाई उनीहरूको दुईवटा ट्रकमा अटेसमटेस कोचेर लगे । हमीले गाडीभित्र कस्सिइ–कस्सिइ नारा लगायौँ । एकै क्षणमा हामीलाई महानगरीय प्रहरी वृत्त बालाजु पु¥याए । हामी ४३ जनालाई लगिएछ । बाहिर सडकमा पनि भीड जम्मा भयो । साँझपख २२ जनालाई सोह्रखट्टे हिरासतमा लग्यो र वाँकीलाई त्यहीँ राख्यो । असार १७ गते हामी नेतृत्व पंक्तिका ७ जना बाहेक अरु सबै रिहा भए । हामीलाई न्यायिक हिरासत नामको फोहर, दुर्गन्ध र उडुसको राजधानी भित्र हुलेर वाहिरबाट ताल्चा लगाइएको थियो । फोहर, दुर्गन्ध र उडुस्को टोकाइले पहिलो दिन आखाँ झिमिक्क नगरी जाग्राम बसेर नै रात कटाईयो । हिरासत सुधार गर्ने इच्छा जागेर आयो । बृत्तका ईन्चार्ज डी.एस्.पी.लाई नै भेटेर प्रताव राखेँ । उ मौन भयो । त्यस पछि हिरासतका तीनबटै कोठाहरूमा चुना लगाईयो उडसको अन्त्य गरियो र गन्हाउने कम्वलहरू सबै धोएर सफा पारियो । बाहिर प्रहरी कन्ट्रोल रुममा समेत सेतो चुना हालेर सफा पारियो । यसले हामी र हाम्रो पार्टीप्रति राम्रो छाप पर्न गयो ।
समय वित्दै गयो । पार्टीको पहलमा हाम्रा आफन्तजनले सर्वोच्च अदालतमा बन्दी प्रतिक्षिकरणको रीट दायर गरेपछि हामी सर्वाेच्चको आदेशमा असार २७ गते रिहा भयौं । तर फेरि मलाई त्यहाँबाटै प्रहरीले नियन्त्रणमा लिएर असार २८ गते मोरङ्ग जिल्ला पु¥याएर बन्दी बनायो । त्यहाँ बालाजुको जस्तो अस्तव्यस्त अवस्था त थिएन । तर त्यहाँ पनि सुधार गर्नुपर्ने समस्याहरू देखिहालियो । फोहर पानी, खानेपानीको जारमा बन्दीलाई ठगी र दालमा ठगी । इन्चार्ज एस.पी.लाई नै भेटेर सुधार्ने प्रस्ताव गरें । आफ्नो कर्तव्य र जिम्मेवारी बोधका साथ इन्चार्जले भोलीबाटै सुधारको परिणाम आउने विश्वास दिलाए । न भन्दै दोस्रो दिनबाटै पानी सफा भयो । दालमा पानीको मात्रा घट्यो । दालको गुणस्तर बढ्यो । जारको पानी प्रति जार रु. सयबाट रु. ७५मा झ¥यो ।
यसरी नै बन्दी जीवनको यात्रा अघि बढ्दै गयो । अदालत लाँदै म्याद थप गर्दै १५औं दिन अर्थात मलाई श्रावण ११ गते जिल्ला अदालतले निर्दोष सावित गरी रु.९०००। धरौटीमा रिहा ग¥यो तर तत्काल रु. ९०००। उपलब्ध नभएकोले उक्त रकम उपलब्ध नगराउँदा सम्मलाई कारागार बस्नु पर्ने भयो । कहाँ कुन जेलमा जाने भन्ने कुरा आयो । म प्रति सहानुभूति देखाउँदै पुलिसको स.ई. ले राम्रो कारागारमा बस्ने सल्लाह दिँदै सुनसरी जिल्लाको झुम्कामा जान भने । म देश बदल्न राजनीतिमा लागेकोले सबैभन्दा खराव ठाउँमा बसेर त्यहाँ मेरो देश देख्ने र भोग्ने इच्छा व्यक्त गरेँ मैले । सो मुताविक मलाई प्रहरी टोलीले भ्यानमा हालेर तीनटोलिया स्थित कारागार पु¥याए ।
मलाई कारागार पु¥याएर फर्कनु पर्दा प्रहरी कर्मचारीहरूको अनुहार वियोग, वेदना र उदासिनताले छोप्यो । यो विदाई भन्ने शब्द साँच्चै नै निर्दयी हुँदोरहेछ । मलाई पनि कारागार बस्न परेकोले भन्दा ती प्रहरीहरूसँग छुट्न परेको पीडाले स्तब्ध बनायो । उनीहरू फर्कँदै मलाई हेर्दै मूल गेटवाट बाहिरिए । म पनि पछितिर फर्केर उनीहरूतिर हेर्दै कारागारको ढोकाबाट भित्र छिरेँ ।
भित्र कैदिहरूको असरल्ल ठूलो भिँड, तर शान्त हल्ला विहिन । मलाई एउटा कोठामा लगेर राखियो । करिव ३०० जना अट्ने क्षमताको कारागारमा ७५० जना खाँदिएको रहेछ गुन्दु्रक खँदाई । साँझ परेपछि त्यस कोठाका नाईके भनिने व्यक्तिले मच्चिइ मच्चिइ प्रवचन गर्नथाले बन्दीहरूले पालना गर्नु पर्ने अनुशासनका नियमहरू बारे । उद्देश्य त राम्रो हो तर सिकाउने शैली चाहिँ बढो टीठ लाग्दो । असभ्य, अस्लिल र जंगली शब्द वाण हान्दै उसले भनेको नमानेमा जे पनि हुनसक्ने भन्दै कुरा टुंग्यायो । त्यस बेलासम्म बन्दीहरू चल्न चटपटाउन पनि नपाईने बोल्न त परै जाओस । त्यो नाइके पनि राम्रो काम गरेर जेल परेको त होइन नि किन यसको प्रवचन सुन्ने भन्ने लाग्यो । तर सोचेँ—साझा विचार, उद्देश्य र लक्ष्य राखेर अगाडि बढेका एउटै पार्टीका नेता—कार्यकर्ताहरू त मिल्दैनन्, याहाँ त सयौं थरिका मान्छेहरूको यति ठूलो भिँड छ कडाई नगर्ने हो भने त जेल भित्रवाट दिनका दिन लास उठाउनु परिहाल्छ नी भन्ने सोचेर मैले पनि सम्पूर्ण नियमरुको पालना गरें । म को थिएँ भन्ने कुरा कारागार भित्र थाहा भइसकेको थियो ।
श्रावण १३ गते कारागारको कम्पाउण्डमा राखिएको माइक करायो । खुशीको खवर….खुशीको खवर….खुशीको खवर……आज याहाँबाट पदम राई रिहा हुनुभएको छ । कोठाको नाइके दौडँदै आएर म रिहा भएको खवर खुशी हुँदै सनायो अनि मलाई मन्दीर नेर उभ्याएर भाई नाइके र दाई नाइकेहरूले अविर र खादा ओडाएर दरिलो गरी मलाई अँगालोमा कसे अनि नमिठो मान्दै मलाई विदाई गरे । म कारागारको पहिलो ढोकाबाट बाहिर निस्केँ । मलाई पनि नरमाईलो लाग्यो । त्यहीँबाट मलाई नियन्त्रणमा लिएर अड्डासार गर्दै श्रावण १५ गते जि.प्र.का. संखुवासभा पु¥याएर एउटा कोठाभित्र हुलेर बाहिर बाट ठूलो ताल्चामारे । त्याहाँ बन्दीहरूहको त्यति चाप थिएन । मलाई छुट्टै राखियो । मेरो बन्दी जीवन शुरु भयो । उज्यालो हुने र रात पर्ने क्रमसंगै घडीले पनि आफ्नो अथक यात्रा जारी नै राखेको थियो । एक महिना जति मैले कारागारको बसाईलाई पार गरिसकेको थिएँ ।
एक विहान मिर्मिरे संगै रबीले धर्तिमा उज्यालो किरण छर्दै थियो । रबीले मलाई चियाउन खोज्यो । मैलै पनि रबीलाई चियाउन खोजेँ तर पर्खालले छेकेको थियो । उ धेरै टाढा थियो । म पर्खाल भित्र । रबी मलाई हेर्न घुमीघुमी यताउता ठाउँ खोज्थ्यो म पनि रबीलाई हेर्न चार पर्खाल भित्र यताउता छिँडी खोज्दै टहलिँन्थे । मैले रबीलाई नदेखेको एक महिना भन्दा बढि भईसकेको थियो । म रबीलाई भेटेर अघाउन्जी हेर्न र उसको न्यानो तापले स्नान गर्न चाहन्थेँ । अनायासै एकदिन म पुस्तक अध्ययनमा व्यस्त थिएँ । पछाडि पीठ्यूँमा तातो महशूस भयो । पछाडि फर्कें । रबीले मलाई पश्चिमपट्टिको पर्खालको सानो झ्यालबाट चिहाईरहेको रहेछ । खुशीको सीमा नै रहेन । म मुसुक्क मुस्कुराएँ । त्यसरी नै रबी पनि ।
