सत्ताधारी नेकपाभित्रको द्वन्द्व : ओलीको पैताला मुनि

२०७७ असार २८ गते, आईतवार

काठमाडौं, २८ असार । यतिबेला सत्ताधारी नेकपाभित्र पद र व्यक्तिगत स्वार्थको लडाइँ चर्किएको छ । प्रधानमन्त्री केपी ओली सरकारले राम्रो काम गरिरहेकाले सरकार बदल्नु आवश्यक नभएको बताइरहेका छन् भने पार्टीका अर्को अध्यक्ष प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमलगायतका नेताहरु ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद त्याग्नुपर्ने बताउँदै आएका छन् । प्रधानमन्त्री ओली सरकार र पार्टी अध्यक्षबाट कुनै हालतमा नहट्ने र प्रचण्ड–नेपाल झुण्ड कुनै पनि हालतमा ओलीलाई नहटाई नछाड्ने अडानमा छन् ।
प्रधानमन्त्री ओलीले इतिहासमै नेपालको गुमेको भूमिसहित नक्सा सार्वजनिक गरेर राष्ट्र र जनताप्रति ऐतिहासिक काम गरेको र भविष्यमा भारतले अतिक्रमण गरेको भूमिसमेत फिर्ता ल्याउने बताउँदै आएका छन् । ओली पछिल्लो समय नक्सा प्रकरण, नागरिकता विधेयक र एमसीसीलाई चलाखीपूर्ण ढङ्गले सम्हालेका छन् । वैदेशिक हस्तक्षेपलाई रोक्न ओलीले चालु संसद्को अधिवेशन अन्त्य गरेर नागरिकता विधेयक र एमसीसी सम्झौतालाई ओझेलमा पारिदिएका छन् । ओलीका यिनै चलाखीपूर्ण कार्यले प्रचण्ड–नेपाल झुण्डलाई पार्टीभित्र अस्तित्व जोगाउन संकट परेको देखिन्छ । प्रधानमन्त्री ओलीले भनेजस्तै ओलीपछि हुने प्रधानमन्त्री उनी जत्तिको पनि राष्ट्रवादी नहुने छर्लङ्गै देखिन्छ । त्यसकारण पनि अ‍ोलीले अहिले जनताको साथ र सहानुभूति पाएको देखिन्छ । यसको बलमा ओलीले प्रचण्ड–नेपाल झुण्डलाई पैताला मुनि दबाएरै राख्ने प्रस्ट देखिन्छ ।
यता सत्ताधारी नेकपाको असार १० बाट शुरु भएको स्थायी समितिको बैठकमा घोषित एजेण्डाभन्दा बाहिर प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजीनामा दिनु पर्ने माग अध्यक्ष प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमसहित अधिकांश स्थायी समिति सदस्यले राखे पछि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली बैठकमै सामेल भएनन् । बरु, उनले संसदको हिउँदे अधिवेशन अन्त्य गरिदिएर दुबै पदबाट नभए कम्तीमा एउटा पदबाट राजीनामा दिलाएरै छाड्ने तयारीमा लागेका प्रचण्ड–माधव झुण्डलाई दह्रो झापट दिए । ओलीले नगल्ने बरु पार्टी फुटे फुटोस् भन्नेतिर गए पछि यतिबेला प्रचण्ड–माधव झुण्डलाई आपत परेको छ । स्थायी समितिको बैठकमा राजीनामाको विवाद शुरु भए पछि पटक–पटक प्रचण्ड र ओलीबीच छलफल भयो तर सहमति हुन सकेन । ती सबै भेटहरु बालुवाटारमै भएका छन् । तर, अहिलेसम्म छलफल जारी राख्ने सहमतिबाहेक अर्को सहमति हुन सकेको छैन । स्थायी समितिको बैठक साउन २ गतेसम्मका लागि पुनः रोकिएको छ । ओली स्थिर सरकार दिनु पर्ने भन्दै आफ्नो अडानबाट टसको मस नभएपछि बहुमतका आधारमा निर्णय गरेर राजीनामाको निर्देशन दिँदा पार्टी फुट्ने र त्यसको अपजस तल्लो स्तरमा आपूmहरुको टाउकोमा आउने भएपछि प्रचण्ड – माधव झुण्ड थप अप्ठ्यारोमा परेका छन् र अब उनीहरु ओलीको शरण पर्नुबाहेक अर्को बिकल्प नभएको प्रस्ट देख्न सकिन्छ । – क्षेप्यास्त्र साप्ताहिक

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु