संवैधानिक परिषदको बैठक निर्णयविहीन

२०७५ मंसिर १७ गते, सोमबार

काठमाडौं, १७ मंसिर । संवैधानिक परिषदको सोमबारको बैठकमा नयाँ प्रधानन्यायाधीशका लागि न्याय परिषदबाट सिफारिस भएका वरिष्ठतम् दुई न्यायाधीशको नाम पेस भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सोमबार बसेको बैठकमा न्याय परिषदबाट प्रधानन्यायाधीशका लागि सिफारिस भइआएका सर्वाेच्च अदालतमा तीन वर्ष कार्यकाल पूरा भएका न्यायाधीशद्वय दीपकराज जोशी र चोलेन्द्रशमशेर जबराको नाम पेस भएको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए । सर्वाेच्च अदालतका प्रधानन्यायाधीश ओमप्रकाश मिश्र आगामी पुस १८ गते उमेरहदका कारण सेवानिवृत्त हुँदैछन् ।
सर्वाेच्च अदालतका नयाँ प्रधानन्यायाधीशका लागि संवैधानिक परिषदले एक महिनाअघि नै नाम सिफारिस गर्ने परम्परा छ । न्याय परिषदले सिफारिस गरेका नाम संसदीय सुनुवाइका लागि संघीय संसद मातहत रहेको संसदीय सुनुवाइ समितिमा अनुमोदनका लागि पठाउनुपर्नेछ । बैठकमा प्रधानन्यायाधीशसहित अरु संवैधानिक आयोगमा रिक्त पदाधिकारीका लागि आएका नामबारे ‘छलफल गरौं’ भन्ने कुरा भएपनि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी रहेको हुँदा प्रतिपक्षी दलका नेताका लागि समय अभाव रहेकाले सोमबार कुनै निर्णय नगरी बैठक सकिएको अध्यक्ष तिमिल्सिनाले बताए ।
संघीय संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले बैठकमा सामान्य छलफल भएपनि कुनै निर्णय नभएको बताए । परिषदको अर्काे बैठक यही मंसिर २२ गते बस्ने निर्णय भएको पनि उनले जानकारी दिए । नेपालको संविधानानुसार गठन भएका आदिवासी जनजाति, थारु, मधेसी, मुसलमान, राष्ट्रिय समावेशी, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका पदाधिकारी पनि रिक्त छन् । साथै, यसअघि कायम रहेका राष्ट्रिय दलित र राष्ट्रिय महिला आयोग पनि लामो समयदेखि नेतृत्वविहीन छन् । बैठकमा प्रधानन्यायाधीश मिश्र र सभामुख कृष्णबहादुर महरा पनि सहभागी थिए ।- रासस

प्रतिक्रियाहरु