हामी दुवै संगै मुस्कुरायौँ । तर रबी थियो खुल्ला आकाशमा, म थिएँ चार पर्खाल भित्र बन्दी । रबी विस्तारै म बाट टाढा हुँदै थियो । मैले हतार मै भने रबीलाई — म निर्दोष छु । म कुन ठाउँमा, के कस्तो अवस्थामा र कसरी बसिरहेको छु तपाईं मेरा साक्षी है । हो म साक्षी हुँ, दुनियाँलाई नियाल्ने आकाशले झैँ मैले नियाँलिरहेको छु । जहाँ पुग्दैन रबी, त्यहाँ पुग्छ कवि, मैले कविहरूलाई पनि भन्छु सत्यको कविता लेख भनेर । यति भनेर मेरो रबी मलाई धैर्य गर्न सद्भावपूर्ण सल्लाह दिँदै विस्तारै म बाट टाढा हुँदै गयो । अनि पश्चिममा गएर लुक्यो । म एकोहोरो टोलाएर पश्चिम तिर रातो आकाशलाई हेरिरहेको थिएँ । रातो आकाश पनि विस्तारै अँध्यारोको घुम्टोभित्र लुक्यो । अँध्यारोको साम्राज्य फैलियो ।
कोठा बाहिर पटि एस्.एल्.आर. बन्दूक बोकेको बर्दिवाला पुलिस उभेर मलाई हेरिरहेका रहेछन् । उसले विजुलीुको स्वीच दवायो । मैले उसलाई विजुलीको उज्यालोमा नियाँले । उसको अनुहामा कुनै चमक थिएन । उसको अनुहारले स्पष्ट भनिरहेको थियो, उ पीडामा छ । अभावमा छ । चिन्तामा छ र उ निरासा अनि छटपटीमा छ । मैले एकटकले उसलाई हेरिरहेँ । उसले आफै कुराको भेद खोल्न थाल्यो । सर ! मेरी आमा थलिएर ओछ्यानमा छिन् । छोरा पनि विरामी भएर धरान वी.पी.हस्पीटलमा भर्ना गरेको उपचार नलागेर विराटनगर पु¥याएको छ रे । खै…! छोराको स्कूलको फी. को वील आयो रे । पसलको उधारो खाएको हिसाव पनि दिने बेला भयो । महंगीले बजार भाउ सुनिसक्नु छैन । सत्रहजार तलब छ हजुर ! केले पु¥याउनु ? उसले अझ अरु के के भन्न खोज्दै थियो तर उसको बोली रोकियो ।
उसलाई सम्झाउनु वाहेक मेरो पनि अर्को कुनै विकल्प नै थिएन । उसले मलाई अविभावक सोचेर उसका सबै व्यथाहरू पोख्यो । क्षणिक नै भएपनि उसको आत्माले शान्त्वन पायो होला । तर मेरो मन भने छियाछिया भयो । आत्मग्लानी र पीडावोधले छाती चिरियो, किन कि मैले उसलाई सम्झाउनु वाहेक अरु केहि पनि सहयोग गर्न सक्ने अवस्था थिएन मेरो । पश्चाताप, विडम्बना र निरिहताले मानवीय समवेग पग्लिएर आँखाको डीलमा आएर टलपलायो तर मुखले केहि वोलेन ।
