सगरमाथा पुग्ने पर्यटक आधा घटे

२०७२ मंसिर ८ गते, मंगलवार

काठमाडौं, ८ मंसिर । पर्यटक प्रहरी कार्यालय सोलुखुम्बु, लुक्लाका प्रमुख भानुभक्त नेपालका अनुसार भूकम्प र भारतको नाकाबन्दीका कारण सगरमाथा क्षेत्र आउने पर्यटकको संख्या ४५ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको कात्तिक महिनामा ९ हजार ५ सय १६ जना पर्यटक सगरमाथा क्षेत्र आएकोमा यो वर्षको कात्तिकमा ५ हजार एक सय ७८ जना पर्यटकले मात्र सगरमाथा क्षेत्रको भ्रमण गरेको उनले जानकारी दिए ।
यत्तिबेला सगरमाथा क्षेत्रमा पर्यटक आउने मुख्य सिजन भएपनि भूकम्प र नाकाबन्दीका कारण यस क्षेत्रमा प्रवेश गर्ने पर्यटकको संख्या घटेको हो । पर्यटक प्रहरी कार्यालय लुक्लाका अनुसार गएको वर्ष दैनिक दुई सय पर्यटक सगरमाथा क्षेत्र प्रवेश गर्ने गरेकोमा यो वर्ष दैनिक एक सय जनाको हाराहारीमा मात्र पर्यटक आउने गरेका छन् ।
सगरमाथा क्षेत्रमा आउने पर्यटकको संख्या घट्दा पर्यटन तथा होटल व्यावसायीमा प्रत्यक्ष असर परेको होटल व्यावसायी लामाकाजी शेर्पाले बताए । ‘सगरमाथा क्षेत्रमा भाडामा होटल सञ्चालन गर्ने व्यवसायीलाई होटल भाडा उठाउनै मुस्किल छ, नाकाबन्दीका कारण सामान पनि अभाव सुरु भएकोले थप समस्या झेल्नु परेको छ’ व्यवसायी लामाले बताए ।

प्रतिक्रियाहरु