‘संविधान संशोधन विधेयकलाई समर्थन गर्न सकिँदैन’

२०७३ मंसिर १५ गते, बुधबार

काठमाडौं, १५ मंसिर । संघीय समाजवादी फोरम नेपालले संविधान संशोधन विधेयकलाई समर्थन गर्न नसकिने बताएको छ । उसले सरकारले मंगलबार व्यवस्थापिका–संसद सचिवालयमा दर्ता गरेको संविधान संशोधन विधेयकप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउदै सरकारले दर्ता गराएको संशोधन विधेयकले मधेसी मोर्चा र संघीय गठबन्धनले उठाएका कुनैपनि मागको पूर्णरुपमा सम्बोधन नगरेको जनाएको छ । ‘आदिवासी जनजाति, थारु, खस, मुस्लिम, महिला, दलित तथा मधेसमा भएका आन्दोलनको मागबमोजिम संविधान संशोधन प्रस्ताव दर्ता नगरेर सरकारले गम्भीर गल्ती गरेको हाम्रो ठहर छ’–संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवद्वारा आज जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।
‘आन्दोलनको मुख्य माग रहेको प्रादेशिक स्वायत्तता र स्वशासनसहित १० प्रदेशको संघीयता र सीमांकनको विषयलाई संशोधन प्रस्तावमा विवादित नै राखिएको’ उक्त पार्टीले उल्लेख गरेको छ ।
विज्ञप्तिमा ‘वैवाहिक अंगीकृतलाई वैवाहिक वंशज बनाउन माग गरेपनि संशोधन प्रस्तावमा वैवाहिक अंगीकृतकै व्यवस्था गरिएको’ जनाइएको छ ।
‘नागरिकतामा रहेको लैंगिक विभेद र असमानतालाई कायमै राखिएको’ भन्दै विज्ञप्तिमा ‘भाषाको सवालमा पनि कुनै ठोस संशोधन प्रस्ताव नआएको’ उल्लेख छ । ‘यो विधेयक आन्दोलनरत् पक्षहरुको असहमति हुँदाहुँदै जबर्जस्ती ल्याइएकोले यथास्थितिमा यसलाई समर्थन गर्न सकिँदैन’–विज्ञप्तिमा भनिएको छ–‘सबै प्रकारका जातीय विभेद र नश्लवादी राज्यसत्ताका विरोधमा हाम्रो संघर्ष एवं आन्दोलन जारी रहने छ ।’

प्रतिक्रियाहरु