रातीको १२ बज्यो । डीउटी फेरियो । किताबको सिरानी हालेर म ढल्कें भुइँमा फैलाइको कम्वलमा । निन्द्रैमा कानमा कता कता छक् छक् छक् आवाज आए जस्तो सुनियो । अर्धचेत अवस्थामा नै विउँझे । आँखा यताउता घुमाएँ । म कहाँ छु ….? सम्हालिँदै उठें । दैनिकि सकेर किताव तिर आँखा लाउँदै थिए । मलाई इन्सपेक्टरले बोलाएको खवर लिएर एउटा पुलिस आएर खवर ग¥यो । उसकै पछिपछि गएँ । थप जानकारीका लागि भन्दै घुमाउरो पारामा इन्सपेक्टरले मलाई बयान लिन थाले । कनसीरी तात्तिने नानाथरिका प्रश्नहरू सोध्न थाले । मलाई लागेको मुद्धाका विषयमा मैले पहिले नै सबै सवालहरूको जवाफ दिइसकेको भन्दै मैले उसका प्रश्नहरूको जवाफ दिन इन्कार गरें । उ आवेगियो । कड्कियो— सवालको जवाफ नदिने ? जुनसुकै पार्टीको जुनसुकै तहको नेता होस् हामीलाई के मतलब ? अब कोहि छुट्दैनन् । अब हड्डी मकाउने सूईहानिने छ । २२ दिन पछि देखि यसले विस्तारै शिथिल बनाउँदै लैजान्छ । हाडछाला र सास मात्रै बाँकी रहन्छ । अब गयो जीन्दगी । उसले यति भनेर मेरो प्रतिक्रियाको प्रतिक्षामा बस्यो ।
उ चाहन्थ्यो म गलेर आत्मसमर्पण गरुँ । तर राजनीतिमा लागेर ८ पटक पक्राउ र हिरासतको अनुभव चाखिसकेको म विना कारण किन उ संग झुक्ने ? म नेकपाको कार्यकर्ता हुनु बाहेक मेरो अन्य कुनै कसुर पनि त थिएन । मैले उसलाई भने, कृपया हड्डी मकाउने त्यो सुइ चाहिँ मलाई तपार्इंकै हातबाट लगाउने धोको छ, मलाई तपाईंले नै लगाईदिनु है ! इन्सपेक्टर कुर्सि मै थियो म उठेर हिँडे । आफै कोठामा छिरेँ । बाहिरबाट डीउटीमा रहेको प्रहरीले ताल्चा लगाईदियो । म थचक्क बसेँ । चक्कर लागेझै भयो । मन भारी भएर आयो । छटपटी मौलायो । बारबार उही ‘हड्डी मकाउने सुइ’ भन्ने शब्द कानमै गुन्जिइ रहयो । मनभरि नानाथरिका प्रश्नहरू तँछाडमछाड गर्दै हारागुड्डी खेल्न थाल्यो । मुटु एकतमासले ढुकढुक गर्न थाल्यो । म पिँजडाको सुगा झैँ भएँ । छटपटी मै दिन वितेको पनि पत्तै भएन । सँधै झैँ रबीले पश्चिम छिडीबाट मलाई चिहाएर गइसकेछ । मैले लामो सास फेर्दै पश्चिम तिर हेरेँ । रातो आकाश मात्रै बाँकी थियो तर रबी थिएन । मनभरि थरिथरिका राम्रा नराम्रा सोचहरू बग्रेल्ती तँछाडमछाड गर्न थामिएको थिएन । अरुलाई सम्झाउने, अरुलाई बुझाउने र फकाउने मेरो आफ्नै मन रोएझै थियो । मलाई सम्झाउने र फकाउने त्यहाँ कोहि थिएनन् । न त मलाई देख्ने कोहि थियो । वस् म एक्लै । मात्र एक्लै..! आपतको बेला परालको त्यान्द्रो पनि सहारा बन्छ भन्थे । मैले पनि हिरासतको भित्तालाई आफ्नो साक्षी र साथी बनाएँ । जुरुक्क उठेर भित्तासम्म गएर भित्तालाई सुमसुम्याउँदै भने, तिमी नै मेरो साथि र साक्षी । भित्ता बोलेन । मौन ! मैले सीमेन्टको अग्लो चिसो भित्तामा गाला जोडेर आँखा चिम्लँे । सुनसान रातको मैनतालाई भंग गर्दै पर गाउँतिरि कुकुर भुकिरहेका थिए । नजिकै झाडीमा किरिरिरि…… किरा कराईरहेका थिए । मैले गाऊँ देखेँ, पराले झुपडीहरू देखेँ, उकाली, ओराली, भञ्ज्याङ्ग अनि चौतारी देखेँ । किसान मज्दूर र श्रमिकहरू देखेँ । खोँच देखेँ अनि सगरमाथाको अग्लो उचाई पनि देखेँ । गाऊँगाऊँ वस्ती वस्तीमा गएर जनतासामु गरेको प्रतिबद्धता सम्झेँ । जनताको मायाँ सम्झेँ । उनीहरूले हामी