सगरमाथाको उचाइ नाप्न चिनियाँ टोली चुचुरोमा

२०७७ जेष्ठ १४ गते, बुधबार

काठमाडौं, १४ जेठ । चिनियाँ सञ्चारमाध्यमले सगरमाथाको उचाइ नाप्नका लागि सर्वेक्षकहरुको टोली चुचुरोमा पुगेको दृश्य प्रत्यक्ष प्रशारण गरेका छन् । सगरमाथाको उचाइ पत्ता लगाउनका लागि चीन सरकारले सर्भे टोली सगरमाथामा पठाएको हो । टोलीले चिनियाँ भाषामा चोमोलोङ्मा भनिने सगरमाथाको हालसम्मकै सबैभन्दा विस्तृत र वैज्ञानिक सर्भेक्षण गर्ने चिनिया सञ्चारमाध्यमले जनाएका छन् । सर्भेमा चीनले हालसम्मकै आधुनिक प्रणाली अपनाइएको जनाएको छ । त्यसमा घरेलु सर्वेक्षण उपकरणदेखि थ्री डी प्रविधिसम्म प्रयोग भएको छ । टोलीमा ३० भन्दा बढी चिनियाँ सर्वेक्षकहरु सहभागी छन् । चिनियाँ राष्ट्रपति सी जीनपिङको नेपाल भ्रमणका समयमा सगरमाथालाई मित्रताको प्रतीक मान्दै संयुक्त रूपमा त्यसको उचाइ घोषणा गर्ने सहमति दुई देशबीच भएको थियो ।
नेपालले सगरमाथाको उचाइ नाप्ने अभियान अन्तिम चरणमा पुर्‍याएकै समयमा चिनियाँ टोली पनि चुचुरोमा पुगेको हो । दुबै टोलीले काम सकेपछि संयुक्त रूपमा उचाई घोषणा गर्ने तयारी छ । नेपाली पक्षले अघि बढाएको शिखरको उचाइ नाप्ने अभियान अन्तर्गत फिल्ड मा गर्नुपर्ने काम सकिसकेको छ ।
अहिलेसम्म १९५४ मा सर्वे अफ इण्डियाले सार्वजनिक गरेको ८ हजार ८ सय ४८ मिटरलाई सगरमाथाको उचाइका रूपमा मान्यता दिँदै आइएको छ । पछिल्लो सर्वेपछि सगरमाथाको नयाँ उचाइ सार्वजनिक हुनेछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार