सन् २०१९ को ६ महिनामा ३८ पत्रकार मारिए

२०७६ असार २१ गते, शनिबार

काठमाडौं, २१ असार । सन् २०१९ को पहिलो ६ महिनामा विश्वका विभिन्न २० मुलुकमा गरी ३८ पत्रकार मारिएका जेनेभास्थित ‘प्रेस इम्ब्लेम क्याम्पियन’ (पीइसी) ले बिहीबार जनाएको छ । सन् २०१८ को तुलनामा विभिन्न घटनामा मारिने पत्रकारको संख्यामा ४२ प्रतिशतको कमी देखिएको पीईसीको तथ्यांकमा उल्लेख छ । पीईसीले पत्रकारहरूको हत्यामा कमी आउनुलाई सकारात्मक भनेको छ । उक्त संस्थाले अझै पनि मेक्सिको र अफगानिस्तानमा मारिने पत्रकारको संख्या कहालीलाग्दो रहेको बताएको छ । सन् २०१९ को जनवरीदेखि जुनसम्ममा विभिन्न खाले घटनामा गरी मेक्सिकोमा नौ र अफगानिस्तानमा छ पत्रकार मारिएका जनाइएको छ ।
पीईसी महासचिव ब्लाइस लेम्पेनले भने, ‘सम्बन्धित देशको सङ्घसंस्थाले सञ्चारमाध्यम तथा त्यहाँ कार्यरत पत्रकार र अन्य सञ्चारकर्मीको सुरक्षाको प्रत्याभूत गर्न असफल हुँदा वा आवश्यक कानूनी प्रक्रियामा लान असफल बन्दा यसलाई हेर्न र दण्डहिनताविरोधी सङ्घर्षका लागि अन्तर्राष्ट्रिय समुदायले स्वतन्त्र संरचनाको स्थापना गर्नुपर्ने देखिएको छ ।’ उनले भने, ‘क्षेत्रीयस्तरमा हेर्दा ल्याटिन अमेरिकी मुलुकहरूमा सन् २०१९ को पहिलो छ महिनामा अन्य क्षेत्रको तुलनामा सबैभन्दा धेरै १५ जना पत्रकार मारिएका छन् भने यससम्बन्धी मध्यपूर्वको तथ्यांकमा सुधार आएको देखिएको छ ।’
मध्यपूर्वी मुलुक सिरिया र इराक पछिल्लो समय द्वन्द्वका घटनामा पनि कमी आएको र पत्रकारहरूमाथिको आक्रमण पनि तुलनात्मक रूपमा कम बनेको देखिएको हो ।
सरकार, विभिन्न संघसंस्था तथा नागरिक समाजले पत्रकारमाथिको आक्रमणलाई कमी गर्न पत्रकारको सुरक्षामा ध्यान दिनुपर्ने र यसबाट आधाभन्दा बढी पत्रकारको हत्यामा कमी ल्याउन सकिने भन्दै गत बर्ष पीईसीले सोही अनुरूप अघि बढ्ने कार्यक्रमको लक्ष्य निर्धारण गरेको थियो ।
सन् २०१४ मा स्थापना भएको अन्तर्राष्ट्रिय पत्रकारहरूको समूह पीईसी गैर–सरकारी संस्था हो जसले संयुक्त राष्ट्रसंघसँगको विशेष परामर्शमा पत्रकारलाई वैधानिक संरक्षण तथा सुरक्षाका लागि द्वन्द्वरत क्षेत्रमा काम गर्दै आएको छ । – रासस/सिन्ह्वा

प्रतिक्रियाहरु