माथि गरेको आशा, भरोषा र विश्वास पनि सम्झेँ । मैले क्रान्तिमा लामबद्ध जनसेना देखेँ । युद्धका घाइते—अपाङ्ग देखेँ । बेपत्ता र शहिदलाई देखेँ । उनीहरूले औंलो ठड्याउँदै खवरदारी गरेको पनि देखेँ । रात्तै भण्डाहरू बोकेका विजय जुलुस देखेँ । एक्कासी, बाहिरबाट डीउटीमा बसेका पुलिसले सर ! भनी बोलाएको आवज सुनेर म झसंग भएँ । म त भित्तामा पो टाँसिइरहेको रहेछु । सम्हालिँदै होसमा आउन खोजेँ । झन झन क्रान्ति सम्पन्न गर्ने मेरो सपनाले मलाई सताउन थाल्यो । सारा दिमाग विगततिर फर्किएर एक एक गरी पाना पल्टाउन थाल्यो । निद्रा भंग भयो ।
एकजना वैज्ञानिकले भनेका थिए—“सपना त्यो होइन जो निन्द्रामा देखिन्छ । सपना त त्यो हो जसले निदाउन दिँदैन ।” हो मलाई थाहा छ मेरो सपना पुरा भएकै छैन । त्यहि सपनाले मलाई निदाउन दिएको छैन । सम्झेँ निदाउन नदिने सपना देख्नेहरूका लागि भित्ता पनि पारदर्शि हुँदोरहेछ । भित्ताले केवल मेरो भौतिक शरिरलाई मात्रै छेकेको थियो मेरो सपनालाई होइन । मलाई बन्द कोठा, भित्ता र हतकडी फिका लाग्न थाल्यो । मैले हिरासत कोठाहरूको अगाडि भित्तामा सबै कोठाका बन्दीहरूले देख्ने गरी एउटा ठूलो भित्ते घडी राखिदिएको थिएँ । त्यसले पनि मलाई आफ्नो सपना साकार पार्ने यात्रामा अविरल पाइला चालिरहन प्रेरित गरिरहेको थियो । उ छुक….छुक….छुक…गर्दै अविरल हिँडीरहन्थ्यो । सपना साकार बनाउनका लागि सपना भित्र सपना बुन्दाबुन्दै ५५ दिनहरू आएर गइसकेछन् ।
५५ दिन पछि जिल्ला अदालत चैनपुरले मलाई दसहजार धरौटी लिएर रिहा ग¥यो तर अदालतबाटै पुलिसले फेरि गिरफ्तार गरी ५६ औं दिन अर्थात असोज ६ गते ५३ ठाउँ जति अड्डासार गर्दै दाङ्ग जिल्लाको तुलसीपुर इ.प्र.का.मा असोज ७ गते पु¥याएर बन्दी बनायो । तीन पटक सम्म म्याद थप्दै बन्दी वनाउँदै राखे । सर्वोच्च अदालमा बन्दी प्रतिक्षिकरणको रिट परेपछि असोज १७ गते काठमाडौँ लगियो । सर्वाेच्चको आदेशमा हामी असोज १९ गते रिहा भएर खुला आकाश मूनि पार्टीका सहयोद्धाहरू र आफन्त जनहरूसंग मिसियौं ।
काठमाडौँ देखि मोरङ्ग, संखुवासभा र दाङ्गसम्म चार जिल्लामा ९६ दिन बन्दी जीवन व्यतित गर्ने यात्रामा दलाल संसदीय व्यवस्था प्रति व्यापक वितृष्णा र घृणाको आगो सल्किएको देखियो । एकाध नकारात्म सोच र शैली भएका व्यक्तिको नकारात्मक हर्कत देखिए पनि अधिक पक्षहरूमा एउटा क्रमभङ्गता र परिवर्तनको तिर्खा जागेको देखियो । केहि यथास्थितिवादीहरू वाहेक आमरूपमा नेकपाबाट आकर्षित र आशावादी भएको देखियो । यी सबै परिदृष्य र घटनाहरूले मेरो सपनालाई झन गाढा बनाएको अनुभूति भयो । यसले निदाउन नदिने सपनाको अगाडि भित्ता पनि पारदर्शि हुँदोरहेछ । बिचारले लैस सपनालाई छेक्न नसक्ने रहेछ भन्ने अनुभूति पनि गरायो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु