संवैधानिक परिषद्को बैठक अनिश्चित

२०७५ श्रावण २३ गते, बुधबार

काठमाडौं, २३ साउन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सहभागी नहुने भएपछि संवैधानिक परिषद्को बैठक अनिश्चित बनेको छ । परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आजका लागि बैठक बोलाएपनि प्रमुख प्रतिपक्षी दल काँग्रेसका सभापति देउवा सिंगापुर जाने भन्दै बैठकमा सहभागी नहुने जानकारी गराएका थिए । जसका कारण बैठक अनिश्चित बनेको छ । यसअघि परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीको नाम संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेपछि काँग्रेस असन्तुष्ट बनेको छ ।
देउवा एक सातापछि मात्र स्वदेश फर्किने बताइएको छ । हिजो बोलाइएको बैठकमा समेत विपक्षी दलका नेता देउवाले समय नदिएपछि बैठक बस्न सकेको थिएन । कांग्रेसले सत्तारूढ दलले दुई तिहाइको दम्भ प्रदर्शन गरेको न्यायालयमाथि हस्तक्षेप गरेको आरोप लगाउँदै आएको छ । प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्मा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रमुख विपक्षी दलको नेता र उपसभामुख सदस्य हुन्छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु