सत्तारुढ सांसदहरुद्वारा अर्थमन्त्री खतिवडालाई हटाउन माग

२०७५ श्रावण २६ गते, शनिबार

काठमाडौं , २६ साउन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरुले नै अर्थमन्त्री डा. युवराज खतिवडालाई हटाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । शुक्रबार सिंहदरबारमा प्रदेश नम्बर–५ बाट संघीय संसदमा प्रतिनिधित्व गर्ने नेकपाका सांसदहरुसँगको छलफलकाक्रममा उनीहरुले बजेटकै कारण सरकार असफल हुने अवस्था आएको भन्दै अर्थमन्त्री परिवर्तन गरेर अघि बढ्न सुझाव दिएका हुन् । छलफलमा सहभागी अधिकांश सांसदहरुले बजेटपछि जनतामा निराशा बढेको भन्दै सरकारलाई अलोकप्रिय बनाउन अर्थमन्त्रीको भूमिका बढी देखिएकाले उनलाई हटाउन सुझाव दिएको सांसदहरुले बताएका छन् ।
प्रदेश सांसदहरुलेसमेत अर्थमन्त्री डा. खतिवडाको आलोचना गर्दै ‘गल्ती भइसकेको छ । अब ‘करेक्सन’ गर्नुपर्छ’ भन्ने सुझाव प्रधानमन्त्री ओलीलाई दिएको बुझिएको छ ।
सांसदहरुले यातायातको ‘सिन्डिकेट’ खारेज गर्ने र ठेकेदारमाथिको विषय चर्चामै सीमित रहेको, जनताले राहतको सट्टा करको भारी व्यहोर्नुपरेकोलगायतका गुनासो पनि प्रधानमन्त्री ओलीसँग गरेका थिए । प्रधानमन्त्री ओलीले भने पूर्ववर्ती शेरबहादुर देउवा सरकारमाथि दोष थोपर्ने कोसिस गर्दै अघिल्लो सरकारले देश खोक्रो बनाएकाले जनताका अपेक्षा पूरा गर्न नसकेको बताएका थिए ।

प्रतिक्रियाहरु