सत्तारूढ नेकपाको सार्वजनिक जग्गा हडप्ने प्रयास असफल

२०७६ कार्तिक २१ गते, बिहीबार

काठमाडौं , २१ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी र स्थानीय जनताको संयुक्त पहलले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा ३ नं. प्रदेशका सांसद कृष्णप्रसाद खनाल र रनपा चितवनका मेयर नारायण वनद्वारा नपा–१, निकुञ्जमार्गमा रहेको सार्वजनिक जग्गा हडप्ने प्रयासलाई असफल पारिदिएका छन । चितवन रनपा–१, निकुञ्जमार्ग, भक्तिनी बगैँचामा बुढीखोलाको किनारमा रहेको ६ कट्ठा १२ धुर जग्गा दलालहरूले कब्जा गर्न खोज्दा २०६३ सालमा तत्कालीन माओवादीले रोकेर ‘सहिद स्मृति बालउद्यान’ निर्माण गर्ने निर्णय गरेको थियो । बुढीखोलाको परिधिमा रहेको त्यसैप्रकारको अन्य जग्गा स्थानीय व्यापारीहरू राजेन्द्र श्रेष्ठ, दीपक कर्माचार्य, श्यामबहादुर अवाल (मृतक) लगायतले कब्जा गरिसकेका छन् । महेन्द्र राजमार्गको उत्तर र दक्षिणमा रहेको बिघौँ जग्गा दलालहरूले कब्जा गरिसकेका छन् । बुढीखोला सुक्दै गएपछि त्यसो गरिएको हो ।
२०६४ सालमा ‘सहिद स्मृति बालउद्यान’ बनाउन स्थानीयले टङ्क रेग्मी (गोर्खाली), समीक्षा आचार्य, सावित्री नेपाल, हरि पौडेल (सदस्यसचिव), ज्ञानु विश्रुवालसहितको ९ सदस्यीय निर्माण समिति बनाएका थिए । तत्कालीन सांसद रामबहादुर थापा ‘बादल’ द्वारा सांसद विकास कोषबाट ३ लाख, एक क्लबबाट १ लाख र नपाले समेत आर्थिक सहयोग गरे । पर्खाल उठाउने, सम्याउने, वृक्षरोपण गर्ने कामहरू पनि भए । २०७४ मा सीपी मैनाली नेतृत्वको नेकपा (माले) ले २० टिप ढुङ्गा सहयोग गर्यो । मैनालीले भ्रमण पनि गरे । २०७४ मा नै रत्ननगर उद्योग वाणिज्य सङ्घले उद्यानमा सहयोग गर्न चाहेको प्रस्ताव राख्यो । स्थानीयले सकारात्मक रूपमा लिए । तर मेयर नारायण वन र नेता खनालले भित्रभित्रै उक्त जग्गा कब्जा गरी उद्योग वाणिज्यलाई प्रदान गर्ने षड्यन्त्र गरेको खुलासा त्यसबेला भयो जब उद्योग वाणिज्यको कार्यालय बनाउने र यसको हकभोग हुनेगरी नक्साङ्कन र प्रस्ताव गरियो । बजेट निकासा ५० लाख, नक्साङ्कन, बोलपत्र आह्वान भयो । स्थानीयको व्यापक विरोधपछि रनपाका इन्जिनियर पङ्कज गिरी, रनपा– १ का अध्यक्ष शंकसिंह तामाङ, वडा ५ का अध्यक्ष कृष्ण चौधरी, राजाराम, दीपक कर्माचार्य, नारायण वनलाई घेरा हाले ।
चर्को विरोधपछि २०७५ वैशाख २४ र २५ गते स्थानीय प्रशासनको मध्यस्थतामा सर्वपक्षीय बैठक भयो जसमा उक्त जग्गा स्थानीय वडाबासीको नेतृत्वमा ‘सहिद स्मृति बालउद्यान’ नै बनाउने निर्णय भयो । नेता खनाल, मेयर वनसहितको जनविरोधी षड्यन्त्र असफल भयो । निकासा भएको ५० लाख बजेट फ्रिज गराए । उक्त जनपक्षीय काममा स्थानीय समाजसेवी हरि पौडेल, ठाकुर पौडेल, बालकृष्ण रेग्मी, गोविन्दप्रसाद रिजाल (खोलाकी), प्रेम रेग्मी, सङ्गीता खनाल, विष्णु पौडेल, शारदा अधिकारी, वीरबल तामाङ, धन्दप्रसाद खनाललगायतले नेतृत्व गरे । त्यसमा नेताहरू जेएन थपलिया, प्रेम दवाडी, यादव पाठक, प्रताप डल्लाकोटी, रूपनराज घिमिरे, पिताम्बर आचार्यलगायतले जनताका पक्षमा भूमिका निर्वाह गरे । उक्त द्वन्द्वमा स्थानीय जनताको विजय र षड्यन्त्रकारीहरूका विरुद्ध ने.क.पा. चितवनको निर्णायक भूमिका रहेको स्थानीयहरू बताउँछन् । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका युवा नेता उत्सवले ‘जनविरोधी षड्यन्त्र नरोकिए जनकारबाही गर्न वाध्यहुने’ चेतावनी दिएका थिए । आ.व. २०७६ मा रनपा– १ ले २ लाख २९ हजार उद्यानलाई प्रदान गरेको छ र आर्थिक जोहो गरेर निर्माणकार्य सुरु भएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु