सत्ताधारी नेकपाको स्थायी समिति बैठक पुनः स्थगित

२०७७ असार २४ गते, बुधबार

काठमाडौं , २४ असार । सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक पार्टीभित्रको विवादका विषयमा शीर्ष नेताबीच सहमति जुट्न नसकेपछि शुक्रबारसम्मका लागि स्थगित गरिएको छ । नेकपाको स्थायी समिति बैठक आजसहित चारपटक स्थगित भइसकेको छ । मंगलबार प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच आज बैठक राख्ने सहमति भएको थियो ।
असार १८ गते प्रधानमन्त्री ओलीले सल्लाह नै नगरी संसद अधिवेशन अन्त्य गरेपछि स्थायी समिति बस्न सकेको छैन । पार्टीमा देखिएको विवादमा सहमति खोज्नका लागि दुई अध्यक्षविच छलफल भने जारी रहने बताइएको छ । लगातार छलफल भएपनि ओली र दाहालबीच अझै कुरा मिलेको छैन । प्रधानमन्त्री ओलीले अझै पनि दाहालसँग राजीनामाबाहेकका एजेन्डामा मात्र छलफल गर्न भनिरहेका छन् । तर अध्यक्ष दाहालले ओलीले राजीनामा दिनुपर्ने अडानमै छन् । स्थायी समिति बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले दुबै पदबाट राजीनामा दिनुपर्ने माग भएपछि नेकपामा विवाद चुलिएको छ । प्रधानमन्त्री ओलीले स्थायी समितिले दवाब दिँदैमा आफूले पदबाट राजीनामा नदिने बरु जस्तोसुकै परिस्थिति पनि सामना गर्ने चुनौती दिँदै आएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु