संस्मरण : माल्कोटमा कथित स्थानिय निर्वाचन खारेजी – नरेन्द्र विश्वकर्मा

२०७४ भाद्र ३ गते, शनिबार

एकीकृत जनक्रान्तिको व्यावहारिक प्रयोग अथवा वर्गसंघर्ष । जसको एक खुड्किलो वा कडी थियो कथित स्थानिय निर्वाचन ०७४ को खारेजी । मेरो जन्मस्थल कालिकोटको माल्कोट जाने अवसर जुट्दा जहिलेपनी म खुसि हुने गर्छु । आफन्त, साथीभाई, पार्टीका कमरेडहरु, जनयुद्धमा कालिकोटको भुमिका र ईतिहास, वनजंगल, हरियाली, निलो सिरुपाते कर्णाली नदी आदी कुराहरुले मलाई जहिलेपनि कालिकोट र मालकोटले आक्रसित गर्छ । जनयुद्ध र गा्रमिण वर्गसंघर्षका कथा÷गाथाहरु सुन्दा मलाई भगत सिँह र चन्द्रशेखर आजादका जस्ता कथाहरु मेरै जन्मथलो कालिकोट र माल्कोटमा छन् र त्यस्ता विद्रोहहरु भएका थिए जस्तो लाग्छ । मात्र वाँकि छ त तिनिहरुको खोज अध्ययन र प्रचारप्रचार । त्यसमा पनि त्यहाँका जनतामा भएको क्रान्तिकारीपन, पार्टी र क्रान्तिप्रतिको प्रतिवद्धता तथा निरन्तरताले मलाई जहिले पनि लोभ्याउछ ।
सुर्खेतबाट कालिकोटको वस चड्नु भन्दा अघि एक डिव्वा इनामेल र एक थान व्रस किन्ने सोच बनाए र किने । कालिकोट र दैलेखको सिमाना कालेखोलासम्म करिव १० घण्टाको वस यात्रापछि कालेखोलादेखि एक विदेशी संस्थाले वनाईदिएको झुलुङ्घे पुल तरेर खुलालु त्यसपछि २ घण्टाको ठाडो उकालो, अनि लालु र माल्कोटका बाटोभएका कसैलेपनि नछोएका र पानिले पखालेख सफाचट पारेका चिल्ला ढुँगाहरु मेरालागी क्यानभास भए । अनि तिनहिरुमा मैले पार्टीका पछिल्ला मुख्य÷मुख्य नाराहरुले पोतिदिए । नारा लेख्दैगर्दा बाटोमा प्रहरीसंग जम्काभेट भयो उनिहरुले हामीलाई केरकार गरे र पक्राउ गर्न समेत खोजे तर अनिहरुको आन्तरिक मतभेद र हामीलाई चिन्न नसकेर छोडीदिए तर चेतावनी भने दिएर गए । उनिहरुले भने कि मैले उनिहरुको अपमान गरे रे, उनिहरुकै अगाडी कथित स्थानिय निर्वाचन खारेज गरौँ भन्ने नारा लेखेर । वाटोमा मेरा साथी थिए संगै गएका भाई संगा्रम अनि गाँउबाट हामीलाई लिन आएका सानीमा धनसरा र वहिनीहरु रस्मी र मनास्लु ।
मनास्लु उमेरले सात वर्षकी भई तरपनि उसको पिठिउँमा मेरो भन्दा ठुलो भारी थियो । घरको लागी खाध्यान्न, कपाडा लगायतका सामानहरुले भरिउको उसको डोको देखेर कताकता मन पोल्यो । हाम्रो गाँउमा भएको विकासको गति देखेर । अझै सम्म पनि सडकले नछोएको हाम्रो गाँउका लागी यी साना नानीहरुको पिठिउँमा उनिहरुभन्दा ठुला भारीहुनु सामान्य हुन । घटनाहरु सामान्य हुन्छन तर भोगाईहरु असामान्य हुन्छन् । त्यो दृष्य देख्दा जीवन शर्माको “सानै छ भुन्टे तर पिठिउँमा छ भारी डरै डरले तपै तपले हिड्छ कठै वरी” भन्ने गितको सम्झना भयो ।
कालेखोलाबाट करिव ४ घण्टाको उकालो बाटो पछि माल्कोट पुग्दा जनताका घरका छतहरुमा कम्युनिष्ट पार्टीका झण्डाहरु फरफराईरकेका देखिए । गाउँको सुरुकै रुखमा हँसिया हतौडा अंकित ठुलो झण्डा फरफराईरहेको थियो । लाग्यो चुनावमा भाग लिने भन्दा खारेजि गर्नेहरुलाई उत्सव लागेको छ । निरन्तर क्रान्ति जनताको लागी निरन्तर उत्सव हो भन्ने कुरा चरितार्थ भए जस्तो लाग्यो । माथि हरियो जंगल, घरहरु, सफा स्वच्छ हावा, घरका हँसिया हतौडा अंकित छतहरुमा राता झण्डाहरु फरफराईरहेको अनि मानिसहरु यत्रतत्र बारीमा काम गरिरहेको दृष्य एउटा सुन्दर चित्रको रुपरेखा जस्तो देखिन्थ्यो आँखाका सिमा सिमा सम्म ।
२२ गते गाँउमा पुगेपछि हाम्रो पहिलो काम जनतामा जागरण कार्यक्रमहरु संचालन गर्ने भयो । यसको लागी घरका छतमा कम्यूनिष्ट पार्टीको झण्डा राख्ने, माईकिङ्घ गर्ने, भित्तेलेखन, प्रचार प्रचार, वैठक छलफल र भेटघाटहरु तिव्र पारियो । यस क्रममा राईटा, विथलडाडा, ढम्पाटा, राताखाल लगायतका ठाउँमा नेकपाका नेता कार्यक्रता र युवाहरुको टिमहरु कथित स्थानि निर्वाचन विरोधी प्रचार प्रचारमा पुग्न थाले । भेटघाट र छलफलका क्रममा जनताहरु र केही उम्मेदवार समेत हरु हाम्रो पार्टीको निति, विचार र योजनासंग निकै नै सहमत हुन्थे । हामीले सर्वप्रथम पार्टीको योजना अनुरुप कथित स्थानिय निर्वाचन खारेजीको पक्षमा जनताको घरदैलोमा पुग्ने र यो निर्वाचनको अन्तर्यमा रहेको जनविरोधी र राष्ट्रघाति चरित्रको पर्दाफास गर्ने कार्यक्रम सम्पन्न गरेउँ । यस पटक मैले धेरै स्थानिय मानिसहरुलाई नजिकबाट चिन्ने र सहकार्य गर्ने मौका पाए । २०५८ सालपछि निरन्तर कालिकोट जिल्ला वाहिर रहेकाले यस पटक व्यक्तिगत रुपमा उनिहरुसंग सहकार्य गर्ने लामो अवसर पाईयो । जनताको क्रान्ति र पार्टी प्रतिको सर्मपण र प्राथमिकता देखेर वास्तममा जनयुद्धको आधारइलाका त्यत्तिकै भएको होइन भन्ने कुराको गहिरो अनुभुति भयो ।
यसै विच माल्कोट गाविसको वडा न ४ लाई कथित स्थानिय निर्वाचन निषेधित क्षेत्र घोषणा गरियो । जनताहरु खारेजि आन्दोलनमा निकै नै उत्साहित भएर सहभागि भएका थिए । दलाल संसदिय व्यवस्थाको यो निर्वाचनमा निकै नै तल्लो स्तरका गतिविधि र हतकण्डाहरु अपनाईएको पाईयो जस्तोकी आर्थिक प्रलोभन देखाउने, जनतालाई राज्य शक्ति देखाएर आतंकित पार्ने, जाड रक्सीको अत्यधिक प्रयोग गर्ने आदि । यी सवैका वावजुत नेकपाको निर्वाचन खारेजिको अभियान माल्कोटमा तिव्र गतिमा अगाडी वढेको थियो । यसै विच एउटा समस्या आईपर्यो । जसै निर्वाचन नजिक आउदै थियो प्रहरी र सेनाले गाँउ गस्ती गर्ने, नेकपाका नेता कार्यक्रताहरुलाई खारेजीको प्रचारमा गाँउ जान नदिने, प्रक्राउ गर्ने र गाँउ र हाम्रो संभावित वस्ने ठाउँहरु कव्जा गर्ने रणनिति अपनाए । यसले जनता र नेकपा विचको सम्वन्ध तोड्न सकिन्छ भन्ने उनिहरुको आकलन थियो । तर हामीले रातिको समयमा जनसम्पर्क स्थापना गर्ने र छलफल गर्ने क्रमलाई तिव्र वनायौ । २८ गतेको राति कोलडाडामा सयौँको संख्यामा मसाल जुलुस सम्पन्न गरियो । यस घटनाले संसदवादीहरुमा एक प्रकारको आतंकको सिर्जना भयो ।
जन निर्वाचनको दिन आयो सेना र प्रहरीहरुले गाँउमा गस्ति गरिनै रहे । नेकपाका कार्यक्रताहरुलाई जनतासम्म पुग्न नदिने र जनतालाई निर्वाचनमा भाग लिनुपर्छ भनि दवाद दिन थाले । यसै क्रममा दिनको करिव २ बजेदेखि नै माल्कोटका जनता र विषेशगरी युवाहरुले यो निर्वाचन जनताको पक्षमा नभएको र जनताको मुक्तिको आकंक्षालाई पुरा गर्न नसक्ने भएकाले यसको खारेजिको लागी मतदान केन्द्र नजिक विरोध र असहमति व्यक्त गरिरहे । यो क्रम बढ्दै जादाँ प्रहरी र जनताको विचमा झडपको स्थिति उत्पन्न हुन थाल्यो । जनताले शान्तिपुर्ण आन्दोलन गरिरहेको र निर्वाचन खारेजिको पक्षमा आवाज उठाईरहेको वेला प्रहरीले करिव ५ बजे मतदान केन्द्रमा रहेका दलाल संसदिय व्यवस्थाको कथित स्थानिय निर्वाचन विरोधि जनताहरुमाथि एक्कासी अन्धाधुद १० राउण्ड गोलि प्रहार गर्यो । गोली लागी धनरुप बटाला, व्यासी विश्वकर्मा, दान व बटाला लगायत ४ जना स्थानिय वासिन्दाहरु घाईते भए ।
त्यसपछि माल्कोटको सेरापाटा वुथ युद्धमैदानमा परिणत भयो । एकातिर कोठाभित्र प्रहरी र निर्वाचनका टोली र वाहिर जनताको आन्दोलन र घाईतेहरुको रगतको खोला । त्यसपछि घरघरबाट महिला, वृद्ध, बालवालीका लगायत सवै जनताहरु निर्वाचन र प्रहरीका विरुद्ध प्रतिरोधमा उत्रिन थाले । महिलाहरु वच्चा वोकेर प्रतिरोधमा गईरहेको, युवाहरु अगाडीको रणमैदानमा रहेको, अनि प्रहरीका गोलिका वावजुद सवै जनताहरु वुथकेन्द्र कव्जा गर्न गईरकेको दृष्य नेकपाले आठौँ महाधिवेशनमा प्रकाशित गरेको पोष्टरमा देखिने दृष्य जस्तै थियो । त्यसको करिव आधा घण्टा पछि प्रहरी र निर्वाचन टोलीले जनताका सामु आत्मसर्मपण गर्यो र त्यहाँ मतपत्र र झोलाहरु छोडेर भाग्यो । नेपाली सेना भने निकैनै सम्यमित भएको थियो । उनिहरु जनताको आन्दोलन र विद्रोहको विपक्षमा गएनन्, सहकार्य गरे । उनिहरुलाई जनताले विष्कुट, पानी लगायतका खानेकुराहरु दिएको दृष्य निकै नै मार्मिक थियो । त्यसपछि जनताले मतपत्र जलाए र कथित स्थानिय निर्वाचन खारेज गरौँ । नेपाल कम्युनिष्ट पार्टी जिन्दावाद । एकिकृत जनक्रान्ति जिन्दावाद जस्ता नारा लगाए । त्यसमा नेपाली सेनाको सकारात्मक भुमिका पछि जनताले प्रहरी वाईवाई नेपाली सेना हाईहाई भन्ने नाराहरु पनि लगाए । सेनालाई त्यहाँबाट विधाई गरि घाईतेको उपचार गर्न थालियो । नाईट भिजन हेलिकप्टर पठाउन र वसाल्न सकिएको भए गम्भिर घाईते र राति २ बजे वित्नुभएका धनरुप वटालालाई वचाउन सकीन्थ्यो । तर अत्यन्तै प्रतिकुल मौसमका कारण त्यो काम संभव भएन । विहान पनि नेकपाले पठाएको हेलीकप्टर लाई वस्न नदिएकोबाट पनि सरकारको नियत प्रस्ट हुन्छ ।
कालिकोट जिल्लाको माल्कोट गाँउमा २०५४ चैत्र २६ गते निशस्त्र महिलाहरुले शसस्त्र प्रहरीको वन्दुक खोसेको १९ वर्ष पछि फेरी एक चोटी माल्कोटले यो शासन र राज्य व्यवस्था विरोधी आफ्नो आवाजलाई रगतको मुल्य चुक्ता गरेर भएपनि सवैको कानहरुमा गुन्जीरहेने गरी सुनाएको छ । ०५४ सालको महिला प्रतिरोध र अहिलेको चुनाव खारेजीका धेरै कुरा समान छन् सवै नभनौ तात्तीक भिन्नता छैन । त्यो वेला पनि तत्कालीक राज्य व्यवस्था र शाशकहरुका विरुद्धको विद्रोह थियो अहिले पनि त्यो त्यही नै छ । वदलिएको चिज केही छ भने त्यो मात्र समय हो, केही व्यक्तिहरुको पक्षधरतालाई पर राख्ने हो भने । माल्कोटको व्यवस्था विरोधी विद्रोही चरित्र पुरानो हो । रातोखवरमा छापिएको नेकपाका प्रवक्ता क। प्रकाण्डको सल्लारुखलाई लालसलाम भन्ने लेखबाट पनि त्यस कुराको यथेस्टहरु प्रमाण पाउन सकिन्छ ।
अहिले संसदवादीहरुले राज्य सत्तामा सवै परिवर्तन भैसक्यो भनेका छन् तर वास्तममा ती सवै फेरवदलहरु आकृतिमा मात्र भएको र गुदी प्रकृतिमा भने निरन्तरता मात्रै हो । सन् १९५० मा प्रजातन्त्र पुर्नस्थापनापछि दुई पञ्चे प्रधानमन्त्रीहरुले प्रतिनिधिसभामा रजाइँ गरे । पुरानो राजकीय संरचनामाथि नयाँ प्रारुपहरुको वुट्टा भरियो तर शासनमा भने सम्भ्रात वर्ग, अभिजात तथा ठालु समुहको पकड कायम रह्यो । गणतन्त्रपछिको परिस्थितिमा पनि राज्यसत्ताको वास्तवित चरित्र जस्ताको तेस्तै छ भने अस्थिर सरकारमा अंगमा तिनै राजावादीहरु, दक्षिणपन्थिहरु र नवसंसोधनवादी दलालहरुको वोलवाला रहेको छ अझ यिनिहरुको चरित्र वदलिएर विदेशिका दलालमा परिणत भएका छन् । देश र जनता जे सुकै होस आफ्नो व्यक्तिगत स्वार्थमा लिप्त रहेका छन् । अर्थात, उल्लेखित राजनैतिक फेरवदलहरु आधाभुत नभई परम्परागत व्यवस्थाको फगत काँचुली–फेराई हो । यही कारण देशमा सामाजिक, आर्थिक राजनैतिक रुपान्तरण हुन सकेको छैन ।
जसरी माल्कोटका जनताले यो दलाल संसदिय राज्य व्यवस्था र शासनका विरुद्ध विद्रोह गरेको छन् यसबाट सम्पुर्ण क्रान्तिकारी जनसमुदायले शिक्षा लिन र यसको अनुकरण गर्न आवश्यक छ । माल्कोट गाँउले एकीकृत जनक्रान्तिको व्यवहारिक प्रयोग अथवा वर्ग संघर्षका योजनाहरु कार्यन्वयन गर्ने क्रममा एउटा ऐतिहासिक र साहसिक भुमिका निर्वाह गरेको छ । जनताको विद्रोही भावना र एकिकृत जनक्रान्ति प्रतिको प्रतिवद्धता र समर्पणले दलाल पुँजिवादी संसदिय व्यवस्थाको आयु लामो नरहेको सन्देश दिएको छ । जनताको शक्ति नै अन्तिम र निर्णायक शक्ति हो भन्ने कुराको व्यवहारतह प्रमाणित गरेको छ ।

प्रतिक्रियाहरु