संसदीय समितिको निर्णयप्रति सर्वोच्च अदालत असन्तुस्ट

२०७६ आश्विन ११ गते, शनिबार

काठमाडौं, १० असोज । संसदीय समिति र नेपाल बार एसोसिएसनको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको लाभकरसम्बन्धी फैसलाको अध्ययन गर्ने निर्णयप्रति सर्वोच्च अदालतले असन्तुष्टि जनाएको छ । दसैं–तिहारको शुभकामना आदान–प्रदानका लागि शुक्रबार सर्वोच्च अदालत परिसरमा गरिएको कार्यक्रममा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले घुमाउरो तरिकाले एनसेलको लाभकर फैसला अध्ययन गर्ने निर्णयप्रति असन्तुष्टि जनाएका हुन् । उनले स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाले गरेको फैसलामा प्रश्न उठाइएको भन्दै असन्तुष्टि जनाए । असम्बद्ध व्यक्ति, निकाय वा प्रक्रियाबाट फैसलाको परीक्षण गर्ने कार्य न्यायपालिकाको मूल्य–मान्यताविपरीत हुने उनको भनाइ थियो ।
संविधानले परिकल्पना गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको अवधारणा कानुनमा मात्र भएर नहुने भन्दै प्रधानन्यायाधीश राणाले फैसला वा आदेशहरु विधिपूर्वक भने परीक्षण हुनसक्ने बताए । न्यायपालिका सुदृढीकरणका लागि विगत १५ वर्षदेखि पञ्चवर्षीय रणनीतिक योजना ल्याउने गरिएको भन्दै उनले यो वर्षको रणनीतिक योजना कार्यान्वयनमा ल्याउन सबैको सहयोगको अपेक्षा रहेको पनि बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु